कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार जलविद्युत् आयोजनाको उत्पादन दुई वर्षभित्र

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ ले आगामी वैशाखमा उत्पादन थाल्ने

काठमाडौँ — रसुवा र नुवाकोटमा निर्माणाधीन २ सय २८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले दुई वर्षभित्रै उत्पादन थाल्ने गरी काम अघि बढाएका छन् । ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’, १ सय ११ मेगावाटको रसुवागढी, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

चार जलविद्युत् आयोजनाको उत्पादन दुई वर्षभित्र

चारै आयोजना विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भइरहेका हुन् । चिलिमे जलविद्युत् कम्पनीको प्रवद्र्धक प्राधिकरण हो ।


सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको ऋणमा बनिरहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ को निर्माण आगामी वैशाखभित्र सक्ने लक्ष्य छ । आयोजनाले निर्माण गरिहेको त्रिशूली थ्री ‘ए’ –मातातीर्थ २२० केभी प्रसारण लाइनका १ सय ४२ वटा टावरमध्ये अधिकांशको काम भइरहेको छ । ५ वटा टावरको काम स्थानीयको अवरोधका कारण सुरु हुन नसकेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए ।


आयोजनाको सिभिल, विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी) लाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा जिम्मा दिइएको छ ।


निर्माणस्थलको पहिचानमा ढिलाइ, विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्पलगायतका कारणले आयोजनाको निर्माणमा यसअघि ढिलाइ भएको थियो ।


ठेकेदार कम्पनीको काम सन्तोषजनक रहेको र तोकिएकको समयअगावै सक्ने गरी काम भइरहेको जोशीले बताए ।


रसुवागढी आयोजनाको समग्र निर्माण प्रगति ६० प्रतिशत भएको आयोजनाले जनाएको छ । आयोजनाले २०७६ पुस १५ देखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

आयोजनाको विद्युत् जोड्नका लागि चिलिमे हब–त्रिशूली थ्री ‘बी’ प्रसारण लाइन हबको निर्माण हुनुपर्छ । रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले प्रसारण लाइन अभावमा विद्युत् खेर जान नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने अवस्था रहेको बताए । उनले परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानी गर्दा सटही प्रक्रिया ज्यादै झन्झटिलो रहेकाले यसलाई सहज बनाइदिन आग्रह गरे ।


माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमश: ७० र ६० प्रतिशत रहेको आयोजनाले जनाएको छ । सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेको बताए ।

प्रसारण लाइनको निर्माण गर्न सरकारी जग्गा र वन क्षेत्रका रूख काट्न स्वीकृति लिने प्रक्रिया झन्झटिलो रहेको उनले बताए । आयोजनाले विद्युत् गृहबाट चिलिमे हबसम्म १३२ केभीको ७ किलोमिटर प्रसारण लाइन बनाउनुपर्छ । माथिल्लो सान्जेनबाट आगामी वैशाखसम्म विद्युत् उत्पादनको लक्ष्य राखिएको छ ।


सान्जेनले भने आगामी १३–१४ महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।


नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने चिलिमे हब–त्रिशूली थ्री ‘बी’ २२० केभी प्रसारण लाइन निर्माण भइसकेपछि उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । उक्त प्रसारण लाइन अर्को वर्ष निर्माण भइसक्ने प्राधिकरणले जनाएको छ ।


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले शुक्रबार, शनिबार र आइतबार चारै आयोजनाको स्थलगत निरीक्षण गरेको थियो । मन्त्री पुनले चारै आयोजना प्रमुखहरूलाई आयोजनाको काम सकेसम्म तोकिएको समयभन्दा अघि नै सक्न निर्देशन दिएका थिए ।


टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजना निर्माणमा देखिएका समस्या र समाधानका उपायबारेमा छलफल गरेको थियो । मन्त्री पुनले भूकम्पछि तयार गरिएको नयाँ समय तालिकामा आयोजनाको निर्माण जुनसुकै अवस्थामा पनि सक्न निर्देशन दिए ।


‘आयोजना समयमै पूरा गर्न मन्त्रालयबाट गर्नुपर्ने सबै सहयोग हुन्छ,’ मन्त्रीले भने, ‘तालिकाअनुसार नै काम सकाउनुहोला ।’

प्रकाशित : वैशाख १८, २०७५ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?