कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पकेट क्षेत्रकै आलुमा ऐँजेरु

गोरखा — लेकाली बस्तीको मुख्य खाद्य बाली र आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको आलु यस पटक ऐँजेरु पलाउने र कुहिने भएपछि किसान चिन्तित छन् । धार्चे ४ को लाप्राक र ५ को गुम्दामा आलु बारीमै कुहिएको छ ।

पकेट क्षेत्रकै आलुमा ऐँजेरु

आलु उत्पादनको पकेट क्षेत्र मानिने उक्त ठाउँमा ऐँजेरु रोगले आलु सखाप पारेको कृषकले बताए । दुर्गम भेगका यी ठाउँमा मुख्य खाद्य बाली आलु नै हो । ‘रोग र असिना पानी दुवैले बिगार्‍यो,’ गुम्दाका धनप्रसाद गुरुङले भने, ‘पोहोर पाँच रोपनीमा झन्डै १२ मुरी आलु फलेको थियो । योपल्ट त्यही जग्गामा पाँच मुरी पनि फलेन ।’ उत्पादित आलुमा पनि कीरा लागेको उनले बताए । गत वर्ष गुम्दाको आलु भनेपछि गाउँमै बाहिरका व्यापारी आएर किनेर लगेकामा योपल्ट स्थानीयलाई नै नपुग्ने स्थिति आएको उनले बताए ।

मंसिर–पुसमा लगाएको आलु जेठदेखि साउनसम्म खनेर झिकिन्छ । वर्षको दुई बाली मात्रै खेती हुने गुम्दामा आलु खनेपछि सिलाम र कोदो लगाउने गरिन्छ । यहाँ धान फल्दैन । खाजा र खानाका रूपमा पनि कतिपयले आलु खाएरै गुजारा चलाउने गरेका छन् । गुम्दा गाउँकै मात्र दुई सय घरधुरीले लगाएको आलुको उत्पादन यो वर्ष ह्वात्तै घटेको उनले बताए । गत वर्ष यहाँको आलु पाथीको १ सय ५० देखि दुई सय रुपैयाँसम्ममा किनबेच भएको थियो ।

स्वादिलो हुने भएकाले लेकको आलुको पहिचान जिल्लामा छुट्टै छ । चिसो हावापानीमा फल्ने आलु तल्लो क्षेत्रका स्थानीयहरूले पनि रुचाउने गरेको गुरुङले बताए । तल्लो क्षेत्रका बजारमा आलु बेचेर चामललगायत खाद्यान्न किनेर गुम्दा र लाप्राकका स्थानीय फर्कने चलन पुरानै हो ।

लाप्राकको आलुमा ०६८ बाट ऐँजेरुको रोग देखापरेको स्थानीय जितबहादुर गुरुङले बताए । ‘७२ सालसम्म ऐँजेरु रोगले आलु सखाप नै पार्‍यो । तीन वर्षयता केही किसानले बीउ साटेर लगाएका छन्,’ उनले भने, ‘पहिलेभन्दा त राम्रो फलेको छ तर सोचेजस्तो भएन ।’ गुम्दा र लाप्राकका सबैजसो स्थानीय मुख्य खाद्य बालीका रूपमा आलु खेती गर्ने गर्छन् ।

प्रकाशित : असार ३१, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?