कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८० अर्बका कपडा अवैध आयात

दुई अर्बभन्दा बढी लगानीको कपडा उद्योग बन्द
वार्षिक एक अर्ब मिटर खपतमध्ये ८० प्रतिशत अवैध आयात हुन्छ : संघ

काठमाडौँ — मुलुकमा करिब ८० अर्ब रुपैयाँ बराबरको कपडा अवैधानिक आयात हुने दाबी सरोकारवालाले गरेका छन् । नेपाल कपडा उद्योग संघका अनुसार वार्षिक १ अर्ब मिटर कपडा आवश्यक पर्छ ।

८० अर्बका कपडा अवैध आयात

जसअनुसार स्वदेशी उद्योगले वार्षिक ७ करोड मिटर उत्पादन गर्छन् । करिब १३ करोड मिटर वैधानिक रूपमा आयात भए पनि अन्य तस्करीको माध्यमबाट भित्रिएको संघको दाबी छ । ‘एक वर्षमा १ अर्ब मिटर कपडा आवश्यक पर्छ । यसमध्ये ८० प्रतिशत तस्करीको माध्यमबाट भित्रिन्छ,’ संघका अध्यक्ष अध्यक्ष शैलेन्द्रलाल प्रधानले भने, ‘एक मिटरको एक सय रुपैयाँको हिसाबले वार्षिक ८० अर्ब रुपैयाँँको कपडा अवैधानिक रूपमा भित्रिन्छ ।’ संघका अनुसार एउटा व्यक्तिले वार्षिक ३० मिटर कपडा प्रयोग गर्छ । त्यसका आधारमा उक्त तथ्यांक निकालेको संघले जनाएको छ ।

संघका अनुसार कपडा उत्पादन गर्ने करिब दुई सय उद्योग छन् । ८० वटा उद्योग ललितपुरको लुभूमा छन् । ती उद्योगहरूले ९५ प्रतिशत कटनका कपडा उत्पादन गर्छन् । बाँकी ५ प्रतिशत पोलिस्टर उत्पादन गर्छन् । यस्तै ललितपुरकै थैबुमा करिब ९० कपडा उद्योग छन् । ती उद्योगहरूले भने पोलिस्टर र सेन्थेटिक कपडा उत्पादन गर्दै आएको प्रधानले बताए । अन्य उद्योगहरू वीरगन्ज, विराटनगरलगायत क्षेत्रमा छन् । उद्योगबाट ३५ हजारले रोजगारी पाएको संघले जनाएको छ ।

ती उद्योगले स्कुल–कलेज कपडा, सरकारी अफिस, घरमा चाहिने तन्ना, सिरकको खोललगायत विभिन्न सुती, तन्नाहरू उत्पादन गर्दै आएको जनाइएको छ । कपडालाई चाहिने कच्चा पदार्थमा भने विदेशकै भर छ । संघका अनुसार पोलिस्टर र सेन्थेटिक ८० प्रतिशत आन्तरिक उत्पादन हुन्छ । कटन कपडाका लागि भने आयातमै निर्भर हुनुपरेको अध्यक्ष श्रेष्ठले बताए । ‘भारतको कानपुर, दिल्लीलगायतबाट आयात हुन्छ,’ उनले भने, ‘भारत र चीनबाट चोरेर आउने सामानसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ ।’

आर्थिक विकासमा उत्पादनमूलक उद्योगको भूमिका अहं रहेको जनाएको छ । उत्पादनमूलक उद्योगअन्तर्गत पहिलो आधारभूत उद्योगका रूपमा कपडा उद्योग पर्ने हुँदा सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने व्यवसायीहरू बताउँछन् ।

संघका अनुसार विगतमा स्थापना भएको हेटौंडा कपडा उद्योग, अन्नपूर्ण टेक्सटाइल, अशोक टेक्सटाइल, स्टार टेक्सटाइल, गणपति टेक्सटाइल, साह उद्योग, जगदम्बा टेक्सटाइल, पशुपति टेक्सटाइल एवं बालाजु कपडा उद्योगहरू बन्द छन् । ती उद्योगहरूमा २ अर्बभन्दा बढी लगानी थियो । ‘वार्षिक उत्पादन क्षमता ५ करोड मिटरभन्दा बढी थियो । कारोबार रकम वार्षिक ५ अर्बभन्दा बढी थियो,’ उनले भने, ‘विगतमा स्थापना भएका कपडा उद्योगहरू बन्द हुँदै जाने क्रम रहयो भने स्वदेशी तथा विदेशी लगानीमा उद्योगको स्थापना सम्भव छैन । कपडा उद्योगमा लगानी गर्ने अवस्था नरहेको स्पष्ट हुन्छ ।’

कपडा उद्योगको विकासले प्रत्यक्ष रोजगारीमा वृद्धि हुने, आयात प्रतिस्थापन हुने, विदेशी मुद्राको बचत हुने संघको दाबी छ । यस क्षेत्रको विकासले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा प्याकिङका लागि आवश्यक पर्ने वस्तु उत्पादन गर्ने उद्योग तथा कपडालाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने तयारी पोसाक उद्योग, जुत्ता उद्योगलगायतलाई पनि फाइदा हुने ससले जनाएको छ ।

संघका अनुसार आयातित कच्चा पदार्थले उत्पादन लागत बढेको छ । आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा अधिकांश उद्योग नोक्सानमा छन् । केही नगन्य मुनाफा गरी सञ्चालन गर्दै आएको संघले जनाएको छ । आधुनिक प्रविधिको अभाव पनि यस उद्योगको मुख्य समस्या रहेको अध्यक्ष प्रधानले बताए । आधुनिक प्रविधिमा आधारित मेसिनबाट कपडा उत्पादन गर्दा उत्पादन प्रतिलब्धि बढी हुन्छ । जनशक्तिमा मितव्ययिता हुने, ऊर्जाको खपत कम हुन्छ । तर, स्वदेशमा सञ्चालित अधिकांश कपडा उद्योगहरू परम्परागत पुरानो प्रविधिमा आधारित छन् । जसले गर्दा उत्पादन पनि गुणस्तरीय हुन सकेको छैन ।

प्रकाशित : असार १८, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?