आयुमी सुन्दिनन्, सुनाएरै अर्बपति बनिन्

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — श्रवण शक्ति नभएका एकजना चर्चित अमेरिकी मोडेल, नायक र श्रवण शक्ति नहुनेहरूको अधिकारका पक्षमा वकालक गर्ने नाइल डिमार्कोले एकताका भनेका थिए, ‘सुनाइमा कमजोर भएकाहरूले जीवनमा केही गर्न सक्तैनन् भन्ने आम नागरिकको बुझाइ छ ।’ आम नागरिकको यो बुझाइलाई गलत प्रमाणित गरिदिने सेलिब्रेटीहरू विश्वमा धेरै छन् ।

पहिलो प्रयोगात्मक विद्युत् चिम र ग्रामोफोन अविष्कार गर्ने थोमस अल्वा एडिसन बाल्यकालदेखि नै श्रवणशक्ति विहीन थिए । अझ, हेलेन केल्लर नसुन्ने मात्र होइन दृष्टिविहीनसमेत थिइन्, जो कला संकायमा स्नातकसम्मको शिक्षा हासिल गरी सर्वोत्कृष्ट बनिन् । विश्वकै प्रसिद्ध पियानोबादक तथा शास्त्रीय संगीतज्ञ लुडविङ भ्यान बिथोभेनको पनि श्रवण शक्ति थिएन तर उनले सिर्जना गरेको संगीत सुन्न मानिसको घुँइचो लाग्ने गथ्र्यो ।

भनिन्छ, संगीत एउटा त्यस्तो क्षेत्र हो, जहाँ संगीतकारले पहिले आफू सुन्छन्, त्यसपछि स्रोताहरूलाई सुनाउने गर्छन् । तर, श्रवण दोषका कारण आफूले नसुने पनि तिनले गरेका कालजयी संगीत लोकप्रिय भएका उदाहरण प्रशस्तै भेटिन्छन् । यो कुरो सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, केहीले आफ्नो परिश्रमबाटै यो क्षेत्रमा सफलता पाएका छन् । तीमध्ये जापानी पप स्टार आयुमी हामासाकी पनि एक हुन् ।

Yamaha

उनको श्रवण शक्ति छैन । आफ्नै ब्लग ‘टिम आयु’ मार्फत उनले अघिल्लो वर्षको मे २० मा यो कुरो सार्वजनिक गरेकी थिइन् । ‘स्ट्रेट्स टाइम्स’ का अनुसार जापानी सोलोमा सधैं बेस्ट–सेलिङको उपाधि हासिल गर्न सफल आयुमीको बायाँ श्रवण शक्ति गुमेको नौ वर्ष भइसक्यो । दायाँ कानबाट पनि उनले कम सुन्ने गरेकी छन् । तर, त्यसले उनको संगीत, गीत र कला क्षेत्रमा फड्को मार्न रोकेन, छेकेन । ३९ वर्षीया उनी चर्चित संगीतकी एउटी साधिका हुन् । श्रवण शक्तिमा देखिएको दोषबारे आफ्नो ब्लगमा बेलिविस्तार लगाउँदै लेखेकी छन्, ‘मैले धेरै ठाउँमा आफ्नो कानको परीक्षण गराएँ, कुनै फाइदा भएन, धेरै पहिलेदेखि बायाँ कानबाट सुन्दिन थिएँ, अब दायाँ पनि कमजोर हुँदै गएको छ ।’

‘द रिचेस्ट’ अनलाइनका अनुसार जापानी रेकर्डिङ आर्टिस्ट, मोडेल र नायिका आयुमीको कुल सम्पत्ति ७ अर्ब ७९ करोड रुपैयाँ (७० मिलियन अमेरिकी डलर) भन्दा बढी छ । यो सबै उनले आफ्नै पौरखबाट कमाएकी हुन् । सन् २०१५ को अक्टोबरमा यू–टयुबबाट ६ करोड ८६ लाख रुपैयाँ (६ लाख २५ हजार डलर) कमाएकी थिइन् ।

उक्त च्यानलमार्फत उनलाई हेर्नेको संख्या साढे १२ करोडभन्दा बढी छ । उनको यू–टयुब च्यानलको पौने २ लाख सब्सक्राइबर्स छन्, जसबाट करिब २ लाख रुपैयाँ (१७ सय ५० डलर) प्राप्त गरेकी थिइन् । सन् २०११ को मार्चमा टोहोकु भूकम्प र सुनामी पीडितका लागि आफ्नो आम्दानीबाट लाखौं डलर दान गरेकी थिइन् । उनी सन् २०१० मा आफ्नो एलबम, कन्सर्ट भ्रमण र विभिन्न सम्झौताबाट ४ अर्ब ३९ करोड रुपैयाँ (४० करोड डलर) आम्दानी गर्दै अमेरिकी अखबार ‘फोक्र्स’ को सर्वाधिक ‘अलटाइम’ गायिकाको सूचीमा आफ्नो नाम दर्ज गराउन सफल भएकी थिइन् ।

परिवारको सहयोगमा आयुमी हामासाकीले ७ वर्षकै उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । कलिलै उमेरमा चर्चित बनेपछि उनको माग पनि बढ्दै गयो । पछि उनी टोकियो हानिइन्, त्यहाँ एसओएस टयालेन्ट संस्थामा प्रशिक्षण लिन सुरु गरिन् । टोकियो पुग्दा उनको उमेर मात्र १४ वर्ष थियो । किशोरावस्था टेकेकै बेलादेखि उनले मनोरञ्जन क्षेत्रमा आफ्नो परिचय बनाउन सफल भइन् । ‘सन म्युजिक’ का लागि काम गर्न थालेपछि उनको मोडल करियर एकाएक रोकिन पुग्यो ।

सन् १९९५ मा ‘नोथिङ फ्रम नोथिङ’ का लागि पहिलो ‘र्‍याप इपी’ सार्वजनिक गरिन् । तर, यसले म्युजिकहरूको चर्चित काउन्टडाउन सूचीमा स्थान बनाउन सकेन । यो उनको पहिलो असफलता थियो । तर, हरेस खाइनन् । यो क्षेत्रमा आफ्नो प्रयास जारी राख्दै सन् १९९९ मा उनी पहिलो स्टुडियो एल्बम ‘अ सङ फर एक्सएक्स’ सार्वजनिक गरिन् । उक्त एल्बम जापानको चर्चित संगीत कम्पनीको ‘ओरिकोन चार्टस’ मा पहिलो स्थानमा पुग्न सफल भयो ।

एसियामा संगीत र फेसन ट्रेन्ड्सलाई परिवर्तन गर्नमा उनको पनि योगदान रहेको धेरैको भनाइ छ । यसबाट उनी थप चम्किन पुगिन् । उनको डिमान्ड गर्नेहरू बढेसँगै विभिन्न व्यापारिक र विज्ञापन क्षेत्रमा रातारात छाइन् । उनले जापानमा ५० मिलियनभन्दा बढी रेकर्डिङ सामग्रीहरू बेचेर मुलुककै बेस्ट–सेलिङ कलाकार बन्न पुगिन् । उनको एउटा गायन त सन् १९९९ देखि २०१० सम्म लगातार एक वर्ष पहिलो नम्बरमा पर्न सफल भएको थियो ।

उनी पहिलो कलाकार बनिन्, जसका आठवटा स्टुडियो एल्बमहरू ओरिकोन चार्टसमा सूचीको टपमा परेका थिए । यति मात्रै हैन, उनको एउटा एल्बम १३ वर्ष लगातार सूचीमा परेर उनलाई पहिलो कलाकारसमेत बनायो । सन् १९९३ मा आयुमी टेलिभिजन चलचित्र ‘आर्ट अफ फाइटिङ’ का लागि आफ्नो आवाज दिन सुरु गरेकी थिइन् ।

आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न उनी नायिकाको भूमिकामा समेत देखिन थालिन् । त्यसै क्रममा उनले सुरुमा विभिन्न ‘बी–मुभिज’ र टेलिभिजन नाटकहरूमा आफ्नो कलाको परिचय दिन कुनै कसर बाँकी राखिनन् । तीमध्ये केही चर्चित पनि भए । उनले ‘लाइक ग्रेन्स अफ स्यान्ड’, ‘सुमोमो मो मोमो’, ‘ग्याको द्वितीय’ र ‘डिस्टेन्स लभ’ जस्ता चर्चित चलचित्रमा सफल अभिनय गरिन् । सन् १९९५ मा उनले टीभी शृंखला मिसेइनेनमा नायिकाको भूमिकामा समेत देखिन पुगिन् ।

तर, उनी यो क्षेत्रमा धेरै समय टिकिनन्, छाड्ने निर्णयमा पुगिन् । त्यसपछि नृत्य क्षेत्रमा हाम फालिन् । ‘भेलफयार्रे’ मा नृत्य गर्न थालिन् । त्यसै क्रममा एभेक्स ट्रयाक्स प्रोडयुसर म्याक्स म्याटसुरासँग उनको भेट हुन पुग्यो । उनको ‘कराओके’ गायन सुनेपछि अमेरिकाको न्युयोर्कमा गायन सिक्न पठाउने म्याक्सले निर्णय गरेका रहेछन् । सन् १९९८ मा उनले एभेक्सका लागि आफ्नो पहिलो एकल ‘पोकर फेस’ का साथ गायन क्षेत्रमा प्रवेश गरिन् । त्यसपछि कहिले नटुंगिने गरी उनको गायन यात्रा सुरु भयो । लभ (डिस्टिनी), बोइज एन्ड गल्र्स, नेभर इभर, भोयाग र मुनलगायतका थुपै्र चर्चित र सफल एल्बमहरू सार्वजनिक गर्न सफल भइन् । अनि त उनका लागि पुरस्कारको ओइरो नै लाग्यो । ओरिकन चार्ट अवार्डस, एमटीभी जापान भिडियो म्युजिक अवार्डस्, द जापान रेकार्ड अवार्डस र म्युजिकनेट अवार्डसजस्ता एसियाली संस्थाहरूबाट सम्मानित भइन् ।

आयुमी हामासाकीको जन्म जापानको फुकुओकामा २ अक्टोबर १९७८ मा भएको हो । उनी सानैदेखि बहुप्रतिभाकी धनी हुन् । ‘आयु’ नामले समेत चिनिने उनी ‘इम्प्रेस अफ जे–पोप’ ले जापानमा चर्चित छिन् । ‘सेलिब्रेटी नेटवर्थ’ का अनुसार हाल आयुमी हामासाकीको आम्दानीको स्रोत संगीत नै हो । तर, उनी रेकर्ड प्रोडयुसर, मोडल, संगीतकार, प्रवक्ता, गीतकारको भूमिका निर्वाह गर्दै मनग्ये धन कमाउन सफल भएकी छन् ।

‘टपरिचेस्ट्स डट कम’ का अनुसार सन् २०१७ मा जापानको १० सर्वाधिक धनाढय सेलिब्रेटीमा उनी पहिलो स्थानमा दरिएकी थिइन् । उक्त वेबसाइट्सले उनको अनुमानित कुल सम्पत्ति ४५० मिलियन डलर रहेको जनाएको थियो । जापानको संगीत संस्कृतिमा मात्रै होइन सिंगो एसियामै आफूलाई अब्बल कलाकारका रूपमा उभ्याउन सफल भइसकेकी छन् । उनले ५० मिलियनभन्दा बढी रेकर्ड बेचेर जापानकै बेस्ट सेलिङ आर्टिस्ट बन्न भ्याइन् । उनले महान् परोकारीका रूपमा समेत आफ्नो परिचय दिन भ्याएकी छन् । सुनामी र टोहोकु भूकम्पका पीडितका लागि ३० मिलियन येन दान गरेको ‘टपरिचेस्ट’ वेबसाइटमा उल्लेख छ ।

विश्वका सेलिब्रेटीहरूबारे जानकारी सार्वजनिक गर्ने ‘मेडियामास’ का अनुसार आयुमी हामासाकी ‘पिपुल विथ मनी’ को १० सर्वाधिक रकम लिने गायकहरू (हाइयेस्ट (पे सिंगर्स) को टप टेनमा यो वर्ष मात्रै ६ अर्ब ३७ लाख रुपैयाँ (५८ मिलियन डलर) भन्दा बढीका साथ पहिलो नम्बरमा परेकी छन् । ‘पिपुल विथ मनी’ ले उनको फोटोसहितको कभर स्टोरी नै प्रकाशित गरेको छ ।

(एजेन्सीहरू)

प्रकाशित : श्रावण १२, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

लगाएर उड्न सकिने जेट–सुट

दिनेश यादव

काठमाडौँ — आकासमा उडान भर्नका लागि मानिस प्लेन चढ्छन्, कोही बेलुनमा उड्छन्, कोही प्याराग्याडिङ गर्छन् । तर, अब व्यक्तिगत उडानका लागि जेट–सुटकै अविष्कार भएको छ ।

अविष्कार मात्रै हैन, विक्री समेत शुरु भइसकेको छ। बेलायतको लण्डनस्थित एउटा डिपार्टमेन्ट स्टोरबाट यसको विक्री थालिएको छ। विभिन्न वस्तुहरुको कारोबार गर्ने बेलायतका पूर्व व्यापारीहरुले उत्पादन गरेको जेट–सूटको विक्री शुरु भएको हो। यसको मूल्य करिब पाँच करोड रुपैयाँ (४ लाख ४६ हजार ५ सय २२ अमेरिकी डलर) निर्धारण गरिएको छ।

हावामा उड्ने चाहना राख्ने जेट–सुटका पाइलटले हात र पिउँठुमा चार वटा साना जेट इन्जिनसहितका विशेष सुट लगाउनु पर्छ। सुटमा इलेक्ट्रोनिक्स उपकरण र ३ डी प्रिन्टिङ समेत जडान गरिएको छ। यो लगाएपछि सुपरहिरो ‘आइरन म्यान’ को सम्झना गराउँछ। जेट इन्धन या डिजेल/मट्टितेलबाट चलाए ५१ किमी प्रतिघन्टाको गतिमा १२ हजार फीट (३ हजार ६ सय ५८ मिटर) उचाईसम्म उडन सक्छ। यतिका रेकर्ड नै सुटले बनाइसकेको छ। यसो त यसका अविष्कारक रिचर्ड ब्राउनिङले सुरक्षाको दृष्टिले जमिन भन्दा केही माथि मात्रै उडान गर्दा राम्रो हुने सुझाएका छन्। उनले यसको प्रदर्शन हालै विश्वभरी शुरु गरिएको घोषणा गरे। गत बुधबार विलासी डिपार्टमेन्ट स्टोर ‘सेल्फ्रिज’ बाहिर एउटा सानो बन्द सडक माथि गरिएको उडान पछिल्लो हो।

डिपार्टमेन्ट स्टोरले उपभोक्ताहरुका लागि तयार पारिएको संस्करण बेच्न शुरु गरेको छ। ‘यो होभर (स्थिति) मा लगभग चार लिटर ईन्धनको खपत गर्छ, यतिका ईन्धनले सजिलै तीनदेखि चार मिनेटसम्म सुट लगाएर आकाशमा उड्न सकिन्छ’ ब्राउनिङले भने, ‘हामीसंग एउटा अर्को संस्करण पनि छ, त्यो निश्चित रुपमा चिसो मौसममा उपभोक्तालाई उडानमा सहयोग गर्न सक्छ, जुन ९ मिनेटसम्म त्यति नै परिणामको ईन्धनबाट उडन सक्छ।’ उनले यसमा थप सुधार गर्ने प्रयास भइरहेको बताए। ‘तर बिना पखेटाको लगातार आकाशमा उड्न सक्नु हाम्रो ठूलो उपलब्धि र सुटको मौलिक विशेषता हो’ उनको भनाई छ।
‘रोयटर्स’का अनुसार बिक्रीका लागि राखिएको स्टोरमा जिज्ञासुहरुको भीड उर्लिएको छ।

विक्रेताले दर्शकहरुका लागि हेर्न मात्र होइन, भर्चुअल रियलिटी (भिआर) संस्करणको परीक्षण समेत गर्न सक्ने व्यवस्था मिलाएको छ। कसैले यो सुट खरिद गर्ने निर्णय गरे कम्पनीले प्रशिक्षणसमेत दिने व्यवस्था गरेको छ। जेड–सुटको गजबको आनन्द लिन खरिदकर्ताले कम्तीमा तीन दिनको प्रशिक्षण लिनु पर्छ। ब्राउनिङले भने, ‘यदि तपाई दर्शकका रुपमा मात्र हेर्न चाहनु हुन्छ भने शायद तपाई जेट–सुट वरपर निकै गर्मी महशुश गर्नु हुनेछ। यसले ताप बढी उत्सर्जित गर्छ।’ उनले यो सुटलाई आश्चर्यजनक अविष्कार भनेका छन्। किनभने यो मानिसलाई हानी पुर्याउने खालको छैन। ‘यो सुट लगाएर उड्नेहरुले सभ्य शैली अप्नाउन बाध्य हुने गर्छ’ उनले भने।
एम्याचर इन्जिनियर ब्राउनिङले आफ्नो एयरशो गरिरहँदा शनिबार हजारौंको संख्यामा दर्शकहरु उपस्थित भएका थिए। ‘यो सुट लगाएर खुला आकाशमा सजिलै उडन सकिन्छ। अत्यन्तै स–साना उपकरणहरु जडित यो सुटमा उडान केही महंगो भने छ। किनभने यसलाई धेरै ईन्धन चाहिन्छ। फेरी यो कोलाहलयुक्त पनि छ। त्यसैले यसमा सुधार गर्ने सोच पनि हाम्रो छ’ जेट–सुट निर्माता कम्पनी ग्र्याभिटी इन्डस्ट्रिज्का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत रहेका ब्राउनिङले भने, ‘सैन्य गतिविधि, खोज र उद्दार जस्तो महत्वपूर्ण कार्यमा यसको प्रयोग गर्नु बढी उपयुक्त हुनेछ। तर सुपरहिरो बनेर उड्ने सपना देख्नेहरुले यसको अनुभव चाही पक्कै लिन सक्ने छन्।’

‘युरोन्युज’ जेट–सुटको तौल २७ किलो छ। यसमा ईन्धनबाट ग्यास उत्पन्न गर्ने पाँच वटा टर्बाइन यन्त्रहरु जडान गरिएका छन्, जुन हातमा लगाउनु पर्ने हुन्छ, शरिरको पछाडि चाहिं कार्बन फाइबर जडान गरिएको छ। आफ्नो शरिरको चालसंग यसलाई प्रयोग गर्न सकिन्छ। रोयल मरिन रिजर्भ एन्ड कमोडिटिजका पूर्व व्यापारीहरुले १२ महिनामै यो सुट बनाएका हुन्। ब्राउनिङ्ले १८ मुलुकमा ५० वटा जति उडान गरेपछि विक्रीका लागि बजारमा ल्याएको बताए।

यसले दशौ हजार फ्लोअर्सलाई सामाजिक सञ्जालमा आकर्षित समेत गरिसकेको छ। शरिरद्वारा नियन्त्रित सबैभन्दा तीब्र गतिमा उड्ने जेट इन्जिन भएको पावर सुटका लागि उनी ‘गिनिस विश्व रेकर्ड’ समेत बनाएका छ। ब्राउनिङले सन २०१९ मा पानीमाथि दौड्न सकिने हजार हर्सपावर (एचपी) को जेट सुट बनाउने बताएका छन्। शनिबार विक्रीका लागि राखिएको जेट सुटको क्षमता भने १०५० हर्सपावर (७८३किलोवाट) रहेको छ।

प्रकाशित : श्रावण ८, २०७५ १५:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT