कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनले हराउन सक्छ अमेरिकालाई !

द्विदेशीय व्यापार युद्ध
एजेन्सी

काठमाडौँ — अमेरिकाले चीनसँगको व्यापार युद्ध झन् चर्काउने संकेत गरिरहेको छ । आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाइसकेको छ । भविष्यमा भन्सार शुल्क बढाउन सकिने २ खर्ब डलर बराबरको सामानको सूची पनि अमेरिकाले सार्वजनिक गरेको छ ।

चीनले हराउन सक्छ अमेरिकालाई !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब ५ खर्ब डलर बराबरको सामानमा भन्सार बढ्न सक्ने बताइरहेका छन् । यो अंक गत वर्ष चीनले अमेरिका निकासी गरेको सबै सामानको कुल मूल्य हो । त्यसैले अमेरिकाले जति मूल्य बराबरका सामानमा भन्सार मूल्य वृद्धि गर्‍यो त्यही बराबरकै सामानमा आफूले पनि भन्सार बढाउने चीनको लागि अवसर हुने छैन । अमेरिकाले चीन निकासी गर्नेभन्दा चार गुणा बढी सामान त्यहीँबाट आयात गर्छ । चीनले अमेरिकासँग बदला लिन अरू नै उपाय लगाउनुपर्ने हुन्छ । चीनका केही सम्भावित कदम यस्ता हुन सक्छन् :

अमेरिकी कम्पनीविरुद्ध कारबाही
अमेरिकी कम्पनीहरूले चीनको आन्तरिक बजारमा करिब ३ खर्ब डलर बराबरको बिक्री गर्छन् । यसकारण चीन सरकारले यस्ता कम्पनीलाई लक्षित गरी विभिन्न कदम चाल्न सक्ने व्यापार अनुसन्धान गर्ने संस्था क्यापिटल इकोनोमिक्सकी जुलिया इभान्स प्रिटचाड बताउँछन् । चीनको आन्तरिक बजारमा धेरै बिक्री गर्ने र त्यहाँ नै आफ्नो उत्पादन गर्ने एप्पल यसको उदाहरण हुन सक्ने उनी बताउँछन् ।

उनका अनुसार चीनले अमेरिकी कम्पनीहरूका सामान भन्सारबाट छुटाउन समस्या पार्न सक्छ । यस्तै उसले अमेरिकी कम्पनीमा काम गर्नेहरूलाई स्वास्थ्यलगायत समस्या देखाएर भिसा नदिने, ढिला दिने र यस्ता कम्पनीलाई विभिन्न बहानामा केही समय बन्द गराएर दु:ख दिन पनि सक्छ ।साथै युरोपियन वा जापानी कम्पनीले भन्दा आफ्नो आन्तरिक बजारमा अमेरिकी कम्पनीले कम अवसर पाउने नीतिमार्फत पनि चीनले अमेरिकी कम्पनीमाथि कडाइ गर्न सक्ने विज्ञहरू बताउँछन् ।

पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सका ग्यारी हफबाउर व्यापार युद्ध चर्किंदै गए चीनले त्यहाँ रहेका अमेरिकी कम्पनीलाई विभिन्न बहानामा दु:ख दिने बताउँछन् । ‘तर यसो भए चीनलाई पनि यसले असर पार्छ,’ उनी भन्छन्, ‘अमेरिकी कम्पनीले चीनको अर्थतन्त्र वृद्धिका लागि पनि भूमिका खेलेका छन् ।’

आफ्ना नागरिकलाई अमेरिका जान प्रतिबन्ध
चीनसँगको व्यापारमा अमेरिकालाई ठूलो घाटा छ । तर, सेवा क्षेत्रमा भने अमेरिका चीनभन्दा अघि छ । सन् २०१६ मा सेवा क्षेत्रतर्फ अमेरिकाले चीनसँग ३८ अर्ब डलर नाफा गरेको थियो । अर्थात् चीनले अमेरिकालाई दिने सेवाभन्दा बढी अमेरिकाले चीनलाई सेवा दिएर पैसा कमाएको थियो । अमेरिकाको यो आम्दानीको मुख्य स्रोत चीनबाट भित्रिने पर्यटक पनि हुन् । एक तथ्यांकअनुसार २०१६ मा १३ करोड चिनियाँ पर्यटकको रुपमा अन्य देश पुगेका थिए । उक्त संख्याको उल्लेख्य प्रतिशत चिनियाँ अमेरिका गएका थिए जसले करिब २ खर्ब ६० अर्ब डलर खर्च गरेको अनुमान छ ।

अमेरिकालाई यो आम्दानीबाट बञ्चित गर्न चीन सरकारले आफ्ना नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउन सक्छ । तर, चीनले यस्तो निर्णय गरे यो पहिलो भने हुने छैन । गत वर्षमात्रै चीन सरकारले आफ्ना नागरिकलाई कोरिया लाने प्याकेज नराख्न ट्राभल एजेन्सीलाई निर्देशन दिएको थियो । कोरियाले सियोलमा अमेरिकालाई मिसाइल डिफेन्सिभ सिस्टम राख्न दिएको विरोधमा चीनले यस्ता कदम चालेको थियो ।

मुद्राको अवमूल्यन
चीनले आफ्ना मुद्रा युआनको भाउ अवमूल्यन गरे यसले चीनबाट निर्यात हुने सामानको भाउ आयात गर्ने देशमा सस्तो पर्नेछ ।

पछिल्लो समय घटेको चिनियाँ युयानको मूल्यप्रति चीनको केन्द्रीय बैंकले चासो नदेखाएको घटनाबाट पनि उनीहरूले बजारले नै यसलाई नियन्त्रण गरोस् भन्ने चाहना राखेको प्रस्ट हुने विश्लेषकहरू बताउँछन् ।चिनियाँ युयान डलरको तुलनामा एक वर्षयताकै सबैभन्दा अवमूल्यन भएको छ ।

अमेरिकी ऋणपत्र बिक्री
१० खर्ब डलरभन्दा बढीको अमेरिकी ऋणपत्र चीनले किनेको छ, जसका कारण अमेरिकी अर्थतन्त्रमा चीनको प्रभाव रहनेछ । अमेरिकी ऋणपत्र बिक्री गरे चीनलाई पनि असर गर्छ । किन ? किनकि यसका कारण चीनसँग भएको सम्पत्तिको मूल्य घट्छ । चीनलाई कम तरलता भएका विदेशी ऋणपत्र बजारतर्फ ढल्किनुपर्ने हुन्छ । यसले अमेरिकालाई पनि कम प्रभाव पर्छ किनकि चीनले यस्ता ऋणपत्र बिक्री गर्न चाहे अन्य देशले किन्न सक्छन् । ऋणपत्र बिक्री गर्दा चीनलाई पनि घाटा हुने भएकाले यस्तो हुन सक्ने सम्भावना भने कम रहेको विज्ञहरू बताउँछन् ।

उत्तर कोरियासँगको वार्तामा हस्तक्षेप
उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने वार्तामा चीनले हस्तक्षेप गर्न सक्ने ट्रम्पले बताइसकेका छन् । ट्रम्पले भर्खरै मात्रै पनि एक टीट गर्दै उत्तर कोरियाले सहमतिको कार्यान्वयन हुनेमा आफू ढुक्क भए पनि अर्कोतर्फ यो सहमतिमा चीनले अमेरिकासँगको व्यापार युद्धका कारण नकारात्मक भूमिका खेल्न सक्ने लेखेको छन् ।

पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सले भर्खरै प्रकाशित गरेको एक रिपोर्टमा लेखिएको छ, अमेरिकासँगको व्यापार युद्धमा चीनले आर्थिक क्षेत्रभन्दा बाहिरबाट पनि दबाब दिन सक्छ ।चीनले उत्तर कोरियालाई आफूले भनेजसो गर्न संकेत गर्ने र दुई देशबीचको व्यापार युद्धले भूराजनीतिक समस्या निम्त्याउने निष्कर्ष रिपोर्टमा दिइएको छ ।

आन्तरिक अर्थतन्त्रमा केन्द्रित हुने
चीनले आफ्नो आन्तरिक वृद्धिमा केन्द्रित भएर अन्य देशसँगको व्यापार र लगानी सम्बन्ध बढाउन पनि सक्छ । इभान्स प्रिटचार्डका अनुसार चीनसँग भएको सबैभन्दा राम्रो विकल्प आफ्नो आन्तरिक अर्थतन्त्रलाई सुदृढ बनाउने नै हो ।

एचएसबीसी ग्लोबल बैंकिङ एन्ड मार्केट्सकी अनुसन्धानकर्ता जुलिया वाङ चीनले अमेरिकाबाहेकका देशसँग व्यापार सम्बन्ध सुदृढ बनाउन ध्यान दिने अनुमान गर्छिन् । चीनले भर्खरै मात्रै युरोपियन युनियनका अधिकारीलाई बोलाएर खुला व्यापार विषयमा छलफल गरेको थियो ।‘केही वर्षयता नै चीनले आफ्नो व्यापारलाई अन्य देशसँग विविधीकरण गरिरहेको छ । अब यो झन् बढ्नेछ,’ उनले भनिन् ।

प्रकाशित : श्रावण ७, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?