कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजना छैन रारामा

रारा (मुगु) — कर्णाली प्रदेश सरकारले २०७५ लाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । वैशाख १ गते रारामै पुगेर प्रधानमन्त्रीले पर्यटन वर्षको घोषणा गरेका थिए । घोषणाको पूर्वसन्ध्यामा कर्णाली प्रदेश सरकारको बैठक बसेर कर्णाली पर्यटन विकास प्राधिकरण स्थापनाको निर्णयसमेत पारित गर्‍यो । संघीय र प्रदेश सरकारले स्पष्ट योजना भने बनाएका छैनन् ।

योजना छैन रारामा

प्रदेश सरकारले वर्षभरि पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । गुरुयोजना र स्पष्ट विकास खाकाबिनै सरकारले लक्ष्य निर्धारण गर्नु जायज नभएको प्रदेश सांसद धर्मराज रेग्मी बताउँछन् । ‘तत्काल गुरुयोजना बनाएर कुन समयमा के–के गर्ने भन्नेबारे स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘राराको कुन क्षेत्रमा के राख्ने भन्ने स्पष्ट योजना चाहिन्छ ।’ उनले होटल, सुरक्षा पोस्ट, मनोरञ्जनस्थल, साइकल लेन, घोडा सवार लगायत क्षेत्र छुटयाएर सुन्दरतामा असर नपर्ने गरी विकास गर्न जरुरी रहेको बताए । पर्यटकले रारामा लामो समय बिताऊन् भन्नका लागि पूर्वाधार विकास जरुरी रहेको उनको भनाइ छ ।

पूर्वाधार अभावका कारण रारा पुग्ने पर्यटक स्तरीय होटलको अभावमा चौरमा टेन्ट राखेर रात बिताउनुपर्ने बाध्यता छ । रारा ताल किनारमा डाँफे गेस्टहाउस र भिलेज हेरिटेज रिसोर्ट गरी दुई होटल सञ्चालनमा छन् । दुवैको क्षमता एक सयभन्दा बढी पर्यटक अटाउन सक्ने छैन । रारा हुटुदेखि १५ मिनेट टाढाको माँझघट्टमा होमस्टेको व्यवस्था गरिए पनि अधिकांश पर्यटक त्यहाँ जान रुचाउँदैनन् ।

लामाचौर, माँझघट्ट, बजेडीलगायत स्थानमा साना दुई दर्जनभन्दा बढी होटल भए पनि घुम्न आएका पर्यटक हुटुमै जाने गरेका छन् । सुविधायुक्त होटलको समस्याले विशिष्ट व्यक्तिलाई हुटुस्थित नेपाली सेनाको गेस्ट रुममा राख्ने गरिएको छ । ‘होटलको क्षमताभन्दा बढी पर्यटक आएमा कहाँ सुताउने भन्ने समस्या हुन्छ,’ भिलेज हेरिटेज रिसोर्टका म्यानेजर दीपक रावतले भने, ‘राम्रो बास नभएको भन्दै अधिकांश पर्यटकले गुनासो गर्ने गरेका छन् ।’

रारामा अहिले दुईवटा मात्र रबरका डुंगा छन् । ताल वरपर निर्माण भएका चार भ्यु टावर जीर्ण छन् । ‘पर्यटन वर्ष उद्घाटनपछि न त कुनै पूर्वाधार निर्माणमा सर्भे भयो, न केही विकासको पहल,’ रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायाले भने, ‘बरु राराको पर्यावरण नै संकटमा पर्न थालेको छ ।’

माथिल्लो मिलिचौरमा पाँचवटा सुविधायुक्त होटल सञ्चालन गर्ने भन्दै चार उद्योगीले १२ सय रोपनी जग्गा भाडामा लिएर चार करोड लगानी गर्ने जनाएका थिए । लगानीको पर्याप्त वातावरण नभएपछि होटल स्थापना गर्न नसकिएको उनीहरूको भनाइ छ ।

पर्यटक आकर्षित भएनन्
रारामा पर्याप्त पूर्वाधार अभावका कारण पर्यटक आकर्षित हुन सकेका छैनन् । सडक र हवाई यातायातको समस्याका कारण पर्यटकको ध्यान रारामा जान नसकेको हो । रारामा विदेशी पर्यटकलाई आकर्षित गर्ने कुनै प्याकेज छैन ।

अघिल्लो वर्ष करिब १२ हजार र यो वर्ष ८ हजार आन्तरिक पर्यटक रारा घुम्न आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । रारामै बसेर रमाउन चाहे पनि होटल समस्याका कारण त्यहाँ पुगेका पर्यटक एक दिनभन्दा बढी बस्न सक्ने अवस्था छैन ।

वर्षमा मुस्किलले एक सयजना मात्र विदेशी पर्यटक यहाँ आउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । विद्युत्, इन्टरनेट र सञ्चार असुविधाका कारण पनि पर्यटक धेरै दिन रारामा टिक्न नसकेका हुन् । नाग्म–गमगढी सडकको लामो समयदेखि स्तरोन्नति हुन नसक्दा पर्यटकलाई आउजाउमा समस्या हुने गरेको छ । कच्ची सडक भएकाले सधै हिलाम्मे र धुलाम्मे हुने गरेको छ । वर्षायाममा यहाँ आउने पर्यटकको संख्या न्यून छ । अरू समयमा सडक मार्ग भएर आउने पर्यटकसमेत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

हवाई मार्गबाट आउने पर्यटकको संख्या करिब शून्यजस्तै छ । नेपाल वायुसेवा निगमले रारामा सातामा एक उडान भर्ने गरेको छ, त्यो पनि नियमित नभएको पर्यटन विकास समितिका अध्यक्ष रोकायाले बताए । निजी हवाई कम्पनीले पनि उडान गर्न नमानेको उनले जनाए । ‘दैनिक एक सयजना पर्यटक जहाजमार्फत रारा जान्छु भन्दा जान पाउँदैनन्,’ रोकायाले भने, ‘सरकारले फयुलमा केही अनुदान दिए हवाई मार्गबाट विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’ रारामा भदौदेखि मंसिरसम्म पर्यटक घुम्नका लागि राम्रो सिजन मानिन्छ । सिजनको बेला दैनिक दुई हजारसम्म पर्यटक रारामा आउने गरेका छन् ।

बर्सेनि बजेट फ्रिज
गुरुयोजना अभावकै कारण राराको विकासका लागि आएको बजेट बर्सेनि फ्रिज जाने गरेको छ । गत वर्ष छायानाथ–रारा नगरपालिकाले रारादेखि मुर्मागाउँ जोड्ने सडकका लागि ५७ लाख रुपैयाँ छुटयाएको थियो । विस्तृत वातावरणीय प्रभाव परीक्षण हुन नसक्दा उक्त रकम फ्रिज गएको छ ।

पर्यटन बोर्डबाट नगरपालिकामार्फत पूर्वाधार विकास योजना कार्यान्वयन गर्ने गरी विनियोजन भएको २५ लाख रकमसमेत यस वर्ष फ्रिज गएको छ । त्यस्तै गुरुयोजना बनाउन संघीय पर्यटन मन्त्रालयले गत वर्ष १० लाख रकम विनियोजन गरेको थियो । त्यसले नपुग्ने भएपछि उक्त रकमसमेत फ्रिज गएको छ । ‘राराको गुरुयोजना निर्माणका लागि कम्तीमा एक करोड रुपैयाँ चाहिन्छ,’ अध्यक्ष रोकायाले भने, ‘सरकारले सामान्य पर्यटकीय क्षेत्रलाई छुटयाएजस्तो केही लाखमा गुरुयोजना बनाउन खोज्छ र बर्सेनि रकम फ्रिज जाने गरेको छ ।’ यसअघि पनि विभिन्न पूर्वाधार विकासका लागि आएको बजेट फ्रिज जाने गरेको उनले जनाए ।

प्राधिकरण गठन गर्न माग
राराको गुरुयोजना निर्माण र दिगो विकासका लागि राराको लागि मात्रै अधिकार सम्पन्न प्राधिकरण गठन गरी कार्यान्वयनमा जान संरक्षणकर्मीले माग गरेका छन् । ‘कर्णाली प्रदेश सरकारले कर्णाली पर्यटन विकासका लागि एकमुष्ट रूपमा प्राधिकरण गठनको प्रस्ताव गरेको छ,’ संरक्षणकर्मी नन्दसिंह रोकायले भने, ‘राराको दिगो विकासका लागि राराको मात्रै अधिकार सम्पन्न प्राधिकरण गठन गर्न जरुरी छ ।’

प्राधिरणमार्फत एकद्वार प्रणालीबाट पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ । उनले संघीय सरकार मातहतको प्राधिकरण गठन गरे मात्र राराको विकासले गति लिने बताए । रारा निकुञ्जले आफूखुसी काम गर्ने गरेकाले पनि पर्यटन विकासका क्रियाकलाप प्रभावित भइरहेका छन् । रारालाई केन्द्रबिन्दुमा राखेर कर्णालीका विभिन्न पर्यटकीय स्थलहरू काँक्रेविहार, दुल्लु, चन्दननाथलगायतको प्याकेज बनाउन सरकारले पहल गर्नुपर्ने उनले जनाए । ‘यदि सकिँदैन भने प्रदेश सरकारले कानुन बनाएर रारामा तत्काल पर्यटन विकासका काम गर्न जरुरी छ,’ उनले भने, ‘नत्र पर्यटन वर्ष घोषणाको अर्थ हुँदैन ।’

स्थानीयको सक्रियता
सरकारीस्तरबाट राराको विकासका लागि लगानी न्यून भए पनि स्थानीयबासीको सक्रियतामा रारामा दुई सुविधा सम्पन्न होटल स्थापना गरिएको छ । त्यस्तै माझघट्टमा १२ होटल सञ्चालनमा छन् । सबैमा दैनिक चार सयजनालाई एक दिनमा खान बस्ने सुविधा छ । रारामा आउने पर्यटकलाई अर्गानिक स्थानीय खानाको व्यवस्था गरिएको संरक्षणकर्मी रोकायाले बताए ।

एक सयभन्दा बढी घोडामार्फत आसपासका गाउँमा घुम्ने व्यवस्थासमेत स्थानीयकै सक्रियतामा भएका छन् । त्यस्तै दुई डुंगामार्फत पर्यटकलाई तालमा घुम्ने व्यवस्था मिलाइएको छ । स्थानीयकै सक्रियतामा रारा ताल वरिपरि साइक्लिङको व्यवस्था गर्न थालिएको छ । मुर्मा, झयारी, ताल्चालगायत स्थानमा समेत पर्यटकका लागि होटल सञ्चालन गरिएका छन् ।

पर्यावरणीय संकट
गुरुयोजनाकै अभावमा रारा ताल वरपर फोहोर व्यवस्थापन हुन नसक्दा राराको पर्यावरण जोखिममा पर्दै गएको छ । त्यस्तै जथाभावी चरनका कारण र बढदो मानवीय क्रियाकलापले पनि समस्या भइरहेको संरक्षणकर्मीको भनाइ छ ।

स्थानीयले जथाभावी पशु चौपाया छाड्ने गरेपछि रारा ताल वरपर फुल्ने विभिन्न फूल तथा जडीबुटी मासिन थालेका छन् । ‘छाडा पशुका कारण शौच तालमा मिसिन थालेको छ,’ रोकायाले भने, ‘जसले राराको जैविक विविधतामा समेत असर पारिरहेको छ ।’ जथाभावी चरनका कारण वन्यजन्तुसमेत माथिल्लो क्षेत्रमा जान थालेको रोकायाले बताए । उनका अनुसार मृग, कस्तुरी, रेडपाण्डा, रतुवा र चराचुरुङ्गी उच्च लेकाली क्षेत्रमा सर्न थालेका हुन् । घरपालुवा पशुका कारण निकुञ्ज क्षेत्रका निगाला, बुकी, कुसलगायत वनस्पति नष्ट हुन थालेको रोकायाले जनाए ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?