कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्योगका कारण भोल्टेजको समस्या : प्राधिकरण

क्यापासिटर बैंक नराखे उद्योगको लाइन काट्ने चेतावनी

काठमाडौँ — उद्योगहरूले विद्युत आपूर्ति सन्तुलित गर्ने क्यापासिटर बैंक नराखेका कारण विभिन्न जिल्लामा भोल्टेजको समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उद्योगका कारण भोल्टेजको समस्या : प्राधिकरण

उद्योगलाई केही समय दिएर क्यापासिटर बैंक राख्न लगाउने र तोकिएको समयमै नराखे उद्योगको लाइन काट्नेसम्मको कारबाही गर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।


प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युत्मा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत् लोडलाई नियमित गर्न क्यापासिटर बैंक राखिन्छ ।


प्राधिकरणको विद्युत् वितरण विनियमावली २०६९ ले ५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्य रूपमा क्यापासिटर बैंक राख्नुपर्ने व्यवस्था भए पनि अधिकांश उद्योगले क्यापासिटर बैंक नराखेको प्राधिकरणले जनाएको छ ।


उद्योगहरूले क्यापासिटर बैंक नराख्दा आम उपभोक्ताले समेत भोल्टेजको समस्या भोगेको प्राधिकरणले जनाएको छ । तराईका जिल्लाका १ सय ४० उद्योगमा अनुमगन गर्दा ४३ वटाले मात्रै क्यापासिटर राखेको पाइएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्राधिकरणले मुलुकभरका वितरण केन्द्रलाई क्यापासिटर बैंक नराख्ने उद्योगको विवरण संकलन गरी पठाउन परिपत्र गरिसकेको छ । ‘निश्चित समय दिएर उद्योगलाई क्यापासिटर बैंक राख्ने अवधि दिइन्छ,’ घिसिङले भने, ‘उक्त अवधिमा पनि नराख्ने उद्योगको विद्युत् आपूर्ति बन्द गरिन्छ ।’


धेरै विद्युत् खपत गर्ने उद्योगले नै क्यापासिटर बैंक नराख्दा मुख्यतया: तराईका जिल्लामा भोल्टेजको समस्या देखिएको प्राधिरकणले जनाएको छ । भोल्टेज समस्याका कारण विद्युतीय उपकरण नचल्ने, बत्ती मधुरो बल्ने, वितरण प्रणाली प्रभावित हुने समस्या देखिएको प्राधिकरणले जनाएको छ ।


गर्मी बढी भएका जिल्लामा अहिले फयान, एसीजस्ता विद्युत् धेरै खपत गर्ने उपकरणहरू बढी सञ्चालन हुने भएकाले भोल्टेजको समस्या बढेको प्राधिकरणले जनाएको छ ।


‘बुटवल, विराटनगर, नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा कम भोल्टेजले गर्दा समय समयमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


भोल्टेजको समस्या समाधानका लागि विद्युत् माग बढी हुने क्षेत्रमा ट्रान्सफर्मर थप्ने, जीर्ण अवस्थामा रहेका ट्रान्सफर्मर फेर्ने तथा मर्मत सम्भार गर्ने, नयाँ सब स्टेसन थप्ने, वितरण लाइन सुधार गर्नेलगायतका काम उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको घिसिङले बताए ।


प्राधिकरणले अहिले उद्योगलाई अनिवार्य रूपमा क्यापासिटर बैंक राख्न लगाउने, ‘अनलोड टयाप चेन्जर’ जडित ट्रान्सफर्मर रहेका सब स्टेसन थप्ने, सबस्टेसन तथा वितरण ट्रान्सफर्मरमा क्यापासिटर बैंक राख्ने, नयाँ प्रसारण लाइन बनाउने, निजी उत्पादकहरूलाई सम्झौतानुसारको रियाक्टिभ पावर सप्लाई गर्न लगाउने लगायतका काम अगाडि बढाइरहेको घिसिङले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?