कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होङ्सी सिमेन्टको उत्पादन सुरु

चिनियाँ र नेपालीको ३६ अर्ब लगानी
नारायण शर्मा

नवलपरासी — मुलुककै ठूलो मानिएको होङ्सी सिमेन्ट कारखानाले परीक्षण उत्पादन सुरु गरेको छ । चिनियाँ र नेपालीको ३६ अर्ब लगानीको कारखानाले निर्माण थालेको दुई वर्षमै परीक्षण उत्पादन थालेको हो ।

होङ्सी सिमेन्टको उत्पादन सुरु

पहिलो चरणमा दैनिक ६ हजार टन उत्पादन क्षमताको उक्त कारखानाले शुक्रबारदेखि परीक्षण उत्पादन थालेको सञ्चालकहरूले जनाएका छन् । नेपालको शिवम् सिमेन्ट र चिनियाँ होङ्सी सिमेन्ट कम्पनीको संयुक्त लगानी रहेको कारखानाले पहिलो चरणमा दैनिक २ हजार टन सिमेन्ट उत्पादन थालेको छ । आगामी एक महिनामा दैनिक ६ हजार टन उत्पादन गर्ने तयारी गरेको छ । कारखानामा चिनियाँ ७० प्रतिशत र नेपालीको ३० प्रतिशत लगानी छ ।

नवलपरासीको दुम्कीबासबाट १२ किलोमिटर उत्तरमा रहेको कारखानाले उच्चकोटीको सिमेन्ट उत्पादन गर्ने मेसिन जडान गरेको छ । कारखानाको उत्पादन नियन्त्रण र परीक्षणका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । कारखानास्थल वरपर कुनै प्रदूषण नहुने यसको फरक विषेशता रहेको दाबी कम्पनीको छ ।

आगामी २ वर्षभित्र दैनिक १२ हजार टन उत्पादन सुरु गर्ने लक्ष्य रहेको सञ्चालक दीपक झाले बताए । पाल्पाको ज्यामिरेमा चुनढुंगा खानी रहेको कारखानाले आफ्नै लगानीमा २२ किमि पक्की सडक बनाएर चुनढुंगा ल्याउने गरेको छ । आगामी १५ महिनाभित्र कारखानामा खानीबाट १० किमि लम्बाइको सुरुङ मार्ग हुँदै चुनढुंगा ल्याउने तयारी भइरहेको छ । खानीबाट टनेलमा चुनढुंगा ल्याउँदा आवश्यक मात्रा, छिटो र कम ढुवानी लागतमा ल्याउन सकिने भएकाले टनेल मार्गको काम धमाधम भइरहेको छ ।

बजारमा होङ्सी सिमेन्टको नामबाट बिक्री हुने भएको छ । बजारमा लैजान गुणस्तर चिह्नसमेत लिन पर्ने भएकाले त्यसको तयारी भइरहेको कारखानाले जनाएको छ । यसले आफ्नै कच्चा पदार्थबाट सिमेन्ट उत्पादन गर्नेछ । भारतबाट कोइला र जिप्सम मात्र आयात हुनेछ । क्लिंकर र सिमेन्ट दुवै आफ्नै उत्पादन यसले गर्नेछ । नेपालमा सञ्चालनमा रहेका अन्य सिमेन्ट कारखाना ११ वटा छन् ।

बजार मूल्यमा हस्तक्षेप हुने
दैनिक ६ हजार टन उत्पादन सुरु भएर सिमेन्ट बजारमा पठाउन थालेपछि बजार मूल्यमा फेरबदल हुने लगानीकर्ताको दाबी छ । ठूलो परिमाणमा बजार जाने भएकाले अन्य कारखानाले लिँदै आएको मूल्यभन्दा होङ्सी सस्तो हुने लगानीकर्ताको दाबी छ । मुलुकभित्रै दैनिक १२ हजार टन उत्पादन सुरु भएपछि विदेशबाट सिमेन्टको आयात परिमाण घट्नेछ ।

सरकारी सहयोग सुस्त
१० अर्बभन्दा बढी विदेशी लगानीका कारखानालाई पूर्वाधार निमार्णको काम सरकारले गर्नुपर्ने भए पनि सडक र बिजुली अहिलेसम्म सरकारले दिन सकेको छैन । महेन्द्र राजमार्गको दुम्कीबासबाट कारखाना रहेको सर्दीसम्म र त्यहाँबाट चुनढुंगा खानीसम्मको ३२ किमि सडक कारखाना आफैंले निर्माण गरिसकेको छ । बिजुली जेनेटरबाट सप्लाई गरेको छ । कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा विद्युत् महसुलबापत वार्षिक २ अर्बभन्दा बढी राजस्व तिर्ने अनुमान छ । यो कारखानासम्म विद्युत् पुर्‍याउने काम भने सुस्त गतिमा भइरहेको छ ।

नवलपरासीमा होङ्सीबाहेक सीजी सिमेन्ट, सर्वोत्तम, बुटवल सिमेन्ट र पाल्पा सिमेन्टले यसअघि नै उत्पादन गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?