कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङ पुग्न बैंकले चासो दिएनन्

लमजुङ — हिमाली जिल्ला मनाङका स्थानीय तहमा बैंकहरूले शाखा खोल्न आनाकानी गरेका छन् । स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने तयारीसमेत छैन ।

मनाङ पुग्न बैंकले चासो दिएनन्

स्थानीय तह गठन भएको वर्षदिन पुग्नै लाग्दा पनि बैंकहरू मनाङका गाउँपालिकामा पुगेका छैनन् ।

नयाँ संरचनाअनुसार आर्थिक गतिविधि, बजारीकरण तथा व्यावसायिक चहलपहल बढाउन वित्तीय संस्था अनिवार्य रहनुपर्ने हुन्छ । माथिल्लो भेगको नेस्याङ, तल्लो भेगको नासों र नारफु गाउँपालिकामा हालसम्म बैंक पुगेका छैनन् । माथिल्लो मनाङको नेस्याङमा राष्ट्रिय वाणिज्य बैंक, तल्लो मनाङको नासोंमा प्रभु र नारफुमा जनता बैंकले शाखा खोल्ने भनिए पनि हालसम्म बैंक खुल्ने कुनै सुरसार नभएको स्थानीय बताउँछन् । चामे गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार राष्ट्रिय वाणिज्य बैंकले शाखा खोल्ने जानकारी गराए पनि हालसम्म स्थापना नभएको बताए । ‘बैंक नै छैन । आउँछु भनेको बैंक आएन । सबै कारोबारका लागि चामे नै पुग्नुपर्छ,’ उनले भने । उनका अनुसार कर्मचारीको तलब, शिक्षकको तलब, योजनाको रकम लिन चामे नै जानुपर्छ । ‘बैंक नहुँदा स्थानीय तह, उपभोक्ता समिति, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसायी, सर्वसाधारण सबै मर्कामा परेका छौं,’ उनले भने ।

नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले प्रभु बैंकले शाखा खोल्ने भनेकामा अहिलेसम्म अत्तोपत्तो नभएको बताए । ‘बैंक खोल्ने त भनेको थियो । अहिलेसम्म आएन । बैंकको काम गर्न चामे नै पुग्नुपर्छ,’ उनले भने, ‘चामेमै शाखा छ । गाउँपालिकाको कार्यालय बाटोमै भएकाले यहाँ बैंक खोल्न गाह्रो छ जस्तो लाग्दैन । सुरक्षाका लागि प्रहरी पनि यहीँ छ । तल्लो क्षेत्र भएकाले भीडभाड पनि बढी हुन्छ । पर्यटकीय गन्तव्य पनि हो,’ उनले भने, ‘हामी आएको एक वर्ष हुन लाग्यो । बैंकले शाखा खुलाउन सुरसार गर्दैन ।’

जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पुग्नै लाग्दा पनि ती ठाउँमा बैंक नपुग्नु दु:खद् भएको बताए । ‘हामी नागरिकलाई गाउँघरमै सेवा पुर्‍याउने भनिरहेका छौं । सरकारले खटाएका निकाय गाउँ पुग्न गाह्रो मान्छन् । अनि हामीले कसरी ग्रामीण भेगका नागरिकलाई गाउँमै अधिकार पुर्‍याउने ?’ उनले भने, ‘जाने भनेको बैंक स्थानीय तहमा नजाँदा समस्या परेको छ ।’ स्थानीय तहपछि पनि सेवा र सुविधाकै लागि यसअघिको सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘स्थानीय तहमा बैंक नहुँदा चामेमा आएर सेवा लिनुपरेको छ ।

यसले यातायात र बसोवासमा अनावश्यक खर्च बढाएको छ,’ उनले भने, ‘स्थानीय तहमै बैंक भइदिए अनावश्यक खर्च बढ्ने थिएन ।’ नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले स्थानीय तहमा बैंक शाखा सञ्चालन गर्न बैंकले जिम्मा लिइसकेकाले जिम्मा लिएका बैंक तत्काल स्थानीय तहमा पुग्नुपर्ने बताए । ‘स्थानीय तहमा जाने भनिएका बैंक किन पुगेनन्, यसको फलोअप गरिनेछ,’ उनले भने ।

राष्ट्र बैंकले ग्रामीण भेगमा वित्तीय पहुँच पुर्‍याउन हरेक गाउँ तथा नगरपालिकामा बैंक पुर्‍याउने नीति लिएको थियो । सोहीअनुरूप बैंकलाई स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको थियो । उक्त निर्देशनलाई आनाकानी गर्दै बैंकहरूले शाखा कार्यालय खोल्न तदारुकता नदेखाएको स्थानीयको गुनासो छ । हिमालपारिको जिल्ला भनेर चिनिएको मनाङमा चारवटा गाउँपालिका छन् । सदरमुकाम चामे गाउँपालिकामा यसअघि नै बैंकले वित्तीय कारोबार गर्दै आएका छन् । यहाँ नेपाल बैंक, कृषि विकास, प्रभु, ओम डेभलपमेन्ट र सिटिजन्स बैंक इन्टरनेसनलले सेवा दिइरहेका छन् ।

प्रकाशित : चैत्र ५, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?