कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

कृष्ण आचार्य

काठमाडौँ — दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ ।

व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले वृद्धि भएको छ भने आयात १८ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासले सार्थकता पाउन सकेका छैनन्, मुलुक आयातमुखी बन्दै गइरहेको छ ।


स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम नगरिनु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामग्रीमा परनिर्भरता बढिरहनुले बर्सेनि व्यापार घाटा चुलिँदै गएको हो । सात महिनामा सबैभन्दा बढी ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ । दोस्रो बढी आयात हुने सामग्री मेसिनरी उपकरणका पार्टपुर्जा हुन् । ७० अर्ब ७ करोड रुपैयाँ बराबरका मेसिनरी उपकरणसँग सम्बन्धित भित्रिएका छन् । ६२ अर्ब ९ करोड रुपैयाँ बराबरका फलाम तथा स्टिल सामग्री आयात भएका छन् । करिब ५० अर्ब रुपैयाँ बराबरका सवारी साधन ल्याइएको छ । त्यस्तै विद्युतीय सामग्री ४५ अर्ब २६ करोड रुपैयाँको भित्रिएको छ ।


निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हँुदै गएको देखिन्छ । सरकारले व्यापार घाटा कम गर्न समय–समयमा थुप्रै नीतिगत प्रयास गरे पनि उपलब्धि हासिल हुन सकेको छैन । नेपालको तुलनात्मक लाभ रहेको भन्दै पछिल्ला समय १२ वस्तु तथा सेवा पहिचान पनि गरेको छ । आयात प्रतिस्थापनको प्रयास भइरहे पनि निर्भरता बढदै गएको विश्लेषकको भनाइ छ । वार्षिक विकास कार्यक्रम, बजेट, नीति तथा कार्यक्रम र अन्य सरोकारवाला मन्त्रालयले घाटा कम गर्ने उपाय भन्दै वर्षैपिच्छे नयाँ–नयाँ कार्यक्रम सार्वजनिक गर्छन् । तर, ती कार्यक्रमको सम्भाव्यता, प्रभावकारिता र अनुगमन सधैं फितलो हुने गरेको छ । व्यापार घाटा कम गर्न भन्दै सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र स्थापना गरे पनि यसको काम फितलो रहेको विश्लेषकले बताए ।


चालु वर्षको सात महिनामा सबैभन्दा बढी व्यापार घाटा भारतसँगको हो । सात महिनामा भारतबाट ४ खर्ब ३२ अर्ब २९ करोड २८ लाख ३४ हजार रुपैयाँका सामग्री आयात भएका छन् । निर्यात २७ अर्ब १४ करोड ७८ लाख ८५ हजार रुपैयाँको मात्रै भएको छ । जसका कारण भारतसँग ४ खर्ब ५ अर्ब १४ करोड ४९ लाख रुपैयाँले व्यापार घाटा देखिएको हो । भारतपछि चीनसँग ८६ अर्ब ७९ करोड रुपैयाँले व्यापार घाटा छ । चीनबाट ८८ अर्ब ५६ करोड ५१ लाख ६३ हजार रुपैयाँका सामग्री आयात भएको छ । निर्यात भने १ अर्ब ७७ करोड ९ लाख रुपैयाँको मात्रै छ । चीनपछि व्यापार घाटा बढी हुने मुलुकमा इन्डोनेसिया, अर्जेटिना, थाइल्यान्ड, भियतनाम, साउथ कोरिया, मलेसिया, फ्रान्स र जापानलगायत छन् ।


सात महिनामा १ सय ४२ मुलुकसँग नेपालले आयात/निर्यातको कारोबार गरेको छ । यसमध्ये १ सय १६ मुलुकमा निर्यातभन्दा आयात बढी भएको छ । बाँकी मुलुकमा भने आयातभन्दा निर्यात बढी देखिन्छ । तर त्यस्तो निर्यात रकम निकै कम अंकमा छन् ।



प्रकाशित : चैत्र ३, २०७४ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?