कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछापालन थप ६० हेक्टरमा विस्तार

विराटनगर — प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मोरङमा दुई वर्ष अवधिमा थप ६० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार भएको छ । गत वर्ष ४५ हेक्टर र यस वर्ष १५ हेक्टरमा गरिएको छ ।

माछापालन थप ६० हेक्टरमा विस्तार

मोरङलाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले दस वर्षीय माछा जोन परियोजना सञ्चालन गरेको छ । त्यसका लागि सरकारले गत वर्ष १७ करोड ६८ लाख रुपैयाँ खर्च गरी थप ५ सय हेक्टरमा किसानलाई व्यावसायिक रूपमा माछापालनतर्फ आकर्षित गर्ने तयारी गरेको थियो । तर, गत वर्ष ४५ हेक्टरमा मात्र माछापालन विस्तार हुँदा करिब १५ करोड रुपैयाँ फिर्ता भएको थियो ।

‘यस वर्ष परियोजनाअन्तर्गत २ करोड रुपैयाँ विनियोजन भएको छ,’ परियोजना प्रमुख नुनुलाल उराँवले भने, ‘उक्त रकममार्फत थप १५ हेक्टरमा माछापालन विस्तार भएको हो ।’ उनका अनुसार आउँदो आर्थिक वर्ष थप ५० हेक्टरमा यसको विस्तार गर्ने परियोजनाको लक्ष्य छ ।

किसानलाई व्यावसायिक माछापालनमा आकर्षण गर्न प्रतिहेक्टर पोखरी खन्न सरकारले ३ लाख रुपैयाँ अनुदान दिएको छ । परियोजनाले मोरङको कटहरी र धनपालथान गाउँपालिका र रंगेली नगरपालिकालाई माछा विकास क्षेत्र घोषणा गरेर परियोजना सञ्चालनमा ल्याएको छ ।

परियोजनाअन्तर्गत गत वर्ष ५१ जना किसानले ४५ हेक्टरमा १ सय ४७ वटा नयाँ पोखरी खनेर व्यावसायिक माछापालन सुरु गरेका थिए । त्यसका लागि परियोजनाले किसानलाई १ करोड ३५ लाख रुपैयाँ अनुदान दिएको थियो । दस वर्षमा ५ सय हेक्टरमा नयाँ पोखरी खनेर व्यावसायिक रूपमा माछापालन सुरु भएपछि मोरङ माछामा आत्मनिर्भर हुने परियोजनाको दाबी छ ।

मोरङमा अहिले प्रतिहेक्टर सरदर ४ टनका दरले माछा उत्पादन हुँदै आएको छ । परियोजनाले यसमा सुधार गरेर प्रतिहेक्टर ६ टनसम्म पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रकाशित : असार २४, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?