कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शाही विवाहमा खर्च कति ?

एजेन्सीहरू

काठमाडौँ — कुनैपनि विवाह समारोह महँगो हुने कुरो धेरैलाई थाहै छ । अझ राजपरिवारमा हुने विवाह त झनै महँगो हुने नै भयो । बेलायतमा मे १९ मा राजकुमार हयारी र मेघन मार्कलबीच विवाह हुँदै छ ।

शाही विवाहमा खर्च कति ?

यो विवाह खर्चिलो हुने भएकाले हिजोआज खुबै चर्चामा छ । यसले एउटा नयाँ रेकर्ड कायम गर्न सक्ने सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बेलायतका अनुभवी विवाह योजनाकारहरूका अनुसार उक्त विवाहमा १ दशमलव ४ मिलियन अमेरिकी डलर (१५ करोड २३ लाख ३४ हजार रुपैयाँ) वा त्योभन्दा बढी खर्च हुन सक्छ । विशेष सुरक्षाका लागि मात्रै लाखौं रुपैयाँ खर्च हुने अनुमान उनीहरूको छ । लक्जरी ब्रिटिस इभेन्ट म्यानेजमेन्ट कम्पनी ‘बानाना स्प्लिट’ का प्रमुख जेमी साइमनका अनुसार सबैभन्दा भव्य विवाह समारोहमा सामान्यतया १३ दशमलव ५ मिलियन डलरभन्दा बढी खर्च गर्न पाइन्न । उनले भने, ‘रकम खर्च गर्ने तरिकाको खोजी गर्नुअघि धेरै विचार गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त जोडीलाई केही सुुविधा सित्तैमा पनि उपलब्ध हुने त छँदै छ ।’

अमेरिकी सञ्चार माध्यम ‘सीएनएन’ का अनुसार मार्कलको विवाहको पोसाकका लागि डिजाइनर नियुुक्त गरिसकिएको अफवाह बेलायतमा महिनायता जारी छ । मार्कलले आफ्नो इंगेजमेन्टका बेला बेलायतको महँगो ब्रान्ड ‘राल्फ एन्ड रुसो’ द्वारा तयार पारिएको पोसाक लगाएकी थिइन् । कालो र सुुनजडित गाउनको मूल्य ७५ हजार अमेरिकी डलर (८१ लाख ६० हजार ७ सय ५० रुपैयाँ) रहेको थियो ।

उक्त फेसन हाउसले भने यसबारे कुनै प्रतिक्रिया दिन नचाहेको सीएनएनले जनाएको छ । सेलिब्रेटीहरूको विवाह योजनाकार मार्क निमिर्कोले मार्कलको विवाह पोसाकमा ३ लाख ४० हजार डलर (३ करोड ६९ लाख ९५ हजार ४ सय रुपैयाँ) खर्च हुन सक्ने बताएका छन् । यो अवसरका लागि एउटा मात्रै पोसाक पर्याप्त नहुने भएकाले थप गर्दा खर्च बढ्ने बताए । दुई वटा रिसेप्सन कार्यक्रम रहेकाले खर्च करोडमा पुगेको हो ।

सन् २०११ मा राजपरिवारमा राजकुमार विलियम्स र केटबीच भएको पछिल्लो विवाह समारोहमा करिब ८ दशमलव ७ मिलियन डलर (९४ करोड ६६ लाख ४७ हजार रुपैयाँ) खर्च भएको एपीले जनाएको छ । सरकारले उक्त विवाहमा सरकारी अनुदानमा ४ दशमलव ८ मिलियन डलर (५२ करोड २२ लाख ८८ हजार रुपैयाँ) विशेष प्रहरीको ओभर टाइमका लागि तिरेको थियो । त्यो विवाह मध्य लन्डनमा भएको थियो । राजकुमार हयारी र मार्कलको विवाह राजधानी सहरभन्दा बाहिर विन्डसोरमा हुने भएकाले सुरक्षा खर्च घट्न सक्ने बताइएको छ । स्थानीय थेम्स भ्याली प्रहरीका एकजना प्रवक्ताले सुरक्षा खर्चबारे तत्कालै प्रतिक्रिया जनाउन नचाहेको सीएनएनको समाचारमा छ ।

विवाहका दिन तीनवटा महत्त्वपूर्ण भेन्यु रहनेछन् । तीमध्ये एउटामा ६ सय पाहुनालाई अपराहनको रिसेप्सन र अर्कोमा २ सय अतिथिलाई सन्ध्याकालीन रिसेप्सन दिइने कार्यक्रम छ । यी रिसेप्सनहरूमा धेरै खर्च हुने अनुमान गरिएको छ । लन्डनस्थित विलासी विवाह योजनाकार एमी डुनेले कर्मचारीलगायतका लागि रहने अर्को भेन्युले खर्च बढाउनेछ । ६ सय पाहुनाका लागि लन्च र अन्य दुई सयका लागि डिनरमा फुड र ड्रिंकले पनि खर्च बढ्ने देखिन्छ । प्रिन्स हयारीको विवाह समारोहका योजनाकार निमिर्कोका अनुसार महारानीले मध्याहनमा ६ सयजनाका लागि दिइने रिसेप्सनमा प्रतिव्यक्ति १ सय ३५ डलर (१४ हजार ६ सय ८९ रुपैयाँ) सहित कुल ८१ हजार ५ सय डलर (८८ लाख ६८ हजार १५ रुपैयाँ) खर्च हुने अनुमान गरेका छन् । त्यस्तै हयारीका बुबा प्रिन्स चाल्सले सन्ध्याकालीन समयमा २ सयजना अतिथिका लागि आयोजना गर्ने रिसेप्सनमा प्रतिव्यक्ति ३ सय ४० डलर (३६ हजार ९ सय ९५ रुपैयाँ) सहित कुल खर्च ६८ हजार डलर (७३ लाख ९९ हजार ८० रुपैयाँ) हुने बताइएको छ ।

लन्डनस्थित भ्वाइलेट बेकरीका मालिक र प्यास्ट्री सेफ क्लेयर प्टाकले विवाहमा केकको बन्दोबस्त गर्दै छन् । यसअघिको राजपरिवारको विवाहमा १३ हजार ५ सय डलर (१४ लाख ६८ हजार ९ सय ३५ रुपैयाँ) मूल्यको हातले बनाइएको ‘सुगर रोजेज’ केकको प्रयोग गरिएको थियो । विवाह समारोहमा सजावटका लागि राखिने फूलहरूमा ५० हजार पाउन्ड (७३ लाख ४९ हजार ४९ रुपैयाँ) खर्च हुन सक्ने बताइएको छ । यसैगरी विवाह समारोहमा ल्याइने ब्यान्डको मूल्य हजारौं पाउन्ड हुनेछ । त्यस्तै ब्यान्डको यातायात, पार्किङ र जीवन बिमा, साउन्ड र प्रकाशमा यो खर्च हुनेछ । बेलायती एम्बेसडर ब्यान्डका प्रमुख गिओफ वाल्करले आफूले १६ टुक्री वैवाहिक ब्यान्डको शुल्क २१ हजार ५ सय अमेरिकी डलर (२३ लाख ३९ हजार ४ सय १५ रुपैयाँ) लिने गरेको बताएका छन् ।

राजपरिवारको विवाहमा ‘बर्नाड र वेस्टउड’ ले विवाह कार्डलगायतका सामग्री छाप्ने गर्छ । उसले तत्कालै अगामी विवाहमा प्रिन्टिङमा हुने खर्चबारे केही उल्लेख गरेको छैन । तर, उसले निम्तो पत्र, स्टाम्प, थ्यांक यु कार्ड, क्यालिग्राफरदेखि खाममा ठेगाना छपाइसहितको एउटा सेटमा राजपरिवारले ३४ अमेरिकी डलर (३ हजार ६ सय ९९ रुपैयाँ) सम्मको खर्च गर्न उपयुक्त रहेको जनाएको छ । सीएनएनका अनुसार ६ सय अतिथिका लागि स्टेसनरी खर्च २० हजार ३ सय डलर (२२ लाख ८ हजार ८ सय ४३ रुपैयाँ) हुनेछ । शाही दम्पतीबाट १ हजार २ सयजना सर्वसाधारणलाई निम्तोपत्र पठाइनेछ, त्यसबापत ४० हजार ७ सय डलर (४४ लाख २८ हजार ५ सय ६७ रुपैयाँ) बराबरको बिल तिर्नुपर्नेछ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?