विश्व बैंकद्वारा ४.६ % वृद्धि प्रक्षेपण

यो प्रक्षेपण सरकार र एडीबीको भन्दा पनि कम हो
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । यो नेपाल सरकारले गरेको अनुमानभन्दा १.४ प्रतिशत विन्दुले कम हो ।

यसअघि एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि नेपालको आर्थिक वृद्धिदर सरकारले अनुमानभन्दा कम हुने प्रक्षेपण गरेका थिए ।

सरकारी खर्च बढेको, मुद्रास्फीति दर सामान्य रहेको र स्थायी सरकार बनेको भए पनि यो वर्ष नेपालको आर्थिक वृद्धिदर सामान्य मात्रै बढ्ने विश्व बैंकको प्रक्षेपण छ । साउथ एसिया इकोनोमिक फोकस प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले वैदेशिक रोजगारीमा जानेहरूको संख्या घट्दै गएकाले यसको प्रभाव रेमिटयान्समा पर्न सक्ने जनाएको छ । विश्व बैंकले वर्षको दुई पटक यस्तो प्रतिवेदन सार्वजनिक गर्छ । कृषि क्षेत्रमा उल्लेख्य सुधार नभएको, सेवा र उत्पादनमूलक क्षेत्रमा पनि गत वर्षभन्दा धेरै सुधार नभएकाले वृद्धिदर न्यून रहने विश्व बैंकको भनाइ छ । यसअघि पनि बैंकले ४.६ प्रतिशतकै प्रक्षेपण गरेको थियो ।

एक साताअघि मात्रै एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । केही महिनाअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले वृद्धिदर ५ प्रतिशत हुने आँकलन गरेको थियो । चालु आर्थिक वर्षको बजेटमा ७.२ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको सरकारले मध्यावधि समीक्षामा घटाएर ६ प्रतिशत मात्रै हुने तथ्यांक सार्वजनिक गरेको थियो । तीनै अन्तर्राष्ट्रिय संस्थाहरूले अर्थतन्त्रको विस्तार सरकारको अनुमानभन्दा कम हुने प्रक्षेपण गरेका छन् ।

विश्व बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा बाढी, रेमिटयान्सको घट्दो दर, बढदो ब्याजदर र निर्यातमा सुधार नआएको कारण यो वर्षको वृद्धिदर अघिल्लोभन्दा कम हुने बताइएको छ । हरेक महिना ३५ हजार नेपाली काम गर्ने उमेरमा प्रवेश गर्ने भएकाले नेपालले वार्षिक २ लाख ४० हजार रोजगारी सिर्जना गर्नु आवश्यक रहेको प्रतिवेदनमा भनिएको छ ।

विश्व बैंकले दक्षिण एसिया सबैभन्दा द्रुत आर्थिक वृद्धिदर भएको क्षेत्र भएको बताएको छ । भारतको अर्थतन्त्रमा आएको सुधारले यो तथ्यांक देखिएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वृद्धि उच्च भए पनि यस क्षेत्रमा रोजगारी सिर्जना सोचेअनुरूप नभएको प्रतिवेदनमा भनिएको छ । दक्षिण एसियामा हरेक महिना १८ लाख मानिस काम गर्न सक्ने उमेरमा पुग्ने भए पनि महिलाहरूका लागि रोजगारीको अवसर सिर्जना नभएको प्रतिवेदनमा जनाइएको छ ।

दक्षिण एसियामा रोजगारीको सिर्जनाको दर पूर्वी एसियाभन्दा द्रुत रूपमा कम भएको प्रतिवेदनमा भनिएको छ । ‘भारत, भुटान र श्रीलंकामा यो अवस्था बढी छ,’ प्रतिवेदनमा उल्लेख छ । आफ्नो रोजगारी दरलाई कायम राख्न दक्षिण एसियाले वार्षिक १ करोड ७ लाख रोजगारीको अवसर सिर्जना गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । यही गतिमा आर्थिक वृद्धिदर कायम रहे आवश्यक रोजगारीको अवसर सिर्जना गर्न सम्भव भएको प्रतिवेदनमा उल्लेख छ ।

‘आर्थिक वृद्धिदर महत्त्वपूर्ण छ तर दक्षिण एसियामा रोजगारीको अवसर सिर्जना उच्च आर्थिक वृद्धिदर मात्रै पर्याप्त छैन,’ प्रतिवेदनका लेखक रोबर्ट बेयरले भनेका छन्, ‘यो आर्थिक वृद्धिलाई कामदारमैत्री बनाउनु आवश्यक छ । महिलाको सहभागिता रहेको श्रमशक्ति निर्माण गर्न पनि त्यत्तिकै जरुरी छ ।’

प्रकाशित : वैशाख ४, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

सेयर बजार भित्रिने लगानीकर्ता कम

यज्ञ बञ्जाडे

काठमाडौँ — अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष सेयर बजार नयाँ लगानीकर्ताको प्रवेशमा कमी आएको छ । बजार घट्दो प्रवृतिमा रहेकाले नयाँ लगानीकर्ता भित्रिने क्रम घटेको हो ।

चालु आर्थिक वर्षमा सेयर बजारमा ८७ हजार २ सय ७८ जना नयाँ लगानीकर्ता भित्रिएका छन् । गत वर्ष बजारमा थपिएका नयाँ लगानीकर्ताको तुलनामा यो वर्षको संख्या करिब ६८ हजारले कम हो । आर्थिक वर्ष ०७३/७४ मा सेयर बजारमा १ लाख ५५ हजार ६ सय ८९ नयाँ लगानीकर्ता भित्रिएका थिए । हाल दोस्रो बजारमा १२ लाख ३६ हजार ५४ जना लगानीकर्ता रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । हालसम्म नेप्सेको कारोबार प्रणालीमा दर्ता भएकामध्ये ९ लाख ३३ हजार पुरुष, ३ लाख २ हजार महिला र ६ हजार संस्थागत लगानीकर्ता छन् ।

यो वर्ष दोस्रो बजारमा भित्रिएका करिब ८७ हजार ३ सय लगानीकर्तामध्ये ५८ हजार ४ सय ७८ पुरुष, २८ हजार १ सय ५६ महिला र ६ सय ४८ संस्थागत लगानीकर्ता रहेको नेप्सेको तथ्यांक छ । अघिल्लो वर्ष सेयर बजारमा भित्रिएकामध्ये १ लाख ९ हजार पुरुष, ४५ हजार ७ सय २० महिला र ८ सय ३५ संस्थागत लगानीकर्ता थिए । यसले अघिल्लो वर्षको तुलनामा यो वर्ष सेयर बजारमा भित्रिने नयाँ लगानीकर्ता घटेको पुष्टि हुन्छ ।

गत वर्षको तुलनामा यो वर्ष सेयर बजारमा नयाँ लगानीकर्ता घट्नुले नेप्से परिसूचक घटेको समयमा लगानीकर्ताको प्रवेश पनि कम हुन्छ भन्ने देखाउँछ । सामान्य लगानीको सिद्धान्तअनुसार सेयर बजार घटिरहेको समयमा मूल्य कम हुने भएकाले लगानी बढाउने र बढेको समयमा धेरै मूल्यमा सेयर बिक्री गरी मुनाफा सुरक्षित गर्नुपर्छ । तर, यो सर्वमान्य सिद्धान्तविपरीत प्रवृति नेपाली लगानीकर्तामा देखिएको छ । नेप्से परिसूचक बढेको समयमा धेरै नयाँ लगानीकर्ता बजारमा भित्रिने र घटेको समयमा घट्नुबाट यो पुष्टि हुन्छ ।

गत आर्थिक वर्षमा नेप्से परिसूचक बढदो क्रममा थियो । सोही अवधिमा नेप्सेले यसअघिको उच्च विन्दु (१ हजार १ सय ७५ अंक) लाई पार गर्दै १ हजार ८ सय ८१ अंकको नयाँ रेकर्ड बनाएको थियो । यही वर्ष करिब डेढ लाख नयाँ लगानीकर्ता बजारमा थपिएका थिए । यो वर्षको सुरुदेखि सेयर बजार घट्दो क्रममा छ । गएको वर्षको तुलनामा यो वर्ष नेप्से करिब ६ सयले घटिसकेको थियो । हालै नेप्से सुधार हुँदै गएर १ हजार ३ सय विन्दु नजिक पुगिसकेको छ ।

बजारमा करिब साढे १२ लाख लगानीकर्ता देखिए पनि सक्रिय लगानीकर्ताको संख्या निकै कम रहेको नेप्सेले जनाएको छ । ‘एक वर्षमा १ हजारवटा कारोबार गर्ने लगानीकर्ताको संख्या ३/४ जना मात्र देखिन्छ,’ स्रोतले भन्यो, ‘तथ्यांकमा सक्रिय लगानीकर्ता संख्या धेरै कम देखियो ।’

हाल सेयर द्वितीय बजारमा १२ लाख ३६ हजार लगानीकर्ता रहे पनि त्यति नै जना लगानीकर्ता छन् भन्ने होइन । हाल दोस्रो बजारमा एक जना व्यक्तिले ५० वटै ब्रोकरबाट सेयर कारोबार गर्न पाउँछ । यसरी कारोबार गर्दा एक व्यक्तिले हरेक ब्रोकर कार्यालयबाट छुट्टाछुट्टै लगानीकर्ता परिचय नम्बर पाउँछ । त्यो नम्बर नेप्सेको कारोबार प्रणालीमा दर्ता हुँदा जतिवटा कार्यालयबाट कारोबार भएको छ त्यतिवटै लगानीकर्ताका रूपमा रहन्छ । उदाहरणका लागि एक व्यक्तिले १० वटा ब्रोकर कार्यालयबाट कारोबार गरिरहेको छ भने, नेप्सेको तथ्यांकमा त्यही व्यक्तिलाई १० जना लगानीकर्ताको रूपमा गणना गरिन्छ । यसैले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता संख्या धेरै देखिएको विज्ञहरूले बताए । वास्तविक लगानीकर्ता पहिचानका लागि एकल परिचयपत्रको व्यवस्था गर्न लागिएको धितोपत्र बोर्डले बताएको छ । यसका लागि सीडीएस एन्ड क्लियरिङले काम गरिरहेको जनाइएको छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्