खाद्य संस्थानमा छानबिन गर्न समिति

संस्थानमा खरिद, बिक्री, ढुवानी, निर्माणमा अनियमितताको उजुरीपछि छानबीन समिति गठन
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले खाद्य संस्थानमा भएको आर्थिक अनियमितता तथा बेथिति छानबिन गर्न समिति गठन गरेको छ । खरिद बिक्री, ढुवानी, निर्माण, मर्मतलगायतमा अनियमितता भएको उजुरी परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको हो ।

कर्मचारीहरूको सरुवा, बढुवा, काज तथा कार्यसम्पादन मूल्यांकनमा पनि अनियमितता भएको उजुरीमा उल्लेख छ ।


मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार उपसचिव जनार्दन बडालको सयोंजकत्वमा समिति गठन भएको हो । समितिमा मन्त्रालयकै शाखा अधिकृत सविता अधिकारी लामिछानेलाई सदस्य तोकिएको छ । खाद्य संस्थान कर्मचारी संघले उजुरी गरेपछि मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो ।

Yamaha


संघका अध्यक्ष माधवप्रसाद अर्यालका अनुसार संस्थानले भाडामा दिने सूचना प्रकाशित गरेबमोजिम नख्खुस्थित जग्गाका लागि मासिक २ लाख ५७ हजार भुक्तानी दिने गरी बोलपत्र पेस भएको थियो । तर, बोलपत्र स्वीकृत गरी भाडामा दिने प्रक्रिया अघि नबढाई यसअघि भाडामा बस्दै आएकालाई साविकको मासिक ३० हजारमा नै भाडामा लगाइएको आरोप छ ।


कर्मचारीले नख्खुमा रहेको जग्गामा अनधिकृत रूपमा टहरा बनाई व्यक्तिगत लाभ लिएको उजुरीमा उल्लेख छ । उजुरीमा सूचना र ढुवानी सम्झौताका सर्तविपरीत अञ्चल कार्यालय थापाथलीले खाद्यान्न चलान गरी संस्थानलाई नोक्सान पुर्‍याएको, संस्थानको शाखा कार्यालय वीरगन्जमा निर्माणाधीन हजार टन क्षमताको गोदाम घर निर्माण अपूरै रहेको विषयमा छानबिन गर्न माग गरिएको छ ।


संस्थानमा दैनिक ज्यालादारीको नाममा अनावश्यक कामदार राखी ७५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको, चाडबाडमा बिक्री हुने खसीबोका र सुपथ पसलबाट पनि अनियमितता गरेको संघको आरोप छ । ‘आर्थिक वर्ष २०७४/७५ मा दसैं तथा छठ पर्वसम्मका लागि सुपथ मूल्य पसल तथा खसीबोका, च्यांग्रा र खाद्यान्न बिक्री परिमाण न्यून रहेको खसीबोका तथ च्यांग्रा पन विगतमा भन्दा कम परिमाणमा आयात र बिक्री भएको थियो ।


घाँस, दानापानी, औषधोपचार, प्रशासनिक खर्चमा भने अस्वाभाविक रूपमा लाखांै रुपैयाँ खर्च देखाइएको छ,’ संघको विज्ञप्तिमा छ ।

प्रकाशित : श्रावण १८, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कमल तालमा नागमूर्ति

दीपक परियार

लेखनाथ — कमल ताल संरक्षणमा पोखरा १३ का दलित समुदाय जुटेका छन् । उनीहरूले कमलपोखरी ताल संरक्षण समिति नै बनाएर काम थालेका छन् ।

कमल पोखरीलाई धार्मिक तीर्थस्थल र पर्यटकीय क्षेत्र बनाउन लागिएको स्थानीय केशबहादुर विकले बताए । उनकै सक्रियतामा तालको बीचमा नागको मूर्ति राखिएको छ । तालछेउको ढिस्को ताछेर स्थानीयले रकम संकलन र श्रमदान गरी विश्वकर्मा बाबाको मन्दिर बनाएका छन् । दुर्गा, राधाकृष्ण र गणेशको मन्दिरसमेत बनाइएको छ ।


हरेक घरबाट ५/५ सय रुपैयाँ सहयोग संकलन गरिएको केशबहादुरले बताए । उनी एक्लैले विश्राम पाटी निर्माण गरिदिए । माछा मार्ने, कमल टिप्ने क्रम रोकिए पनि बाँसखोलाले माटो र गेग्रान तालमा ल्याउन छाडेन । पुरिँदै जान थालेपछि दलित समुदायकै अग्रसरतामा ०६४ मा संरक्षण समिति गठन भएको थियो । समितिले तालको सीमांकन गर्‍यो । कमलपोखरीसम्म पुग्ने पैदल बाटो बन्यो । बाटो बनाउन स्थानीय धनपति तिमिल्सिना, कृष्ण गौतम र शेरबहादुर कार्कीले जग्गादान गरे ।

समितिले ताल संरक्षणलाई रकम संकलन गर्न देउसीभैलो खेल्यो । चर्चित कलाकार ल्याएर सांगीतिक कार्यक्रम गर्‍यो । तत्कालीन पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, पोखरा उपत्यका ताल संरक्षण समिति, जिल्ला वन कार्यालयलगायतले सहयोग गरे ।ताल पुरिएर आधा भागमा करौंते झार पलाएको थियो । तालमा ढुंगा, गिट्टी पस्न नदिन समितिले तटबन्ध बनायो । उत्तरतर्फ मेसिनरी पर्खाल लगायो । वरिपरि तारजालीले घेर्‍यो । ताल पुरिने क्रम रोकियो ।


समितिले एक्साभेटरको माध्यमबाट पुरिएको भाग हटाउन थाल्यो । तालको पानी सुकाएरसमेत माटो निकाल्न सक्ने अवस्था नआएपछि समितिले कामदार खटाएको छ । समिति अध्यक्ष चित्रबहादुर विकले आन्तरिक कोषबाट कामदार खर्च व्यहोरेर माटोसहितको झार निकाल्ने काम भइरहेको बताए ।

‘अहिले पुरिएको आधाजति भाग मान्छे लगाएर सफा गर्दैछौं,’ उनले भने, ‘यति मात्रै माटो निकालियो भने पनि ताल फराकिलो देखिनेछ ।’ पुरिएको भाग हटाएपछि कमलको बोट झन् फैलिने उनले बताए । ताल वरिपरि फलामे फुट ट्रयाक र विश्राम स्थल बनाउने समितिको योजना छ । ‘पोखरामा अन्यत्र कमल विरलै देखिन्छ,’ अध्यक्ष विकले भने, ‘असारदेखि भदौसम्म फूल हेर्न मात्रै पनि पर्यटक आउने वातावरण बनाउन सकिन्छ ।’ पोखराका प्रत्येक निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई ताल र कमलको अवलोकन गराउन सके व्यवसाय पनि फस्टाउने पक्का छ ।


नागपञ्चमीका दिन बर्सेनि कमलपोखरीमा भक्तजनको भीड लाग्छ । कमलपोखरीको स्वरूप फेरिएपछि स्थानीयले संरक्षणमा चासो देखाउन थालेका हुन् ।

प्रकाशित : श्रावण १८, २०७५ ०८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT