कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से १२ सय तल

यज्ञ बञ्जाडे

काठमाडौँ — काठमाडौं– सोमबार करिब १० अंकले घटेको बजार मंगलबार १५ अंकभन्दा धेरैले ओरालो लाग्यो । मंगलबारको गिरावटले सेयर कारोबार मापक नेप्से परिसूचक १ हजार २ सयभन्दा तल (१ हजार १ सय ९४.८०) झरेको छ । यो करिब करिब तीन महिनाअघिको अवस्था हो । गत चैत १२ गते नेप्से परिसूचक १ हजार १ सय ६८.६२ विन्दुमा थियो ।

नेप्से १२ सय तल

खासगरी नयाँ सरकार गठनपछि सेयर बजार अपेक्षित रूपमा बढ्न सकेको छैन । त्यसपछिका अधिकांश कारोबार दिन नेप्से घटिरहयो । बजार बढेका दिनमा पनि सानो अंकले सुधार देखिँदै आएको छ । पछिल्लो समयमा (आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि) नेप्से परिसूचक लगातारजसो घटिरहेको छ ।


बजेटभन्दा अघि परिसूचक घटेपनि उल्लेख्य रूपमा कारोबार हुँदै आएकाले लगानीकर्ता आशावादी देखिएका थिए । तर, पछिल्ला दिनहरूमा बजारमा कारोबार रकम पनि घटदो क्रममा छ । आइतबार यताका सबै कारोबार दिनमा कारोबार रकम १८ देखि २५ करोडको हाराहारीमा छ । परिसूचक घटेसँगै कारोबार रकमले पनि घट्न थालेपछि लगानीकर्ता त्रासमा देखिएको ब्रोकरहरू बताउँछन् ।


पछिल्ला दिनहरूमा सुन काण्ड, चिनी मिलले किसानको पैसा नतिरेको काण्ड, हुन्डी काण्डलगायतमा धेरै उद्योगी व्यवसायीहरूलाई सरकारले दु:ख दिएको तथा सम्पत्ति छानबिन गरिरहेको छ । सरकारको यो गतिविधिले केही ठूला लगानीकर्ता सेयर बजारमा लगानी विस्तार गर्न निरुत्साहित भएको जनाइएको छ । ‘उद्योगी व्यवसायीहरूको लगानी हवात्तै घटेको छ,’ एक व्यापारीले भने, ‘पछिल्ला दिनहरूमा सरकारबाट भएका गतिविधिले उनीहरू डराएको देखिन्छ ।’


पुँजी वृद्धिका कारण पछिल्ला दुई वर्षमा बजारमा धेरै कित्ता सेयर थपिएका छन् । तीमध्ये केही सेयर अझै सूचीकृत हुन बाँकी छ । यसकारण सेयर आपूर्तिको तुलनामा सेयरको माग कम छ । यसरी बजारमा माग र आपूर्तिबीच सन्तुलन मिल्न नसक्दा बजार चर्को दबाबमा छ । सेयर बजार लगातार रूपमा घट्न थालेपछि बैंकहरूबाट आउने ‘मार्जिन कल’ ले लगानीकर्ताहरूलाई थप तनाव दिएको अर्का एक ब्रोकरले बताए । ‘लगानीकर्ता निरास छन्, थप लगानी गर्ने आँट उनीहरूमा छैन,’ ती ब्रोकरले भने ।


आगामी आर्थिक वर्षको बजेटमा सेयर बजारमा सकारात्मक असर पार्ने कुनै कार्यक्रम आउन नसकेकाले मौद्रिक नीतिमा त्यस्ता कार्यक्रम आउलान् र बजार बढला भन्ने आशा लगानीकर्तामा नरहेको विज्ञहरू बताउँछन् । चालु आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च बढेसँगै बैंकहरूमा निक्षेप बढ्न थालेको जनाउँदै एक ब्रोकरले भने, ‘तरलता सहज भएपछि बैंकहरूमा ब्याजदर घटयो भने बजार बढ्न सक्छ ।’ यसैगरी नयाँ आर्थिक वर्षको सुरुवातसँगै स्टक एक्सचेन्जले विद्युतीय कारोबार प्रणाली सुरु गर्ने बताएको छ । यसले पनि बजारमा केही सकारात्मक प्रभाव पार्ने अनुमान ग्रिएको छ ।


मंगलबार सेयर बजार कारोबार भएदेखि नै घटेर बन्द भएको छ । १ हजार २ सय १०.१८ विन्दुबाट सुरु भएको बजार १५.२९ अंकले घटेर १ हजार १ सय ९४.८० विन्दुमा ओर्लेको छ । उक्त दिन होटल समूहको परिसूचक २.८१, उत्पादन तथा प्रशोधनको २.१६, लघुवित्तको २, बिमाको १.२८, बैंकिङको १.२४, विकास बंैकको १.०४, वित्त कम्पनीको ०.८६ प्रतिशतले घटे । करिब साढे ३ हजार कारोबारबाट १ सय ६० कम्पनीका २१ हजार ७ सय ९६ कित्ता सेयर किनबेच भए । ती करोबारबाट २३ करोड १० लाख रुपैयाँ परिचालन भएको नेप्सेले जनाएको छ ।


प्रकाशित : असार १३, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?