कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई भन्सार एजेन्ट निलम्बित

मोरङ — विराटनगर भन्सार कार्यालयले राजस्व अपचलन गर्ने दुईजना भन्सार एजेन्टलाई निलम्बन गरेको छ ।

भन्सार कार्यालयले सुरेश क्लियरिङ एन्ड फरवार्डिङ सर्भिस विराटनगरका प्रोपराइटर भन्सार एजेन्ट विराटनगर ७ का सुरेश बोहोरा र उनका प्रतिनिधि भन्सार एजेन्ट ललित बोहोरालाई निलम्बन गरेको हो ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सुशील थापाले भन्सार ऐनअनुसार दुवैजनालाई ६ महिनाका लागि निलम्बन गरिएको जनाए । बैंक कर्मचारीको मिलेमतोमा बैंकको भन्सार काउन्टरमा सुरेश क्लियरिङ एन्ड फरवार्डिङ सर्भिसले प्रज्ञापनपत्रबापतको भन्सार राजस्व बैंकमा दाखिला नगरी अपचलन गरेको थियो । सर्भिसका प्रोपराइटर तथा भन्सार एजेन्ट सुरेश र उनका प्रतिनिधि भन्सार एजेन्ट ललितले बैंक कर्मचारीको मिलेमतोमा ९ करोड ६१ लख ५५ हजार भन्सार राजस्व अपचलन गरेका थिए । उनीहरूले भने बैंकमा उक्त रकम बुझाएका छैनन् ।

‘उद्योगी र व्यापारीहरूले विभिन्न मालवस्तु आयात निर्यात गर्न भन्सारको जाँचपास भन्सार एजेन्टमार्फत गराउँछन्,’ विराटनगर भन्सार प्रमुख मिमांश अधिकारीले भने, ‘एजेन्टहरूले मालवस्तु जाँचपासका लागि विराटनगर भन्सार कार्यालयको प्रज्ञापनपत्रबमोजिमको राजस्व राष्ट्रिय वाणिज्य बैंकको सुक्खा बन्दरगाह शाखास्थित भन्सार कार्यालयको बैंक खातामा जम्मा गरी रिसिप्ट प्राप्त गर्छन् । उक्त रिसिप्टको आधारमा मालवस्तु जाँचपास गरेर भन्सार कार्यालयबाट छोडिन्छ ।’

विराटनगर भन्सारमा पुस ९ गतेदेखि माघ १९ गतेसम्म १८ करोड ४० लाख ४४ हजार ७ सय ६५ रुपैयाँ राजस्व असुलीको बैंक रिसिप्ट प्राप्त भएको उनले सुनाए । तर, उक्त अवधिमा सुरेश क्लियरिङ एन्ड फरवार्डिङ सर्भिसले बैंक कर्मचारीको मिलेमतोमा ९ करोड ६१ लाख ५५ हजार रुपैयाँ बैंक खातामा जम्मै नगरी रिसिप्ट लिएर जाँचपास गराई मालवस्तु आयात निर्यात गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक शाखा सुक्खा बन्दरगाह रानी विराटनगरका प्रबन्धक विष्णुप्रसाद निरौला र उक्त बैंकका भन्सार काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोर्णराज राउतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरू दुवैजना जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन् ।
राष्ट्रिय वाणिज्य बैंक शाखा रानीका प्रबन्धक राजेश डंगोलले दिएको जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए ।

प्रकाशित : चैत्र ५, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?