कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुलेखानीको जेनेरेटर नेपालीले बनाउने

प्रताप विष्ट

हेटौंडा — विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको विगत तीन सातादेखि बिग्रेको जेनेरेटर नेपाली प्राविधिकले मर्मत सम्भार गर्ने भएका छन् ।

कुलेखानीको जेनेरेटर नेपालीले बनाउने

फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिकले दुई साताअघि बिग्रेको जेनेरेटरको निरीक्षण गरेका थिए । उनीहरूले जेनेटरको मर्मत सम्भार गर्न १ करोड ३० लाख रुपैयाँ लाग्ने कोटेसन विद्युत् प्राधिकरणलाई दिएपछि प्राधिकरणका वरिष्ठ प्राविधिकहरूले थोरै लगानीमा र आफैंले छिटो मर्मत सम्भार गर्न सक्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले औपचारिक रूपमा प्राधिकरणकै प्राविधिकले नै मर्मत सम्भार गर्ने निर्णय गरिसकेको छैन । प्राधिकरणका प्राविधिकहरूले नै मर्मत सम्भार गर्ने लगभग टुंगो लागिसकेको कुलेखानी २ का एक वरिष्ठ प्राविधिकले बताए । प्राधिकरणका प्राविधिकले मर्मत सम्भार गरेमा रकम पनि कम खर्च हुने र छिटो पनि हुने दाबी उनले गरे । जापानी प्राविधिकहरूले मर्मत सम्भार गर्न तीन साता लाग्ने बताएका छन् ।

फुजी इलेक्ट्रिक कम्पनी जापानका चारजना प्राविधिकहरू आएर कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको युनिट २ को बिग्रेको जेनेरेटरका सबै पाटपुर्जाको निरीक्षण गरेर जापान फर्केका थिए । ती प्राविधिकहरूले मर्मत सम्भारको लागत र समय कोटेसन प्राधिकरणलाई आइतबार बुझाएका हुन् । तर, नेपाली प्राविधिकहरू आफैंले मर्मत सम्भार गर्न सक्ने बताएका छन् । विगतमा कुलेखानी २ जेनेरेटरको मर्मत सम्भार प्राधिकरणको प्राविधिकहरूले नै गरेका थिए ।

जापानको फुजी कम्पनीले नै कुलेखानी पहिलो र दोस्रोको जेनेरेटर जडान गरेको थियो । विगतमा मर्मत सम्भार उनीहरूले पनि गरेका थिए । आयोजनाका प्राविधिकहरूले चार दिन लगाएर जेनेरेटर खोलेका थिए । नेपाली प्राविधिकहरूले जेनेटर खोलेको यो पहिलो हो ।

कुलेखानी दोस्रोको युनिट २ को रोटरमा भएको ‘स्टपर रिङ’ भाँचिएकाले जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’ मा समस्या देखिएपछि गत जेठ २१ गतेदेखि १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । स्टपर रिङ र स्टेटर वाइन्डिङ फेरेमात्र जेनेरेटर सञ्चालनमा ल्याउन सकिने प्राविधिकहरूले जनाएका छन् । ‘कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको एउटा जेनेरेटर बिग्रेपछि कुलेखानी पहिलोको पनि एउटा मात्र जेनेरेटर सञ्चालन गरिएको छ । कुलेखानी पहिलोका २ वटा जेनेरेटर सञ्चालन गर्दा एउटाको पानी खेर जाने भएकाले एउटा मात्र जेनेरेटर सञ्चालन गरिएको हो ।

कुलेखानी दोस्रोको युनिट २ को २२ दिनदेखि जेनेरेटरमा समस्या आएकाले उत्पादन क्षमताको ५० प्रतिशत अर्थात् ४६ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको एउटा युनिट १६ मेगावाटको जेनेरेटर बिग्रेको छ ।

कुलेखानी दोस्रोको युनिट २ को ‘स्टेटर वाइन्डिङ’ को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । बाँकी ४६ मेगावाट उत्पादन गर्न सकिँदैन । कुलेखानी जलाशयको पानी खेर फाल्ने हो भने ७६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । जलाशयको पानी खेर फालेर विद्युत् उत्पादन गरिहाल्नुपर्ने अवस्था अहिले नभएको कुलेखानी दोस्रोका प्रमुख आभाष ओझाले बताए ।

‘एउटा युनिट बन्द भएको अवस्थामा पहिलो ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ,’ उनले भने । कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत्गृह सञ्चालन हुन्छ ।

दोस्रोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट तेस्रो कुलेखानी विद्युत् गृहबाट १४ मेगावाट विद्युत् निस्कन्छ । कुलेखानी ३ निर्माणाधीन अवस्थामा छ । केही महिनाभित्र काम सकिँदै छ ।

कुलेखानी आयोजना पहिलो र दोस्रो विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोस्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन जडान गरिएका छन् ।

कुलेखानीको पहिलो र दोस्रोबाट ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ । अहिले दुवै विद्युत्गृहका एउटा/एउटा मात्र टर्बाइन सञ्चालनमा छन् । वर्षा सुरु भएकाले खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको छ ।

‘यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदा पनि विद्युत् प्राधिकरणलाई खासै समस्या भएको छैन,’ प्राधिकरणका एक वरिष्ठ प्राविधिकले भने, ‘चैत–वैशाखमा भएको भए समस्या हुन्थ्यो ।’ कुलेखानी २ को जेनेरेटर बिग्रेका कारणले पिक समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न खासै समस्या नपरेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : असार १५, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?