कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेफ्टिनेन्ट कर्नेलका अर्बपति छोरा

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — लेफ्टिनेन्ट कर्नेलका छोरा तेजा म्यान्मारको सबैभन्दा धनाढय उद्यमी हुन् । आफ्नै पौरख र परिश्रमबाट उनी धर्नाजन गर्न सफल भए । म्यान्मारमा तानाशाही सैन्य सरकारका कारण उनी अमेरिकालगायतका मुलुकबाट पटकपटक प्रतिबन्धको सामना गरे तर हरेस भने खाएनन् ।

लेफ्टिनेन्ट कर्नेलका अर्बपति छोरा

आफ्नो उद्यम जारी राखे । आज एसियाकै सबैभन्दा गरिब मुलुकमध्येको एक रहेको म्यान्मारमा कम समयमै उनी अर्बपति बनेका छन् । हिजोआज उनको आलिसान हवेली बाहिर विश्वकै महँगामध्येको क्यानारी–येल्लो ल्याबोर्घिनी कार पार्क गरिएको हुन्छ । उक्त कारको मूल्य ४ लाख २ हजार ९ सय ९५ अमेरिकी डलर (४ करोड ३७ लाख ७ सय ७७ रुपैयाँ) भन्दा बढी पर्छ ।

कुनै बेला तेजा म्यान्मारका पूर्व जुन्ता (सैन्य सरकार) का सबैभन्दा खराब सहयोगीका रूपमा चित्रण गरिएका थिए । यूएस ट्रेजरीले उनलाई ‘कुख्यात दलाल र हतियार डिलर’ को बिल्लासमेत भिराइदिएको थियो । अमेरिकी प्रतिबन्धका बाबजुद उनी आफ्नो सम्पत्ति मात्रै जुटाउनमा तल्लीन रहेको आरोपको समेत उनले सामना गरे । हाल उनको मुलुक दशकौंदेखिको सैन्य शासनपछि बल्ल खुल्न थालेको छ, लोकतन्त्रतर्फ सीमित रूपमा अग्रसर छ । तेजाले घोर पुँजीपतिहरूको तरंगलाई हाल नेतृत्व गरिहेका छन् । उनी ‘म्यान्मार इंक’ कम्पनीमा नयाँ अनुहारका साथ आफूलाई स्थानान्तरित गरिरहेका छन् । उनका छोराका अनुसार बुबा मल्टिमिलिनियर व्यक्तित्वबाट आंशिक रूपमा सेवा निवृत्तिपछि परोपकारी बनेको बताउँछन् ।

आफ्ना बुबाले खरिद गरेको कान्दावगी प्यालेस होटलमा पाई फायो तेजाले रोयटर्ससँगको एक अन्तर्वातामा भनेका छन्, ‘हाल उहाँ (बुबा) को सबै कुरा फरक छ । उहाँ सामाजिक कार्यमा सक्रिय हुनुभएको छ । बिनालोभलाचल उहाँ समाजमा आफ्नो योगदान पुर्‍याउन प्रयासरत हुनुहुन्छ ।’ अन्तर्वार्तामा म्यान्मारकै सबैभन्दा शक्तिशाली परिवारले आफ्नो नयाँ छवि विकसित गरिरहेको सजिलै ठम्याउन सकिन्छ । म्यान्मारको स्रोत साधनमाथि तेजाले आफ्नो पकड कायम राख्ने क्रम जारी राखेका छन् ।

त्यसका साथै केही परोपकारी कामलाई समेत उनी बढावा दिइरहेका छन् । असन्तुष्ट बर्मेली नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीसँग उनी सम्बन्ध विस्तार गर्नमा जुटेका छन् । विश्वका बहुराष्ट्रिय कम्पनीका अधिकारीहरूसँग उनी दिनहुँजसो सुझाव लिइरहेका छन् । देशको अर्थतन्त्रलाई थप सुदृढ बनाउने प्रयासका रूपमा उनले यसो गरेका हुन् । धेरै मानिस म्यान्मारमा फैलिएको व्यापार साम्राज्यलाई फेरि उठाउने तयारी गरिरहेका छन् ।

तर, यो प्रयास राज्य पक्षमाथि निर्भर रहेको छ । त्यसका लागि प्रतिबन्धहरूको अन्त्य र विदेशी ब्रान्डहरूको नयाँ प्रतिस्पर्धाको अपेक्षा त्यहाँ गरिँदै छ । यसमा तेजाको योगदान पनि खुबै रहेको छ । त्यस्तै केही मानिस भने आफ्नो विरासतमा असर पुर्‍याउने सम्पत्तिलाई नयाँ व्यापारिक कारोबारमा लगाउन थालेका छन् । यसमा तेजा अग्रणी स्थानमा छन् । खासगरी खनिज उद्योग, काठ र पर्यटनमा उनले आफ्नो लगानी बढाउँदै लगेका छन् । तेजा आफू त व्यापारमा छँदै छन् । अन्त्यन्तै शान्त तरिकाले आफ्ना सन्ताहरूलाई पनि यो क्षेत्रमा ल्याइरहेका छन् । यसले दोस्रो पिँढीको अभिजात वर्गलाई बढावा दिरहेको पुष्टि पनि गर्छ । तर, यसलाई फराकिलो मानसिकताका लागि लिनुपर्ने तर्क धेरैको रहेको छ ।

सन १९६४ जुलाई १८ मा यांगुनमा जन्मेका तेजाले आफूलाई एकजना बर्मेली बिजनेस टाइकुनका रूपमा स्थापित गरिसकेका छन् । उनी हटु ग्रुप अफ कम्पनिज म्यान्मारका अध्यक्ष हुन् । मुलुकका पूर्वप्रमुख थान स्वेका अत्यन्तै नजिकका सहयोगीका रूपमा समेत काम गरेको आरोपलाई उनी खण्डन गर्न चाहन्छन् । त्यसका लागि उनी तत्पर देखिएका छन् । म्यान्मारको सैन्य सरकारको पालामा उद्योग मन्त्रालयका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्नेलका छ सन्तानमध्ये उनी सबैभन्दा कान्छा हुन् । उनले सन् १९९२ मा याङगुनको टीटीसीबाट कक्षा १० उत्तीर्ण गरेका थिए ।

सन् १९८२ मा डिफेन्स सर्भिस एकेडमीमा भर्ना भए । तर, तेस्रो वर्षमा पुग्दा नै उनले पढाइ छाडे । पढाइ छाड्नुको कारण उनले परिवारले नरुचाएकी थिन्डा जावसँग विवाह गर्नु रहेको थियो । दुइटै परिवार यो विवाहको विपक्षमा थिए । फोब्र्सले तेजालाई एसियामा म्यान्मारको पहिलो उद्यमीका रूपमा उल्लेख गरिएको छ । अखबारका अनुसार म्यान्मारको सबैभन्दा धनाढय तेजाको कुल सम्पत्ति ७ अर्ब अमेरिकी डलर (७ खर्ब ५९ अर्ब ८ करोड रुपैयाँ) रहेको छ ।

तेजाको प्रमुख व्यापार समूह हटु ग्रुप हो । उनका होल्डिङ कम्पनीहरूमा एयर ब्यागन, एसिया ग्रिन डेभलपमेन्ट बैंक, होटल्स (औरियम प्यालेस), खनिज उद्योग (निकेल, चुनढुंगा, सुन), निर्माण व्यवसाय र रियल स्टेट तथा निर्यात कारोबार (काठ, दाल र चामल) लगायतका छन् । उनी मालिक रहेका एयर ब्यागन मुलुकै पहिलो निजी क्षेत्रबाट सञ्चालित एयरलाइन्स हो ।

सन् २००६–२००७ मा हटु समूहलाई हटु होल्डिङमा विभाजन गर्दै निर्यात व्यापारमा समेत उनी सक्रिय भए । यो म्यान्मारकै ठूलो निजी निर्यातकर्ता कम्पनी हो । मुलुककै सबैभन्दा ठूलो निर्यातकर्तामा ६५ दशमलव १ मिलियन अमेरिकी डलरसहित उक्त कम्पनी पाँचौं स्थानमा थियो । यसो त उनले आफ्नो व्यापारिक करियर १९८० को दशकमा हटुबाट सुरु गरेका हुन् । सन् १९९० को दशकको सुरुमा उनले म्यान्मारको जंगलबाट काठ निकाल्न सुरु गरे ।

योसँगै उनी निर्माण, पर्यटन, संरचनाहरूको निर्माण परियोजना र मोबाइल फोन सेवामा समेत सक्रिय भए । पछि उनले एसिया ग्रिन डेभलपमेन्ट बैंकको स्थापना गर्दै बैंकिङ सेवामा हात हालेका हुन् । सन् २०१० मा त्यहाँको तानाशाह सैन्य सरकारले बैंकको अनुमति प्रदान गरेको थियो । उक्त बैंकलाई अमेरिकी सरकारले स्थापनाकालदेखि नै प्रतिबन्ध लगाएको थियो । तर, सन् २०१३ मा बैंकमाथिको प्रतिबन्ध हटयो ।

विभिन्न आरोहअवरोहका बाबजुद उनले धनाढयकै रूपमा आफूलाई स्थापित गरे ।

तेजा पूर्वसैनिक शासनमा हतियारको दलालीको काम गर्थे । रसियाबाट सैन्य हार्डवेयर खरिद गर्न म्यान्मारको तानाशाहलाई सहयोग गर्थे । उनो एयरलाइन्स एयर ब्यागनको मुख्य प्रायोजक ‘याङगोन युनाइटेड फुटबल क्लब’ रहेको छ । उनका छोरा अध्यक्ष रहेको उक्त क्लब म्यान्मारको नौवटा व्यावसायिक फुटबल क्लबमध्येको एक हो । क्लबले म्यान्मार नेसनल लिग (एमएनएल) को टाइटलसमेत जितिसकेको छ ।

सन् २००७ मा म्यान्मारको विभिन्न सहरका सडकमा जुन्ताविरुद्ध प्रदर्शन भएपछि तेजा र उनीद्वारा नियन्त्रित कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्ध लगायो । फोब्र्सले तेजालाई एकजना उदार मालिकका रूपमा सम्मान गरिसकेको छ । उनको कम्पनीले म्यान्मारमा ४० हजार पूर्णकालीन कर्मचारी उत्पादन गरिसकेको छ । उनले एक महिला पाइलटसहित सयौं कर्मचारीलाई अध्ययनका लागि विदेशसमेत पठाए ।

कुनै पनि कम्पनीले आफ्ना कर्मचारीहरूलाई विदेश पठाएर थप प्रशिक्षित र ऊर्जाशील बनाउनुपर्ने मान्यताका साथ उनी अगाडि बढे । त्यसमा उनी सफल भए । किनभने विदेशमा तालिम प्राप्त कर्मचारीले कम्पनीमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । उनी परोपकारी कार्यमा पनि उस्तै संलग्न रहँदै आएका छन् । ५ मे २००८ मा तेजाले हटु फाउन्डेसनको स्थापना गरी नर्गिस नामक चक्रवातबाट क्षतिग्रस्त बनेको अयरवाडीमा आपातकालीन सहयोग गर्दै त्यहाँ विद्यालय, अस्पताल र मठहरूको निर्माणमा ८ मिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका थिए ।

स्रोत : एजेन्सी

प्रकाशित : असार ९, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?