कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

प्लास्टिक विरोधी अभियानमा एडिडास

एजेन्सी

काठमाडौँ — विश्वको चर्चित स्पोर्टवेयर निर्माता ‘एडिडास’ ले प्लास्टिकविरुद्धको लडाइँमा आफ्नो सहभागिता जनाएको छ । अमेरिकी समाचार संस्था ‘सीएनएन’ का अनुसार कम्पनीले सन् २०२४ सम्म रिसाइकल्ड (पुनर्प्रयोग गर्न सकिने) प्लास्टिकको उपयोग गर्ने प्रतिबद्धता सोमबार जनाएको छ ।

प्लास्टिक विरोधी अभियानमा एडिडास

यो प्रतिबद्धताले पोलिस्टरसहितका ‘भर्जिन’ प्लास्टिकको प्रयोग निस्तेज हुने बताइएको छ । चाँडै सुक्ने र हलुकासमेत हुने भएकाले टिसर्ट्सदेखि स्पोर्ट्स ब्रासलगायतका स्पोर्टसवेयरमा यसको प्रयोग धेरै हुने गर्छ ।


प्राकृतिक ग्यास या कच्चा तेललगायत पेट्रोकेमिकल (पेट्रोलियम रसायन) बाट बनाइने प्लास्टिक नै ‘भर्जिन’ हो । यसलाई पुन: प्रयोग या रिसाइकल्ड गर्न मिल्दैन । ‘एडिडास’ ले आफ्नो कार्यालय, खुद्रा आउटलेट्स, वेयरहाउसेस र वितरण केन्द्रहरूमा यस प्रकारको प्लास्टिक प्रयोगमा रोक लगाउने जनाएको छ ।


कम्पनीले अगामी वर्षको वसन्त र शरद ऋतुमा आफ्ना उत्पादनहरूका लागि ४१ प्रतिशत रिसाइकल्ड पोलिस्टर प्रयोग गर्ने योजनाका साथ अघि बढेको बतायो । ‘सीएनएन’ का अनुसार सन् २०१८ मा सुरु यो अभियानले प्रतिवर्ष करिब ४० टन प्लास्टिक बजारमा जानबाट रोकिनेछ ।


‘एडिडास’ को पछिल्लो प्रतिबद्धता विश्वका ठूला कम्पनीले प्लास्टिकको प्रयोग कम गर्ने शृंखलाबद्ध अभियानको एउटा कडी हो । यसअघि स्टारबक्स (एसबीयूएक्स) ले आफ्ना स्टोरहरूबाट प्लास्टिक स्ट्रहरू हटाउने जनाइसकेको छ । त्यस्तै म्याकडोनल्डले बेलायत र आयरल्यान्डमा योसँग सम्बन्धित प्रशिक्षणहरू दिइरहेको छ ।


‘आइकिया’ ले आफ्ना स्टोर्स र रेस्टुरेन्ट्सबाट सिंगल युज प्लास्टिक हटाइसकेको छ । जर्मन कम्पनीले समेत प्लास्टिकको फोहरबाट बनाइने ‘पार्ली’ जुत्ताहरूको बिक्री बढाउने उद्घोष गरेको छ ।


विश्वभर ५० वर्षयता प्लास्टिकको प्रयोग २० गुणाले बढेको र यो क्रम जारी रहे अगामी २० वर्षमा यसको पनि दोब्बर हुने बताइएको छ । विश्वभरि १४ प्रतिशत मात्रै संग्रहित प्लास्टिकलाई ‘रिसाइकल्ड’ गरिन्छ । प्लास्टिकले वातावरणमा प्रदूषण फैलाएको भन्दै यसको न्यूनीकरण गर्न विश्वव्यापी अभियान चलाइएको छ ।


प्रकाशित : श्रावण २, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?