कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टयांकरमा ताला लगाएर पेट्रोलियम ढुवानी

माधव ढुंगाना

भैरहवा — पेट्रोलियम पदार्थ आयात गर्दा लकिङ प्रणाली (टयांकरमा ताला) सुरु गरेको आयल निगमले दोस्रो चरणमा आफनो डिपोबाट पेट्रोलपम्पसम्म हुने ढुवानीमा पनि त्यसलाई लागू गर्ने तयारी गरेको छ । ढुवानी क्रममा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्दै पेट्रोलियम व्यापारलाई स्वच्छ बनाउन यस्तो प्रणालीलाई मुलुकभर विस्तार गर्न लागिएको हो ।

टयांकरमा ताला लगाएर पेट्रोलियम ढुवानी

‘यो प्रणाली निगमको आन्तरिक सुधारको महत्त्वपूर्ण कडी हो,’ रूपन्देहीको भलबारीस्थित प्रादेशिक कार्यालयमा यस्तो प्रणालीबाट ढुवानीको आरम्भ गर्दै निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘यसलाई मुलुकमा रहेका निगमका सबै डिपोमा लागू गरिनेछ र दोस्रो चरणमा आम उपभोक्ताले पाउने पेट्रोलपम्पसम्म पुर्‍याइनेछ ।’

निगमले भारतीय आयल कर्पोरेसनबाट आफ्ना डिपोसम्म पेट्रोलियम पदार्थको ढुवानी गर्दा प्रयोग हुने ट्रक तथा टयांकरमा सुरक्षात्मक लकिङ प्रणाली अपनाउन सुरु गरेको ३ महिना पुग्यो । अहिले मुलुकभरका डिपोमा हुने आयात तथा ढुवानीमा यस प्रणालीको प्रयोग गर्ने तयारी गरेको हो । पेट्रोलियम ढुवानीका लागि प्रयोग हुने ट्रक तथा टयांकरमा विशेष किसिमको ताल्चा लगाएर ढुवानी गरिनेछ ।

भट्टराईले नेपालमा हुने सम्पूर्ण पेट्रोलियम पदार्थको व्यापारलाई मर्यादित र सुरक्षित बनाउन यो प्रणाली अपनाइएको जनाए । ‘ढुवानीका क्रममा निश्चित परिमाणको तेल नभएकाले घाटा खानुपरेको भन्ने कुरा अब आउने छैन,’ उनले भने । यदि कुनै बिक्रेताले नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ आफ्नो पम्पसम्म ढुवानी गर्ने क्रममा तत्कालका लागि आफ्नो ताल्चा लगाएर सुरक्षित रूपमा ढुवानी गर्न चाहेमा निगमले तत्काल व्यवस्था मिलाउने उनले बताए । पछि निगम आफैंले ताला लगाएर सुरक्षात्मक लकिङ व्यवस्था मिलाउने उनले जनाए ।

दोस्रो चरणमा निगमको डिपोबाट बिक्रेताको पम्पसम्म पेट्रोलियम पदार्थको ढुवानी गर्दा लाग्ने सुरक्षात्मक लकिङ प्रणालीका लागि आवश्यक पर्ने ताला–चाबी भने नेपाल आयल निगमले उपलब्ध गराउनेछ । यसका लागि टेन्डरबाट ताला खरिद गर्ने कार्य निगमले अघि बढाएको उनले जानकारी दिए ।

गत १४ मार्चमा झापास्थित निगमको डिपोबाट सुरु गरिएको यो प्रणाली अभियान रूपन्देहीको भलबारी डिपोमा मंगलबारबाट सुरु गरिएको छ । बिहीबार नेपालगन्जस्थित निगमको डिपोमा लागू गर्ने कार्यक्रम छ । आउँदो मे महिनाको पहिलो सातासम्ममा रक्सौल र बरौनी डिपोमा पनि लागू गर्ने योजना निगमको रहेको निगमका प्रवक्ता तथा वितरण प्रमुख वीरेन्द्र गोइतले जनाए । ‘अन्तिममा धनगढी डिपोमा लागू गरिनेछ,’ गोइतले भने, ‘हाम्रो यो प्रणाली मुलुकभरि सञ्चालन गरिनेछ ।’ आम उपभोक्ताले माग गरेको परिणामअनुरूप गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउन यो प्रणालीले मद्दत गर्ने र नेपाल आयल निगमलाई नै सुधार गर्न पनि यो पहिलो कदम भएको दाबी उनले गरे । यस प्रणालीबाट ढुवानी गर्दा चोरी तथा चोरी तथा चुहावट र मिसावट हुन नपाउने भएकाले उपभोक्ताले भने अनुरूपको सही परिमाणमा र शुद्धता पाउने भएकाले निगम भित्रै पनि सुधार हुने पहिलो कदमका रूपमा लिइएको भनाइ उनको थियो ।

उनका अनुसार पेट्रोलियम पदार्थ लोड गर्न पुगेका ट्रक तथा टयांकरमा भारतीय आयल कर्पोरेसनका कर्मचारीले विशेष खालको तालाबन्दी गरिदिन्छन् । नेपाल आयल निगमको डिलरमा अनलोड गर्ने बेला निगमका कर्मचारीले उक्त ताला खोलेर उल्लिखित परिमाणको पेट्रोलियम पदार्थ भए/नभएको हेर्नेछन् । तालाको चाबी भारतीय निगम र नेपाल निगमका कर्मचारीसँग मात्र हुने भएकाले बीच बाटोमा अनधिकृत रूपमा चुहावट तथा मिसावट हुने सम्भावना रहँदैन ।

सन् २००२ मा यो प्रणाली भारतीय आयल निगमले लागू गरेर सफल भएपछि नेपाल आयल निगमले अनुसरण गरेको हो । यस अभियानको पहिलो चरणअन्तर्गत भारतीय आयल कर्पोरेसनबाट नेपालका लागि ढुवानी हुने कुल परिमाणलाई आवश्यक पर्ने ताला–चाबी नि:शुल्क अनुदानमा नेपाल आयल निगमलाई उपलब्ध गराइएको छ । विशेष खालको यो ताला लगाएपछि टयांकरको सबै च्याम्बरका मुख पनि बन्द हुनेछन् । नक्कली चाबीको प्रयोगले ताला खुल्दैन । कसैले जबर्जस्ती गरेमा चाबी भाँचिएर ताला भित्र अड्कनुको साथै छापसमेत देखिन्छ ।

निगमको तथ्यांकअनुसार नेपालमा हाल प्रतिमहिना ४० हजार केएल परिमाणमा पेट्रोल र १ लाख ४० हजार केएल परिमाणमा डिजेलको खपत हुने गरेको छ । मासिक २ हजार केएल मटितेल र २० हजार केएल हवाई इन्धनको खपत हुने गर्छ ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?