कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढल्केबर सबस्टेसनको स्तरोन्नति

पूर्ण क्षमतामा सञ्चालन हुन अझैं केही दिन लाग्ने
भारतसँग विद्युत् आयात–निर्यात सहज हुने
विजय तिमल्सिना

काठमाडौँ — ढल्केबर सबस्टेसनका दुवै ट्रान्सफर्मर २२० किलोभोल्ट क्षमतामा चार्ज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हालै स्तरोन्नति गरिएको ढल्केबर नेपालमा सबैभन्दा धेरै क्षमताको सबस्टेसन हो । यसअघि यो सबस्टेसन क्षमता १३२ केभीए थियो ।

ढल्केबर सबस्टेसनको स्तरोन्नति

अब मुजफ्फरपुरतर्फ प्राविधिक प्रक्रिया पूरा गरी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनलाई २२० केभीए क्षमतामा सञ्चालन गर्न सकिने प्राधिकरणले जनाएको छ । सबस्टेसन आयोजनाका लागि प्राधिकरणका तर्फबाट आयोजना प्रमुख राधेशरण महतोले दुवै ट्रान्सफर्मर चार्ज भएको जानकारी दिँदै सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै दुई साता लाग्ने जानकारी दिए । ‘हामीले केही प्रक्रिया पूरा गर्न बाँकी छ, हाम्रातर्फको तयारी पूरा गरी भारतीय पक्षलाई जानकारी दिन्छौं,’ उनले भने, ‘त्यसपछि यो पूरा क्षमतामा सञ्चालनमा आउँछ ।’

ढल्केबर सबस्टेसनमा राखिएको १६० एमभीएका दुई ट्रान्सफर्मरमध्ये एउटा शनिबार र अर्को सोमबार चार्ज गरिएको हो ।

अन्तरदेशीय र आन्तरिक विद्युत् प्रसारणका लागि हब मानिएको ढल्केबर सबस्टेसन लक्ष्यभन्दा करिब तीन वर्ष ढिला गरी निर्माण सम्पन्न भएको हो । यसको स्तरोन्नतिसँगै भारतसँग बढी परिमाणमा विद्युत् आयात–निर्यात गर्न सकिने प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार अहिले भारतको मुजफ्फरपुरबाट १३२ केभीए क्षमतामा विद्युत् आयात भइरहेको छ । मुजफ्परस्थित ट्रान्सफर्मरलाई पनि २२० केभीएमा चार्ज गरेपछि भारतसँग २२० किलोभोल्ट क्षमतामा विद्युत् आयात निर्यात गर्त सकिनेछ । भारतीय प्रणालीमा भएको सीमितताले गर्दा अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट २५० देखि २७० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ ।

ढल्केबर सबस्टेसनका दुवै ट्रान्सफर्मर चार्ज भइसकेको भए पनि प्राविधिक व्यवस्था मिलाउन केही दिन सबस्टेसन बन्द गर्नुपर्ने अधिकारीले जानकारी दिए ।

प्राधिकरणले दुई ट्रान्सफर्मर भाडामा लिएर सबस्टेसनलाई १३२ केभीए क्षमतामा सञ्चालन गरिरहेको थियो । अब भाडामा लिइएका ती ट्रान्सफर्मर आवश्यक नपर्ने अधिकारीले जानकारी दिए ।

प्राधिकरणले अहिले यो प्रसारण लाइनबाट करिब एक सय मेगावाट विद्युत् आयात गरिरहेको छ । यो प्रसारण लाइनबाट १२० मेगावाट विद्युत् आयातका लागि प्राधिकरणले सम्झौता गरेको थियो । अहिले नेपालको आन्तरिक उत्पादन बढेका कारण भारतबाट कम विद्युत् आयात गरिएको हो ।

ढल्केबर सबस्टेसन २२० केभीए क्षमतामा सञ्चालनमा आएपछि भारतबाट सुक्खायाममा थप विद्युत् ल्याउन सहज हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यो सबस्टेसनलाई भारतसँगको विद्युत् आयात निर्यातका लागि मुख्य हबका रूपमा हेरेको छ ।

‘नेपाल विद्युत् ल्याउने मात्रै नभई यही प्रणालीको प्रयोग गरी वर्षायाममा रन अफ दि रिभर प्लान्टबाट उत्पादन भएको बढी ऊर्जा भारतीय बजारमा पनि पठाउन सकिन्छ,’ अधिकारीले भने ।

दुई वर्षभित्र प्रसारण लाइनलाई ४ सय केभीएमा स्तरोन्नति गर्ने प्राधिकरणको योजना छ । यो प्रसारण लाइन ४ सय केभीएमा स्तरोन्नति भए एक हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिनेछ ।

प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग दुई देशबीचको इनर्जी बैंकिङका लागि छलफल चलाइरहेको छ । नेपालमा वर्षायाममा बढी हुने विद्युत् भारतलाई दिने र सुक्खायाममा आवश्यक पर्दा नेपाल ल्याउने गरी प्राधिकरणले भारतीय पक्षलाई प्रस्ताव गरेको छ । भारतीय पक्षले इनर्जी बैंकिङको मोडालिटीको मस्यौदा तयार पारिरहेको अधिकारीले जानकारी दिए ।

२०७१ जेठ २९ मा चिनियाँ कम्पनी सीसीपीजीसँग सबस्टेसन निर्माणको सम्झौता भएको हो । सम्झौताअनुसार १५ महिनाभित्र सबस्टेसन निर्माण सक्नुपर्ने भए पनि चिनियाँ ठेकेदारले ढिलाइ गरेपछि प्राधिकरणले अन्तिम समयमा ठेक्का तोडेको थियो ।

निर्माण सम्पन्न गर्ने म्याद पटकपटक नाघेपछि प्राधिकरणले गत असोजमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता तोडी भारतीय कम्पनी टेल्मसलाई दिएको थियो ।

चिनियाँ ठेकेदारले ९० प्रतिशतभन्दा बढी काम गरिसकेको आयोजना भारतीय कम्पनीले ठेक्का लिएको हो ।

प्रकाशित : श्रावण १, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?