कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारबाट रकम पठाउन समस्या

सरकारले रोकेको छैन : कतार
होम कार्की

काठमाडौँ — कतारबाट नेपालीहरूलाई रकम पठाउन समस्या हुन थालेको छ । कतारमा रहेका अधिकांश रेमिटयान्स सेवा प्रदायक कम्पनीहरूले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् ।

कतारबाट रकम पठाउन समस्या

यस्तो उजुरी दूतावासमा आएपछि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका गभर्नर शेख अब्दुल्लाह विन साउद अल–थानीलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।


त्यहाँको केन्द्रीय बैंकले भने नेपालीसहित आप्रवासी कामदारलाई आफ्नो देशमा रकम पठाउन नरोकेको प्रस्ट पारेको छ । ‘कामदारले आफूले आम्दानी गरेको रकम पठाउन सरकारले रोकेको छैन,’ गभर्नरको भनाइ उद्धृत गर्दै कोइरालाले भने, ‘विगतमा जसरी कामदारलाई रकम पठाउन अनुमति दिइएको छ । त्यसमा कुनै हेरफेर गरेको छैन ।’


यस्तै सेवा शुल्क पनि बढी लिएको उजुरी दूतावासमा परेको छ । राजदूत कोइरालाले भने, ‘कम पैसा पठाउन दिँदा नेपाली कामदार बढी सेवा शुल्क तिर्न बाध्य भएका छन् ।’ रेमिटयान्स कम्पनीहरूले एकपटक रकम पठाउँदा सेवा शुल्कबापत कामदारसँग १८ रियाल (करिब ५ सय रुपैयाँ) लिने गर्छन् ।


राजदूत कोइरालाले पठाएको पैसासमेत नेपालबाट तुरुन्तै भुक्तानी नपाउने समस्या रहेको बताए । ‘कतारले कामदारको पैसा होल्ड गरेको छैन । यी विषयहरूबारे विस्तृत अनुसन्धान गरी दूतावासलाई दुई साताभित्र खबर गर्नेछु,’ भेटमा गभर्नर अलथानीले बताए ।


कामदारसँग अनावश्यक रूपमा सेवा शुल्क लिएको विषयमा दूतावासले आईएमई, प्रभु बैंक, हिमालयन बैंक, सिटी एक्सप्रेसलगायत १९ रेमिटयान्स प्रदायक निकायका कतार प्रतिनिधिसँग छलफल गरेका थिए ।


उनीहरूले विभिन्न मनी एक्सचेन्जसँग सम्झौता गरेकाले सेवा शुल्कको विषयमा आफ्नो भूमिका नहुने जवाफ दूतावासलाई दिएका थिए ।

प्रकाशित : चैत्र १०, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?