कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बियरिस ट्रेन्ड’ मा नेप्से

काठमाडौँ — सेयर बजार ओरालो लाग्ने क्रम बुधबार पनि थामिएन । बरु अघिल्ला दिनहरूको तुलनामा सेयर बजारको गिरावटदर झनै फराकिलो बन्यो । गत आइतबारदेखि लगातार रूपमा नेप्से घटिरहेको छ ।

‘बियरिस ट्रेन्ड’ मा नेप्से

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे २४ अंकले घटेर १ हजार २ सय ३१.०७ विन्दुमा ओर्लियो । यो करिब दुई वर्षअघिकै अवस्था हो । ०७२ माघ २ गते नेप्से परिसूचक १ हजार २ सय २२.४३ विन्दुमा थियो ।

तरलता (लगानीयोग्य रकम) अभाव भएकाले बैंक ब्याजदर बढेको, मार्जिन प्रकृतिको कर्जामा कडाइ भएको, अधिकांश सूचीकृत कम्पनीहरूको कार्यप्रगति (वित्तीय विवरण) राम्रो नभएकोलगायत कारण सेयर बजार बढ्न नसकेको विज्ञहरूले जनाएका छन् । बजारको प्रक्षेपण गर्न प्रयोग गरिने विभिन्न प्राविधिक विश्लेषणहरूले पनि बजार बियरिस ट्रेन्डमा रहेको देखाउने उनीहरूको भनाइ छ ।

लामो समयपछि मुलुकले स्थायी सरकार पाएकाले अब राजनीतिक स्थिरता अन्त्य हुने र आर्थिक गतिविधिले प्राथमिकता पाउने भएकाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने आकलन गरिएको थियो । वाम गठबन्धनका तर्फबाट स्थिर सरकार पनि बन्यो । तर, सरकार गठन भएकै दिनदेखि अपवादबाहेक दिनहुँजस्तै सेयर बजार घटिरहेको छ । यसकारण सेयर लगानीकर्ता निरुत्साहित देखिएका छन् । सेयर बजारले ‘बियरिस’ प्रवृत्ति पछयाएपछि बजारको विषयलाई लिएर चर्चा परिचर्चा हुन थालेका छन् । केहीले सेयर बजारको गिरावट स्वाभाविक वा प्राकृतिक भएको बताएका छन् भने केहीले अस्वाभाविक वा अप्राकृतिक ।

सेयर विश्लेषक रवीन्द्र भट्टराईले अहिलेको सेयर बजारको गिरावट स्वाभाविक भएको बताए । ‘बढ्दो ब्याजदर र हकप्रद तथा बोनस सेयरको घट्दो प्रतिफल गरी दुई कारणले हाल सेयर बजार बियरिस प्रवृत्तिमा छ,’ क्यानडाबाट कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘बजारमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य समायोजन हुन अझै बाँकी छ ।’ राष्ट्र बैंकको पुँजी वृद्धिको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले छोटो समयमा चार गुणा पुँजी बढाइसकेका छन् । तर, पुँजी वृद्धिको तुलनामा कम्पनीको प्रतिफल वृद्धिदर धेरै कम छ । यसकारण सेयर बजारमा ती कम्पनीहरूको सेयर मूल्य समायोजन हुन बाँकी रहेको भट्टराईले बताए । यसैगरी वित्तीय प्रणालीमा तरलता अभाव भएपछि ब्याजदर बढ्नुका साथै बैंक तथा वित्तीय संस्थाले मार्जिन ल्यान्डिङमा कडाइ गरेकाले सेयर बजारमा असर परेको धितोपत्र बोर्डका पूर्वअध्यक्ष शूरवीर पौडयालले बताए । ‘बहुमतसहितको वाम सरकार छ, सेयर बजारमा कस्तो धारणा बनाउँछ भनेर केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने । १० लाख रुपैयाँभन्दा बढीको निक्षेपमा स्रोत खुलाउनुपर्ने व्यवस्थाले पनि सेयर बजार प्रभावित भएको उनको भनाइ छ ।

सेयर बजार अपेक्षाभन्दा धेरै घटिसकेकाले यसलाई स्वाभाविक मान्न नहुने नेपाल स्टक एक्सचेन्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले बताए । ‘लगानीकर्ता बढीभन्दा बढी आत्तिएका छन्,’ उनले भने, ‘यो अवस्थालाई कहीँ न कहीँबाट सम्बोधन हुन जरुरी छ ।’

पुँजी वृद्धिका कारण बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको ठूलो संख्यामा सेयर बजारमा आएको, तरलता अभाव भएकाले ब्याजदर बढेको, बैंकहरूबाट मार्जिक कल आउने क्रम हवात्तै बढेको लगायत कारण नेप्से लगातार घटिरहेको ब्रोकरहरू बताउँछन् । ‘सेयर बजारमा पुरानो इतिहास फेरि दोहोरिँदै छ,’ स्टक ब्रोकर्स एसोसिएसनका एक पूर्वअध्यक्षले भने, ‘इतिहास फेरि दोहोरिँदै छ, यसकारण परिसूचक घट्न अझै बाँकी नै छ ।’

अर्का एक धितोपत्र ब्रोकरले बजार धेरै तल झरिसकेकाले अब सुधारको बाटोमा लाग्ने बताए । ‘बिहीबार बजारमा खरिदकर्ता देखिए पनि निकै कम मात्र सेयर बिक्रीमा छन्,’ ती ब्रोकरले भने, ‘केही सामूहिक लगानीकोषहरूले बजारबाट राम्रा कम्पनीहरूका सेयर खरिद गर्न थालेका छन् । यसले बजारमा केही स्थिरता ल्याउने देखिन्छ ।’ सेयर बजार घटेसँगै बजारमा नयाँ लगानीकर्ता भित्रन थालेको उनले बताए । ‘सेयर बजारबारे बुझेका लगानीकर्ताहरूले धमाधम राम्रा कम्पनीको सेयर खरिद गरिरहेका छन्,’ ती ब्रोकरले भने ।

बुधबार कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्य बढयो । १ सय ३४ कम्पनीको सेयर मूल्य घटयो भने ७ कम्पनीको सेयर मूल्य स्थिर छ । करिब साढे ५ हजार कारोबारबाट १ सय ५१ कम्पनीका ९ लाख ३३ हजार ६ सय ९७ कित्ता सेयर किनबेच भए । उक्त कारोबारबाट ३८ करोड ३२ लाख रुपैयाँ परिचालन भएको छ । बजार पुँजीकरण पनि घटेर १४ खर्ब ४१ अर्ब रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित : चैत्र ८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?