कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास निर्माणमा असारे रोग

असार लागेपछि फिल्डमा काम गर्ने प्रवृत्ति रोकिनुपर्छ । यो महिना भनेको फरफारक गर्ने, भुक्तानी गर्ने हो, फिल्डमा गएर काम गर्ने होइन । - किशोर थापा, पूर्वसचिव
विमल खतिवडा

काठमाडौँ — वर्षा सुरु भएसँगै मुलुकभर विकास निर्माणको लहर चलेको छ । अविरल वर्षाकै बीच कतै सडक खन्दै गरेको त कतै पिच गर्दै गरेको दृश्य नौला लाग्न छाडिसकेका छन् । असार लागेपछि महिनौंदेखि रोकिएका निर्माणले गति लिने एक प्रकारको परम्परा बसिसकेको छ ।

विकास निर्माणमा असारे रोग

रकम ‘फ्रिज’ हुने डरले हतारमा ठेक्का सक्न निर्माण व्यवसायीबीच प्रतिस्पर्धा चल्छ । तोकिएको समयमा काम गर्न आलटाल गर्नेहरू असार लागेपछि बढी सक्रिय हुन्छन् ।

बजेट सक्ने यही हतारले काम भने गुणस्तरहीन हुने गरेको छ । हतारमा बनेका सडकका पिच केही दिनमित्रै उक्किने र भत्किने गर्छ । बजेट सक्न यातायात आवागमन नै प्रभावित हुने गरी निर्माणको काम गरिन्छ । ग्रामीण क्षेत्रमा बजेट सक्नकै लागि वर्षामा काम गर्दा पहिरोको जोखिम हुने गरेको छ । असारे विकासले मानवीय क्षतिसमेत निम्त्याइरहेको छ ।

वर्षामा काम गर्दा गुणस्तरहीन हुने भएकाले विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञ तथा व्यक्तिहरूले असारमा काम गर्ने प्रवृत्तिलाई पूर्ण रूपमा रोक्नुपर्ने सुझाएका छन् । ‘असार लागेपछि फिल्डमा काम गर्ने प्रवृत्ति रोकिनुपर्छ,’ पूर्वसचिव किशोर थापाले भने, ‘यो महिना भनेको फरफारक गर्ने, भुक्तानी गर्ने हो तर फिल्डमा गएर काम गर्ने होइन ।’ हातमा आएको बजेट किन फिर्ता गर्ने भन्ने प्रवृत्तिले जबर्जस्ती काम गर्दा टालटुले हुने गरेको उनले बताए ।

‘बजेट किन फ्रिज हुन दिने भन्ने हुन्छ । जसोतसो रकमान्तर गरेर हुन्छ वा टेन्डर गरेर हुन्छ बजेट सक्ने ध्याउन्न हुन्छ,’ उनले भने, ‘यो गर्नै नहुने काम हो, जनताले तिरेको करको दुरुपयोग हो ।’ उनले यसलाई रोक्न बहुवर्षीय ठेक्का लगाउनुपर्ने बताए । ‘बहुवर्षीय ठेक्कामा पहिलो वर्ष त्यसको तयारी, डिजाइन, सर्भे र स्टिमेट गरी टेन्डर गर्नुपर्छ । सबै कुरा तयार भएपछि अर्को वर्षदेखि बल्ल निर्माण थाल्दा राम्रो हुन्छ,’ उनले भने । अहिले विकास निर्माणको काम भनेको बजेट रित्याउने मात्र भएको उनले तर्क गरे ।

असार लागेपछि पनि सडकको टेन्डर आहवान गर्ने गरिएको छ । ‘वर्षामा काम गर्दा गुणस्तर हुँदैन,’ उनले भने, ‘त्यही भएर झरीमा काम गर्ने प्रवृत्ति सधैंका लागि रोकिन जरुरी छ ।’ विज्ञहरूले असार, साउन र भदौमा बढी पानी पर्ने भएकाले यी महिनामा विकास निर्माणका काम गर्न उपयुक्त नहुने बताएका छन् । ‘टेन्डर, ठेकेदार छनोट, लगत स्टिमेट तयार गरेर बजेट व्यवस्था गर्दै जाँदा मंसिरमा पुग्छ । बजेट निकासा भएर काम गर्दा असार लाग्छ, त्यही भएर बहुवर्षीय ठेक्कामा जानुको विकल्प छैन,’ उनले भने ।

सडक विभागका अनुसार २०७४/७५ को कुल बजेट ७४ अर्बमध्ये करिब ५२ अर्ब खर्च भइसकेको छ । विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार कुल बजेटको ६२ प्रतिशत खर्च भएको छ । उनी वर्षामा काम नगरेको दाबी गर्छन् । ‘सडक निर्माण र पिच गर्ने काम घरभित्र बसेर गर्ने होइन,’ उनले भने, ‘खुला रूपमा गर्ने हो, पानी पर्दा कसरी काम गर्न सकिन्छ ?’ उनले पानीमा पिच गर्दा गुणस्तरीय नहुने भएकाले त्यस्तो काम नहुने दाबी गरे । ‘वर्षामा गर्न सकिने काम मात्र गर्ने हो,’ उनले भने, ‘गर्न नमिल्ने काम हुँदैन, त्यो गर्दा ठेकेदार आफैंलाई घाटा हुन्छ ।’ लक्ष्यको ९० प्रतिशत काम सम्पन्न भएको गौतमको दाबी छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेल पुरानो संस्कार र काम गर्ने शैलीमा परिवर्तन नल्याउँदासम्म असारे रोग नसकिने बताउँछन् । ‘कार्यक्रम स्वीकृत गर्ने र अख्तियारी दिने हाम्रो प्रक्रिया संरचना छ, त्यसलाई परिवर्तन नगरी हुँदैन,’ उनले भने, ‘नयाँ डिजाइन नभएका कार्यक्रमलाई कार्यान्वयन गर्नेमा राख्नु भएन, पुल–बाटो बनाउँदा डिजाइन भएको छ भने मात्र त्यसलाई बजेटमा एलोकेट गर्नुपर्छ ।’

उनले मंसिरमा कार्यक्रम बनाएर फागुनमा टेन्डर गर्दा वैशाखमा सम्झौता हुने र ठेकेदारले असारमा आएर काम थाल्दा यस्तो समस्या आएको बताए । ‘यस्तो अवस्थामा जस्तो काम गरे पनि हतारमा हुन्छ, कन्स्ट्रक्सनको काम नियमित नहुँदा ज्याला/मजदुरी गर्नकै लागि खाडी मुलुक जानुपर्ने बाध्यता कामदारलाई छ, २ महिनाका लागि काम गर्न को बस्छ ?’ उनले भने, ‘त्यही भएर कामदारको अभाव हुने गरेको छ, संघीय, प्रदेश र स्थानीय सरकारले मंसिरभन्दा अघि नै वार्षिक योजना तथा कार्यक्रम खरिद योजना गर्‍यो भने पुसमा कन्ट्रयाक्ट गर्ने सबै प्रक्रिया सकिएर माघदेखि जेठसम्ममा काम गर्न सजिलो हुन्छ ।’

वैशाखमा टेन्डर गरेर काम गर्दा असार लाग्ने भएकाले पुरानो शैली फेर्नुपर्ने तर्क विज्ञहरूको छ । ‘बजेट विनियोजन गर्ने गरी कार्यक्रम डिजाइन गर्ने र कन्ट्रयाक्ट गर्ने ठेकेदारहरूको काम ६ महिनाअघि नै सक्नुपर्ने हुन्छ,’ उनले भने, ‘खेतीपाती तिहारपछि सकिन्छ, हिउँदमा सुदूरपश्चिम तराईलगायतका जिल्लाबाट मजदुरीका लागि भारत पुग्नुपर्ने बाध्यता छ । यहाँ काम नपाएर समस्या भएको हो ।’

दसैं–तिहारपछि काम सुरु भए कामदारको अभाव नहुने उनले दाबी गरे । १२ महिनाको अवधिमा पहिलो ६ महिनामा सम्पूर्ण विनियोजन गर्ने काम सकिसक्नुपर्ने उनले बताए । निर्माण व्यवसायीको पनि क्षमताभन्दा धेरै काम लिने प्रवृत्तिले गर्दा पनि हतारमा काम सक्ने प्रतिस्पर्धा चल्ने गरेको उनले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा असार मसान्तपछि पैसा फ्रिज हुने डरले हातरमा काम गर्ने प्रवृत्ति भएको बताउँछन् । ‘जेठ १५ मै बजेट आएपछि असार १ गतेबाट फिल्डमा गएर गर्ने काम रोक्नुपर्छ, यस्तो कार्यलाई रोकेर भएका कामको भुक्तानी गर्ने, फिल्डमा गएर हेर्ने काम मात्र गर्नुपर्छ,’ उनले भने, ‘असार महिनामा काम नगर्ने, गरेको कामको मात्र व्यवस्थापन गर्न सकिए राम्रो हुने थियो ।’

सडक विभागमा टेन्डर भएका योजना मात्र पूरा गर्न अहिले विनियोजन भएको बजेटले ५ वर्ष लाग्ने अनुमान छ । ‘योजना थपिएका थपियै छन्, बजेट घटदो छ,’ एक विज्ञले भने, ‘योजना छनोटमा प्रक्रिया पूरा गरिएको छैन, संसद्बाट एकपटक पास भइसकेका योजनामा बीचबीचमा घुसाउँदै थप्ने काम बन्द गर्नुपर्छ ।’

उनका अनुसार करिब २ खर्ब ८१ अर्ब बहुवर्षीय ठेक्कामा बसेको छ । करिब ३ खर्बको दायित्व सडक विभागले बोकेको छ । उसलाई अहिले एक खर्ब पनि बजेट विनियोजन भएको छैन ।

प्रकाशित : असार २३, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?