कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रभावकारी भएन रेलबाट ढुवानी

माधव घिमिरे

विराटनगर — तीन महिनाअघि भारतको कोलकातास्थित बन्दरगाहबाट सामान ल्याउन सुरु भएको रेलमार्गको सुविधा प्रभावकारी हुन सकेको छैन । वैशाख दोस्रो साता पहिलोपटक सीमा नाकानजिक भारतको बथनाहासम्म रेलबाट तेस्रो मुलुकका सामान आएको थियो ।

प्रभावकारी भएन रेलबाट ढुवानी

त्यसयता थप दुईपटक मात्र रेलबाट सामान आएको छ । कोलकाता बन्दरगाहबाट यसअघि यस्तो ‘कार्गो रेल’ वीरगन्ज नाकासम्म आउने गरेको थियो ।

मालबाहक रेल नियमित हुन नसक्दा नेपाली उद्योगी–व्यवसायीले फाइदा लिन सकेका छैनन् । तेस्रो मुलुकका सामान कोलकाता बन्दरगाहबाट रेलमार्फत सीधै आउने भएपछि उत्साही बनेका उद्योगी–व्यवसायी अचेल त्यसरी आयात गर्न अनिच्छुक देखिएका छन् ।

तेस्रो मुलुकबाट सोयाबिन तेल, सूर्यमुखी तेल, प्लास्टिकको कच्चा पदार्थ, दाल र दलहनका वस्तु, चिनी, बिस्कुट, स्टिलको कच्चा पदार्थ, इनर्जी ड्रिंकलगायत थुप्रै सामान आयात हुने गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार प्रदेश १ को समग्र व्यापारमा कुल हिस्साको ३८ दशमलव १६ प्रतिशत समुद्रपारका मुलुकबाट हुने गरेको छ ।

कोलकाता बन्दरगाहबाट विराटनगर नाका नजिक पर्ने भारतीय रेल्वे स्टेसन बथनाहासम्म वैशाख १६ गते मालबाहक रेल आइपुगेको थियो । त्यसबेला ५८ वटा कन्टेनरमा पाकिस्तानको चिनी ल्याइएको थियो । बथनाहा–जोगबनी नाकाभन्दा करिब ६ किलोमिटर दक्षिण पर्छ ।

कोलकाताबाट बथनाहासम्मको सडक दूरी करिब ५ सय ५० किलोमिटर पर्छ । रेलमार्गको दूरी योभन्दा कम हुने र बिनाअवरोध आउने भएकाले समय र ढुवानी भाडासमेत कम पर्ने भन्दै उद्योगी उत्साही थिए । तर, नियमित हुन नसक्दा आयातकर्ताले ढुवानीका लागि स्थलमार्ग नै रोज्दै आएका छन् । वैशाखयता तीनपटक मात्रै सामान बोकेर रेल आएको छ । पछिल्लोपटक जेठ २ र २३ गते आएको रेलले चिनी र कागज ल्याएको थियो । नियमित हुन नसक्दा र बथनाहामा पूर्वाधार नहुँदा यो प्रभावकारी नभएको उद्योगीहरूको भनाइ छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराका अनुसार कोलकाताबाट बथनाहा आइपुगेको सामान गन्तव्यमा पुर्‍याउने साधन अपर्याप्त भएकाले आयातकर्ताहरू रेलबाट सामान ल्याउन इच्छुक देखिएका छैनन् । समयमा आफ्नो उद्योग वा गोदाममा सामान पुर्‍याउन नसकेर बथनाहास्थित रेल्वे यार्डमै कन्टेनर थान्को लाग्दा आयातकर्ताले ‘डिटेन्सन’ शुल्क तिर्नुपर्ने अवस्था छ ।

आयातीत सामान राखिने ठूलो आकारको कन्टेनर बथनाहाबाट सम्बन्धित उद्योग प्रतिष्ठानसम्म पुर्‍याउन समस्या छ । ‘बथनाहासम्म सामान ल्याएर त्यहीँ थन्क्याउने कुरा आउँदैन,’ एक आयातकर्ताले भने, ‘त्यहाँबाट उद्योग वा गोदामसम्म पुर्‍याउन पर्याप्त साधनको व्यवस्था छैन, त्यसैले कार्गो रेल सेवा हाम्रा लागि प्रभावकारी हुन सकेको छैन ।’

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाका अनुसार एकीकृत संयुक्त भन्सार चेकपोस्ट निर्माण पूरा भएपछि मात्र तेस्रो मुलुकका सामान आयात सहज हुनेछ । अहिले रेलबाट ल्याइएपछि बथनाहाबाट सामान गन्तव्यसम्म पुर्‍याउन समस्या भएकाले आयातकर्ताहरू रेलबाट सामान ल्याउन उत्साहित नभएको उनको भनाइ छ ।

कार्गो रेल सुरु हुने भएपछि खासगरी औद्योगिक कच्चापदार्थ ल्याउन सहज हुने भन्दै उद्योगीहरू उत्साही थिए । ढुवानी खर्च कम पर्ने भएकाले उत्पादनको लागत समेत केही घट्ने अनुमान थियो ।

बोहोराका अनुसार कोलकाताबाट आउने सामान तत्कालै बथनाहाबाट सम्बन्धित आयातकर्ताकहाँ पुर्‍याउन पर्याप्त टेलर (कन्टेनर बोक्ने साधन) हुनुपर्छ । त्यहाँ कम्तीमा पनि ५० वटा टेलर भए रेलले ल्याउने कन्टेनर ढुवानी सहज हुने उनको भनाइ छ । ‘तेस्रो मुलुकबाट ल्याइने सामान कोलकाताबाट बथनाहासम्म ल्याउन सहज हो,’ उनले भने, ‘तर, त्यहाँबाट गन्तव्य पुर्‍याउनै समस्या भएपछि प्रभावकारी हुन सकेको छैन ।’

यही कारण रेलमार्गको सुविधा हुँदाहुँदै पनि कोलकाताबाट सीधै टेलरबाट सडकमार्ग हुँदै कन्टेनरमै सामान आइरहेको छ । उद्योगीहरूले सामान ढुवानी र गन्तव्यमा पुर्‍याउन सहजताका लागि कोलकातास्थित महावाणिज्य दूतावासले पहल गर्नुपर्ने बताएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले कार्गो रेल सञ्चालन नियमित गर्न पहलका लागि वाणिज्य विभागलगायत निकायसँग कुरा भइरहेको बताए । ‘आयात सहजीकरणका लागि महत्त्वपूर्ण भए पनि नियमित हुन नसक्दा यसबाट फाइदा लिन सकिएको छैन,’ उनले भने, ‘सरकारले पहल गरेर नियमित गराउन सक्नुपर्छ ।’

भारतीय रेल्वेअन्तर्गत कन्टेनर निगम लिमिटेड (कनकोर) ले बथनाहासम्म मालबाहक रेलमा कन्टेनर ढुवानी गर्न थालेको हो । दशकअघि जोगबनीसम्म रेल गुड्ने ‘ब्रोडगेज लाइन’ आइपुगेको थियो । त्यसपछि ठूला रेल सञ्चालन सहज भएको थियो ।

आईसीपी बनेपछि सहज
मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार चेकपोस्ट (आईसीपी) पूर्ण रूपमा तयार भएपछि भने आयात सहज हुने भएको छ । त्यसपछि रेल नेपाली भूमि प्रवेश गरेर त्यही स्थानसम्म सामान ल्याउनेछ । त्यहाँबाट नेपाली ढुवानी साधनले आयातित सामान गन्तव्यमा पुर्‍याउनेछन् ।

चेकपोस्टको भारततर्फको काम सकिए पनि नेपालपट्टि बाँकी छ । बाँकी काम ६ महिनाभित्र सकिने निर्माण कम्पनीले जनाएको छ । डेढ वर्षयता निर्माणमा संलग्न भारतको दिनेशचन्द्र आर इनफ्लाक्सन कम्पनीले उक्त चेकपोस्ट आगामी डिसेम्बरभित्र बनाइसक्ने म्याद पाएको छ । कम्पनीले उक्त अवधिभन्दा अघि नै काम सक्ने दाबी गरेको छ ।

कम्पनीका इन्जिनियर अवधेशप्रसाद साहका अनुसार करिब ४० प्रतिशत काम सकिएको छ । ‘बाँकी काम ६ महिनाभित्र सक्ने तयारी छ,’ उनले भने, ‘चेकपोस्ट पूरा भएपछि जोगबनी नाकाबाट हुने आयात निर्यात ब्रोडगेज रेलमार्गमार्फत हुनेछ ।’

प्रकाशित : श्रावण १५, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?