कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भेहिकल फिटनेस’ परीक्षण गराउँदैनन् व्यवसायी

दीपेन्द्र विष्ट

काठमाडौँ — नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले सवारी साधनलाई परीक्षण नगरी चलाउने गरेको पाइएको छ ।

‘भेहिकल फिटनेस’ परीक्षण गराउँदैनन् व्यवसायी

नौ वर्षअघि टेकुमा स्थापित ‘भेहिकल फिटनेस’ सेन्टरमा कुनै पुराना गाडी परीक्षण हुने नगरेको खुलेको छ । संघ/समितिमा दर्ता भएका कुनै पनि पुराना सवारी साधन परीक्षण नभएको विभागका एक अधिकारीले जानकारी दिए ।

‘८० प्रतिशत सवारी साधनको परीक्षण हुँदैन, व्यवसायी गर्न पनि मान्दैनन्,’ ती अधिकारीले भने, ‘सवारी दुर्घटना भएको बेला मात्र फिटनेस सेन्टरको कुरा आउँछ, त्यसपछि चर्चा सेलाउँछ ।’ दुईपांग्रेबाहेक मुलुकभर ६ लाख ८ हजार ९२ भन्दा गाडी दर्ता भएको विभागको तथ्यांकमा छ । वर्षौंदेखि सडकमा गाडी गुडे पनि फिटनेस सेन्टरमा परीक्षण गरेको भने पाइँदैन ।

फिटनेस सेन्टरसमेत चरम उपेक्षाको सिकार बनेको ती अधिकारीको भनाइ छ । ‘अस्पतालमा मानिसले स्वास्थ्य परीक्षण गरेजस्तै गाडीको पनि बेलाबेलामा परीक्षणका लागि सेन्टरको स्थापना गरेको हो,’ ती अधिकारीले कान्तिपुरसँग भने, ‘न विभागलाई मतलव छ, न व्यवसायीलाई ।’ अन्य मुलुकमा फिटनेस सेन्टरमा परीक्षण नगरी पुराना गाडी चलाउन नदिए पनि नेपालमा भने प्राविधिकले सामान्य आँखाले चेकजाँच गर्ने गरेको ती अधिकारीले बताए । परीक्षण केन्द्र सञ्चालनका लागि सवारीको ब्रेक फोर्स कति हुनुपर्ने, एक्सएल लोड कति हुने, टायरको स्लिम कति हुने जस्ता प्रविधिक कुरा स्पष्ट रूपमा मापदण्ड बनाउनुपर्ने हुन्छ । सरकारले यसबारे स्पष्ट निर्देशिका नबनाउँदा यातायात व्यवसायीले पनि पुराना गाडीको परीक्षण गर्दैनन् ।

सेन्टरमा जाँच गर्दा सवारीको अगाडि र पछाडिको पांग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमताअनुसार भार बोक्दा ब्रेकले काम गर्छ/गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पांग्राको साइड स्लिप), हर्नको अवस्था, हेडलाइटलगायत गाडीको पूर्ण विवरण कम्प्युटरले नै प्रिन्ट गरेर दिनुपर्ने हुन्छ । तर, सेन्टरमा दक्ष कर्मचारीलगायत प्रविधिमैत्री भवनको समेत अभाव रहेको छ । भेहिकल फिटनेस’ सेन्टरका प्रमुख रामचन्द्र पौडेलले सेन्टरको अवस्था ठीक भए पनि गाडी चेकअप गर्न व्यवसायीहरू उपस्थिति न्यून रहेको बताए । ‘समय–सयममा परीक्षण गर्नुपर्छ तर अनेक बहाना गर्छन्,’ उनले भने, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि पनि परीक्षण गर्नुपर्छ ।’

सरकारले आव २०६६/६७ मा बजेट विनियोजन गरी सवारी परीक्षण केन्द्र निर्माण सुरु गरेको थियो । ७ वटै प्रदेशमा फिटनेस सेन्टर निर्माण गर्ने तयारी भइरहेको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिए । ‘३ नम्बर प्रदेशमा २ वटा र अन्यमा १/१ वटा फिटनेस सेन्टर निर्माण गर्दै छौं,’ उनले भने, ‘पुराना गाडीलाई चेकजाँच गरेर, सञ्चालन गरे सडक दुर्घटना न्यूनीकरण हुन्छ, पुराना गाडी, चालकको लापरबाही र कच्ची सडक नै सवारी दुर्घटनाका कारण हुन्छन् ।’

उपत्यका ट्राफिक महाशाखाका प्रमुख एवं डीआईजी सर्वेन्द्र खनालले समयमै गाडीको अवस्था परीक्षण गरेर सञ्चालन गरे दुर्घटना न्यूनीकरण हुने बताए । ‘फिटनेस सेन्टरको निर्माण गर्नैपर्छ,’ उनले भने । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले फिटनेस सेन्टरको अवस्था नै ठीक नभएको बताए ।

प्रकाशित : चैत्र २०, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?