कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदुवाको मूल्यमा सुधार

सुनसरी — सातायता अदुवाको मूल्य दोब्बर वृद्धि भएको छ । मूल्य वृद्धिले पूर्वी पहाडका अदुवा किसान र व्यापारीहरू खुसी छन् । साताअघि धरान कृषि उपज बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँ मात्र थियो ।

अदुवाको मूल्यमा सुधार

अदुवाले सन्तोषजनक मूल्य पाउन थालेपछि धरानबाट दैनिक २० देखि ४० टन भारतीय बजारमा निर्यात हुन थालेको छ ।


भारतीय बजारमा नेपाली अदुवाको माग बढेपछि नेपालमा प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्म पुगेको छ । अदुवा किसानसमेत रहेका व्यापारी विनोद राईले भने, ‘अदुवाको मूल्यमा यसै सातादेखि सुधार हुँदै आएको छ । तर, यो सुधार कहिलेसम्मलाई हो, ग्यारेन्टी छैन ।’
नेपाली अदुवा ९५ प्रतिशत भारतीय बजारमा खपत हुने गरेको छ । भारतीय बजारमा अदुवाको माग नहुने हो भने नेपाली किसानले अदुवा खेती नगर्दा हुन्छ । गत वर्ष भारतले नेपाली किसानले उत्पादन गरेको अदुवामा रोक लगाएको थियो । त्यसबेला यहाँका किसान र अदुवा व्यवसायीलाई
५० करोड रुपैयाँभन्दा बढी घाटा भएको थियो ।


कृषि उपज बजार व्यवस्थापन समितिका अनुसार असार पहिलो सातासम्ममा १० हजार ५ सय टन अदुवा भारतीय बजारमा निर्यात भइसकेको छ । चार वर्षअघि प्रतिकिलो अदुवा १ सय ६० रुपैयाँसम्म मूल्य पुगेको थियो । मूल्य अकासिएपछि सुनसरीको विष्णुपादुका, मोरङको उत्तरी गाउँपालिकाहरू, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ, सिन्धुलीका हजारौं किसानले अदुवामा लगानी गरेर बढी उत्पादन गर्न थालेपछि गत वर्ष एक्कासि निकासीमा रोक लगाएको थियो ।


पूर्वमा बर्सेनि अदुवा उत्पादनमा वृद्धि हुँदै आएको छ । कृषि उपज बजारको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ६ हजार ८ सय ७३ टन उत्पादन भएकामा आर्थिक वर्ष ०७३/७४ मा ९ हजार ५ सय ६७ टन उत्पादन भएको छ । गत वर्ष अदुवा निर्यात रोकिएपछि अधिकांश किसानहरूले नखनी बारीमै छाडेकाले ती माउ अदुवासहित यो वर्ष कम्तीमा १२ देखि १५ हजार टन अदुवा उत्पादन हुने अनुमान गरिएको छ ।


अदुवा व्यापारी रामप्रसाद राईले पूर्वी नेपालमा उत्पादित अदुवाको मूल्य भने पूर्वी नाका काटेर नक्सलबारी पुर्‍याएपछि मात्र तोकिने गरेको बताए । उनले अदुवाले मूल्य पायो भनेर खुसी हुन निकै गाह्रो भएको बताए । उनले भने, ‘अदुवाको मूल्य यति नै भनेर कतै पनि तय नगरिने हुनाले भारतीय बजारको मागअनुसार व्यापारीहरूले नेपाली किसानबाट अदुवा किन्ने र नक्सलबारी कटाएपछि मूल्य तोकिने हुनाले ‘जुवा खेले जस्तो’ हुने गरेको छ ।’ भारतीय बजारको भरमा अदुवा उत्पादन हुँदै आएकाले बजारको विकल्प खोज्न सके किसान र व्यापारीलाई लाभ हुने उनले बताए ।


कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले ‘यस वर्ष बिक्यो,’ भनेर त्यत्तिकै बसियो भने फेरि गत वर्षको जस्तै समस्या नदोहोरिला भन्न नसकिने अवस्था रहेको बताए । उनले भने, ‘उचित मूल्यमा बिक्ने ग्यारेन्टी भए कृषक फलाउन उत्सहित हुन्थे । मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बन्ने सम्भावनाको खोजी सरकारी तहबाटै गर्न जरुरी छ । धरानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अदुवा र बेसार जोन लागू भएकाले उत्पादन झन् बढ्ने अनुमान गर्न सकिन्छ । तिनै परियोजनामार्फत प्रशोधन उद्योगहरू खोल्न सके किसानले प्रत्यक्ष लाभ पाउन सक्छन् ।


उनका अनुसार अदुवा कृषकहरूले एक दशकअघिदेखि नै भारतीय बजारको विकल्प खोज्न सरकारसँग माग गर्दै आएका छन् । तर, सरकारले न भारतीय पक्षसँग अदुवासम्बन्धी आफ्नो कुरा राख्न सकेको छ न तेस्रो देशमा अदुवा निर्यातका लागि हालसम्म कुनै पहल गरेको छ । भारत भरोसामा चलेको अदुवा निर्यातका कारण कृषक ढुक्कले व्यावसायिक खेती गर्न नसकेको व्यापारी विनोद राईले बताए । उनका अनुसार नेपाली अदुवा भारतीमा पुगेपछि प्रशोधन, प्याकेजिङ र भारतीय उत्पादनका रूपमा ब्रान्डिङ भई महँगो मूल्यमा अन्य मुलुकमा निर्यात हुन्छ ।

प्रकाशित : असार ८, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?