कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्दै छ आर्थिक अपराधको ग्राफ

काठमाडौँ — पछिल्ला वर्षहरूमा आर्थिक अपराधजन्य घटनामा उल्लेख्य वृद्धि भएको देखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कसरी हुन्छ पैसा कमाउने उद्देश्यले प्रेरित अपराधका घटनाहरूको संख्यामा उल्लेख्य बढोत्तरी भएको हो ।

बढ्दै छ आर्थिक अपराधको ग्राफ

२०७१/७२ यताका तीन आर्थिक वर्षमा मात्रै १ हजार ७ सय ७२ वटा संगठित तथा आर्थिक अपराध भएको देखिन्छ । यो तथ्यले प्रत्येक महिना औसतमा ५२ वटा संगठित तथा आर्थिक अपराध काठमाडौं जिल्लामा मात्रै भएको देखाउँछ ।


प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०७१/७२ यता संगठित तथा आर्थिक अपराधको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७१/७२ मा ४ सय ८४ यस्ता घटना भएको थिए भने यो संख्या आर्थिक वर्ष २०७२/७३ मा बढेर ७ सय ७८ पुग्यो भने २०७३/०७४ को दस महिनामा यो संख्या ५ सय पुगेको देखिन्छ । पछिल्लो दस महिनामा प्रत्येक महिना औसतमा पचासवटा संगठित तथा आर्थिक अपराध हुने गरेको देखिन्छ ।


जुवा, खोटा चलन, ठगी, लागूऔषधको कारोबार, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा संकलन, सरकारी छाप दस्तखत किर्ते, संगठित अपराध र हातहतियार तथा खरखजानासम्बन्धी मुद्दालाई प्रहरीले संगठित तथा आर्थिक अपराधसम्बन्धी मुद्दामा राखेको छ । प्रहरीमा उपलब्ध तथ्यांकलाई हेर्दा संगठित प्रकृतिको आर्थिक ठगीका घटना सबैभन्दा डरलाग्दो देखिन्छ । गत साउनयताका पाँच महिनामा मात्रै प्रहरीमा ६३ वटा ठगीका मुद्दा दर्ता भएका थिए । जसमा प्रहरीले ७ महिलासहित १ सय १८ जनालाई पक्राउ गरेको थियो । यही मुद्दामा १ महिलासहित ४२ जना भने फरार छन् ।


प्रहरीका अनुसार संगठितका अलावा अवैध अर्थोपार्जनका निम्ति गरिने अन्य अपराधहरूको घटनामा पनि पछिल्ला वर्षहरूमा बढोत्तरी भएको देखिन्छ । काठमाडौंमा मात्रै पछिल्ला तीन वर्षमा मात्रै १२ सय २१ वटा चोरीजन्य घटनाहरू भएका छन् । चोरीको घटनाहरूमा पनि पछिल्लो वर्षहरूमा बढोत्तरी भएको देखिन्छ ।


आर्थिक वर्ष २०७१/७२ मा ३ सय ६४ चोरीका घटना भएका थिए भने यो संख्या आर्थिक वर्ष २०७२/७३ मा बढेर ४ सय ३० पुगेको छ भने २०७३/०७४ को दस महिनामा यो संख्या ४ सय २७ पुगेको देखिन्छ । प्रहरीका अनुसार साधारण र जबर्जस्ती चोरीका घटना काठमाडौंमा सबैभन्दा धेरै भएको देखिन्छ । पछिल्ला तीन वर्षमा मात्रै ९ सय ७३ वटा साधारण प्रकृतिको चोरीको घटना भएका छन् । पछिल्लो दस महिनामा मात्रै ३ सय ३३ वटा यस्ता चोरीका घटना भएका छन् । प्रत्येक महिना औसतमा ३४ वटा चोरीका घटना काठमाडौंमा मात्रै हुने गरेको देखिन्छ ।


प्रहरी प्रवक्ता डीएसपी मोहन थापाका अनुसार छिटो धनी बन्ने लालसाले अपराधकर्म मार्फत पैसा कमाउने प्रवृत्ति डरलाग्दो देखिन्छ । उनले संगठित आर्थिक अपराधका अधिकांश घटनामा छिटो धनी बन्ने लालसाका कारण घटना भएको देखिन्छ । उनले भने, ‘यसबारे गम्भीर हुन जरुरी भइसक्यो ।’

धन्दा चेक बाउन्सको
ठगीको पछिल्लो घटनामा रकम नभएको खाताको चेक दिने र महिनौंसम्म झुलाउने प्रवृत्ति बढदै गएको छ । प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाका अनुसार चेक बाउन्सका मुद्दाहरूको संख्या पछिल्ला दिनहरूमा बढदो क्रममा छ । उनका अनुसार प्रत्येक दिन आठदेखि दस जना पीडितहरू बाउन्स चेकको उजुरी लिएर आउँछन् । फागुन महिनामा मात्रै प्रहरी परिसर काठमाडौंमा ३७ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको देखिन्छ । जसमा १७ जना पक्राउ परेका थिए । प्रहरीका अनुसार बैंकिङ कसुरमध्ये चेक बाउन्सको घटना सबैभन्दा धेरै देखिन्छ । असारयताको पाँच महिनामा मात्रै प्रहरी परिसर काठमाडौंमा ७ करोड ६७ लाख रुपैयाँ बराबरको चेक बाउन्सका मुद्दा दर्ता भएका थिए ।

प्रकाशित : चैत्र ४, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?