कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई ठूला आयोजनाको अध्ययन हुँदै

काठमाडौँ — विद्युत् विकास विभागले ४ सय ४० मेगावाटको तल्लो अरुण र ६ सय मेगावाटको एसआर ६ जलविद्युत् आयोजनाको फिल्ड सर्वेक्षण भइरहेको जनाएको छ ।

विभागले करिब एक वर्षअघि दुवै आयोजनाको अध्ययन थाल्न परामर्शदाता कम्पनीलाई जिम्मा दिएको थियो ।

दुवै आयोजनाको अध्ययन ३० महिनाभित्र सक्ने गरी परामर्शदातालाई जिम्मा लगाइएको विभागका प्रवक्ता बाबुराज अधिकारीले जानकारी दिए । अहिले दुवै आयोजनाको फिल्ड सर्वेक्षणको काम भइरहेको छ ।

संखुवासभामा पर्ने तल्लो अरुण र बझाङमा पर्ने एसआर जलविद्युत् आयोजनाको अध्ययन अबको दुई वर्षमा पूरा हुने लक्ष्य छ । अध्ययन पूरा भएका आयोजना विभागले मन्त्रालयमा बुझाउने गर्छ ।

संखुवासभामा ३ सय मेगावाटको अरुण ४ जलविद्युत् आयोजनाको भौगोलिक सर्वेक्षण र दैलेखमा १ सय ८४ मेगावाटको कर्णाली स्टेज १ जलविद्युत् आयोजनाको सर्वेक्षण भइरहेको विभागले जनाएको छ ।

यीबाहेक अन्य साना जलविद्युत् आयोजनाको पनि सम्भाव्यता अध्ययन भइरहेको विभागले जनाएको छ ।

भोजपुरमा पिकुवा खोला जलविद्युत् आयोजना, डोल्पामा रुपागाड जलविद्युत् आयोजना, हुम्लामा लोनी कर्णाली विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको विभागले जनाएको छ । यी सबै १० मेगावाट क्षमताका आयोजना हुन् ।

हुम्लाको कवाडी खोला, जुम्लाको ल्याउरी खोला र जवा खोलामा पनि जलविद्युत् आयोजनाको लागि सम्भाव्यता अध्ययन विभिन्न चरणमा रहेको विभागले जनाएको छ ।

विभागका अनुसार संखुवासभामा २५ मेगावाटको संखुवा जलविद्युत् आयोजना, ३० मेगावाटको संखुवा जलविद्युत् १ आयोजना, पर्वतमा ५० मेगावाटको बेनी कालीगण्डकी जलविद्युत् आयोजना, म्याग्दीमा ३२ मेगावाटको म्याग्दी जलविद्युत् आयोजना, सोलुखुम्बुमा ४८ मेगावाटको दूधकोसी, संखुवासमा ५० मेगावाटको तल्लो अप्सुवा, लमजुङमा २८ मेगावाटको माथिल्लो खुदी ‘ए’ को अध्ययनको फिल्ड रिपोर्ट
प्राप्त हुने र अध्ययन हुने चरणमा छन् ।

यस्तै ९० मेगावाट क्षमताको कन्काई बहुउद्देश्यीय आयोजनाको टोपो सर्भे भइरहेको विभागले जनाएको छ । बहुद्देश्यीय आयोजनामा कर्णाली चिसापानी जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन, शारदा बबई जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन, नौमुरे जलाशययुक्त आयोजनाको सम्भाव्यना अध्ययन, सुनकोसी २ र ३ जलविद्युत् आयोजना अध्ययनको विभिन्न चरणमा रहेको विभागका प्रवक्ता बाबुराज अधिकारीले जानकारी दिए ।

यस्तै विभिन्न जिल्लामा ५० वटा आयोजनाको पहिचान र सूचीकृत गर्ने काम पनि भइरहेको विभागले जनाएको छ ।

विभागले साना–ठूला गरी १४ हजार मेगावाटभन्दा बढी क्षमताको आयोजनाको लागि सर्वेक्षण अनुमतिपत्र जारी गरिसकेको छ । ४ हजार ६ सय ३१ मेगावाट क्षमताका १ सय ७० आयोजनालाई उत्पादन अनुमतिपत्र जारी गरिसकिएको विभागले जनाएको छ ।

एकसय मेगावाटभन्दा माथिका ३१ आयोजनालाई सर्वेक्षण अनुमति दिएको विभागले जनाएको छ । यी आयोजनाको क्षमता ९ हजार ८ सय ६९ मेगावाटभन्दा बढी छ । एक सय मेगावाटभन्दा ठूला आयोजनामा ९ सय मेगावाटको माथिल्लो कर्णाली, २ सय मेगावाटको तमोर, ३ सय मेगावटको उत्तरगंगा, ३ सय १० मेगावाटको लाङटाङ खोलासमेत समावेश छन् । यीमध्ये ६ सय ८८ मेगावाटको बेत कर्णाली सञ्चय कोषको लगानीमा बन्दै छ ।

प्रकाशित : चैत्र १९, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?