कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली पर्यटन प्रचारमा चिनियाँ बस

चेतनाथ आचार्य

बेइजिङ — सडकमा गुडिरहेको बसमा लुम्बिनी र गौतमबुद्धका चित्रहरू सजिएका छन् । विश्वमै जीवित देवी भनेर चिनिने कुमारीको फोटो पनि सबैले देख्ने गरी बसको बाहिरपट्टि बनाइएको छ ।

नेपाली पर्यटन प्रचारमा चिनियाँ बस

त्यति मात्र होइन एकसिंगे गैंडा, नेपालका मनोरम हिमालहरू, चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बोकेका हात्तीहरूसँगै पोखराको प्याराग्लाइडिङ र त्रिशूलीको र्‍याफटिङका दृश्य पनि बसमा बनाइएको छ ।

दैनिक लाखौं मानिस आवातजावत गर्ने सहरमा समग्र नेपाललाई चिनाउने यस्ता बसहरू नेपाली सडकमा चाहिँ गुडेका होइनन् । चीनको दक्षिणमा पर्ने सबैभन्दा ठूलो सहर क्वाङचौमा नेपालीपनको सिंगो परिचय बोकेर मंगलबारदेखि बसहरू गुड्न थालेका हुन् ।

क्वाङचौमा गत वर्ष मात्र स्थापित नेपाली महावाणिज्यदूतावासको सक्रियतामा सहरको भित्री भागका विभिन्न रुटमा गुड्ने चारवटा बसले चिनियाँलाई नेपालको प्राकृतिक तथा सांस्कृतिक मनोरम बाँड्न थालेका छन् । यी बसहरू आगामी तीन महिनासम्म नेपाली सन्देश बोकेर सडकमा गुड्नेछन् ।

क्वाङचौस्थित नेपाली महावाणिज्यदूत रवि भट्टराईले चिनियाँसम्म नेपालको प्रचार गर्नका लागि सहरमा गुड्ने सार्वजनिक बसलाई नेपालमय बनाइएको बताए । उनका अनुसार एउटा बसलाई यसरी विज्ञापन प्रायोजन गर्नका लागि महावाणिज्यदूतावासले १८ हजार चिनियाँ युआन (झन्डै ३ लाख रुपैयाँ) खर्च गरेको छ । अहिले चारवटा बसलाई तीन महिनाका लागि प्रायोजन गरिएको र थप दुईवटा बसमा नेपाल पर्यटन बोर्डले प्रायोजन गरेर प्रचार गरिने भट्टराईले कान्तिपुरलाई बताए ।

उनले भने, ‘गाउँ क्षेत्रमा जाने बसमा प्रायोजन गर्न केही सस्तो पर्ने रहेछ । धेरै मान्छेसम्म नेपालको प्रचार पुगोस् भनेर हामीले मुख्य सहरी क्षेत्रमा गुड्ने बस रोजेका हौं ।’ बसमा नेपाल पर्यटन बोर्डले बनाएका विभिन्न नाराहरूलाई चिनियाँ भाषामा अनुवाद गरेर राखिएको छ ।

हङकङको नजिकै रहेको क्वाङचौ सहर नेपाली व्यापारीहरूले सामान ल्याउने मुख्य बन्दरगाहका रूपमा चिनिन्छ । चाइना साउदर्न एयरलाइन्सले क्वाङचौबाट हरेक दिन नेपालमा उडान गर्दै आएको छ । क्वाङचौका चिनियाँलाई नेपाल भ्रमणमा आकर्षित गर्न यो काइदा अपनाइएको महावाणिज्य दूत भट्टराईले बताए ।

सुरुमा बस बिसौनी र रेल स्टेसनमा डिजिटल बोर्ड राखेर नेपालको प्रचार गर्ने सोचाइ महावाणिज्य दूतावासले गरेको थियो । यसो गर्दा निकै महँगो पर्ने भएकाले स्थानीय नेपालीसँग सरसल्लाह गरेर सार्वजनिक बसमा नेपाल झल्काउने स्टिकर टाँसेर प्रचार गरिएको भट्टराईले बताए ।

प्रकाशित : चैत्र १४, २०७४ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?