भेदभाव छिचोल्दै सफलता

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — सफलता रातारात पाइन्न, अथक संघर्ष गर्नुपर्छ । अझ विभेदमा बाँचेकाहरूले त सफलता पाउन झनै धेरै बाधा र अवरोध छिछोल्नुपर्ने हुन सक्छ । जीवनका विभिन्न बाधालाई चिर्दै सफल हुनेमा इथियोपियाका मार्कस जोर स्याम्युएल्सन पनि एक हुन् ।

यिनी आफ्नै बलबुता र कठोर परिश्रमपछि सफल भए । नश्लीय भेदभावका बावजुद खानाका परिकारहरू बनाउने क्षेत्रमा आफ्नो छुट्टै परिचय स्थापित गर्दै एक सफल सेफ/होटल व्यवसायी बने उनी । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भूपरिवेष्ठित मुलुक ‘इथियोपिया’ का नागरिक उनले जीवनमा धेरै ठक्कर खानुपर्‍यो ।

पेसाले सेफ भए पनि उनी होटल व्यवसायी, कुकबुक लेखक, खाद्य अधिकारकर्मी र परोपकारीका रूपमा समेत चिनिन्छन् । इथियोपियाको अदिस अबाबामा ४८ वर्षअघि जन्मेका यिनी स्विडेनमा हुर्के र युरोपका विभिन्न मुलुकमा प्रशिक्षित भए । बाल्यकालमै उनका बुबाले भनेका थिए, ‘अफ्रिकाका काला मान्छे सेफ बन्नु हुन्न, हामी होटल उद्योगमा लागे धेरै कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ ।’ उनले त्यस्तै भोग्नु पर्‍यो पनि । सुरुमै उनीभित्र ठूलो होटल व्यवसायी बन्ने चाहना थियो । तर, बुबाको चेतावनीयुक्त भनाइपछि उनी यो पेसामा जान केही हच्किएका थिए । पछि यसैलाई आफ्नो जीवन धान्ने व्यवसाय बनाउन उनी सफल भए ।

Yamaha

उनले सन् २०१२ मा अर्लान्डा विमानस्थलमा पहिलो रेस्टुरेन्ट खोले, पछि स्विडेन हुँदै नर्वेसम्म विस्तार गर्न भ्याए । विभिन्न सहरमा उनका आधा दर्जन जति चर्चित रेस्टुरेन्टहरू सञ्चालनमा छन् । ती हुन् रेड रोस्टर, गिनिज सुपर क्लब, मार्क बर्गर, रिंगो रेस्टुरेन्ट, सि–हाउस । ‘सेलिब्रेटी नेटवर्थ’ का अनुसार उनको कुल सम्पत्ति करिब ५५ करोड रुपैयाँ (५ मिलियन अमेरिकी डलर) छ । उनको सम्पत्तिको स्रोत सेफ सेवा, रेस्टुरेन्ट, पाककलासम्बन्धी पुस्तकलगायत छन् ।

‘दि फेमस पिपुल’ का अनुसार मार्कसलाई एकजना सेफले जबर्जस्ती खाना बनाउन लगाएका थिए, त्यो पनि कुकुरको । सुरुमा कुकुरकै खाना बनाउने काम थाले । त्यसक्रममा उनले धेरैपटक दुव्र्यवहारसमेत खेप्नुपर्‍यो । तर, ती सबैलाई सहन गर्दै अघि बढे । ‘मैले विभिन्न अवरोधहरूलाई छिचोल्नुपर्‍यो,’ मार्कसले एसोसिएटेड प्रेसमा हालै प्रकाशित एक लेखमार्फत भनेका छन्, ‘एक त प्रवासी, अर्को अफ्रिकी नागरिकका रूपमा मैले धेरै अवरोधहरूको सामना गर्नुपर्‍यो । तर, ती सबैले मलाई आफ्नो काममा केन्द्रित हुन सहयोगै गरे ।’ जीवनमा आइपर्ने अवरोधलाई चिर्दै अगाडि बढेमा सफलता प्राप्त गर्न सकिने उनको विश्वास छ ।

बुबाको सुझाव र कलिलै उमेरमा झेलेको समस्याका बाबजुद उनले होटल व्यवसाय नै रोज्ने निष्कर्ष निकाले । आफ्नो व्यवसायका लागि उनले अमेरिकाको न्युयोर्क सहर रोज्न पुगे । यो सहर रोज्नुको कारण थियो– ‘अन्य ठाउँको तुलनामा न्युयोर्क सहर विविधतायुक्त हुनु ।’ त्यहाँ उनले नश्लीय विभेदको सिकार हुनु परेन । त्यही सहरमा उनी व्यापार गर्दै रमाउन थाले ।

‘अचेल त यो सहर मेरा लागि घरजस्तै भएको छ, मैले त्यहाँ धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘विभिन्न नौला स्वादसहितका परिकारहरू ग्राहकलाई पस्कने निधो गर्दै ‘रेड रोस्टर’ सञ्चालनमा ल्याएँ ।’ यसमा विभिन्न संस्कृतिलाई प्रतिविम्बित गर्न उनले कुनै कसर बाँकी राखेनन् । स्वादमा विविधीकरण ल्याएकाले उनको ‘रेड रोस्टर’ रेस्टुरेन्टको लोकप्रियता बढ्दै गयो ।

आदिस अबाबा नजिकै इथियोपियाली गाउँ ‘कासाहुन सेगी’ मा २५ जनवरी १९७० मा उनको जन्म भएको हो । क्षय रोगले उनकी आमाको निधन भएपछि उनी दुई वर्षको उमेरमै टुहुरा बनेका थिए । तर, सौभाग्य नै भन्नुपर्छ, स्विडेनका एक दम्पतीले उनलाई आफ्नो काख दिए । धर्मपुत्र बनाउँदै स्विडेनको गोथेन्बर्ग लिएर गए । पछि उक्त दम्पतीले उनलाई आफ्नै नाम पनि दियो । बाल्यकालमा मार्कस खुसी थिए । तर, स्विडेनको एउटा सानो सहरमा अश्वेत भएका कारण जीवन धान्न उनलाई कठिन थियो । उनलाई यसको कुनै मतलव थिएन । त्यसैले एउटा किशोरले देखाउने सबै गुण उनमा थियो । उनले सुरुमा फुटबलमा रुचि राख्न थाले । पछि माछा मार्ने रुचि बनाए ।

यति मात्रै होइन गर्मीमा आफ्नो परिवारका साथ स्विडेनको तटीय क्षेत्र स्मोगेन भ्रमणमा जाँदा खाना बनाएर सुरक्षित तरिकाले लाने काम पनि उनी गर्थे ।

मार्कसलाई पछि इथोपिया पुर्‍याइयो । सन् २००० मा उनले आफ्ना बुबालाई भेट्ने अवसर पाए । उनले आफ्नो शिक्षा पनि परिवारकै आफन्तको सहयोगबाट पूरा गरेका हुन् ।

मार्कसले स्विडिस हजुरआमा हेल्गाबाट खानाका परिकार बनाउन सिकेका हुन् । हेल्गाले आफ्नो जीवनको अधिकांश समय घरेलु काम गरेर बिताएकी थिइन् । त्यसक्रममा उनले बनाएको रोस्टेट चिकन, विभिन्न अचार र जामहरू बजारमा लोकप्रिय थिए । मार्कसले गोथेन्बर्गस्थित कलिनरी इन्स्टिच्युटबाट उत्तीर्ण भएपछि सन् १९८९ मा स्विजरल्यान्ड हानिए, पछि अस्ट्रिया र फ्रान्सपछि अमेरिका छिरेका हुन् ।

सन् १९९४ मा स्विडिस रेस्टुरेन्ट ‘अक्वाभिट’ ले उनलाई न्युयोर्कका लागि छनोट गर्‍यो । त्यहाँ उनलाई कार्यकारी सेफको जिम्मेवारी दिइयो । उनको व्यवस्थापनमा रेस्टुरेन्टले केही महिनाभित्रै ‘द न्युयोर्क टाइम्स’ बाट ‘थ्री स्टार्स’ को उपाधि हात पार्‍यो । २३ वर्षका उनी ३ स्टार रेटिङ पाउनेमा सबैभन्दा कान्छो बन्न पुगे । बिस्तारै बिस्तारै आफ्नो अनुभव बढाउने क्रममा फ्लाट, स्पोन्जी इन्जिरा ब्रेडसमेत बनाउन सिके । संयोगबस उनले अफ्रिकी क्युसिनबारे कुकबुक पनि लेख्न पुगे । त्यसको बिक्री हवात्तै पढेपछि आम्दानीको अर्को स्रोत उनलाई जुटयो ।

सन् २००९ मा तत्कालीन राष्ट्रपति बराक ओबामाको प्रशासनले हवाइट हाउसमा आयोजना गरेको ‘फस्ट स्टेट डिनर’ का लागि अतिथि सेफका रूपमा उनले काम गरेका थिए । त्यो भोज तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको सम्मानमा आयोजना गरिएको थियो । ठूलो परिणाममा साकाहारी भोजन बनाइएको थियो ।

मार्कसले यसका लागि हवाइट हाउसको बगैंचामा लगाइएका सागपातहरूको प्रयोगसमेत गरेका थिए । सन् २०११ मा ‘रेड रोस्टर’ बाट रकम उठाउने कार्यका लागि सहयोग गरेबापत तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्मान गरेका थिए । उक्त कार्य ‘नेसनल डेमोक्रेटिक पार्टी’ का लागि रकम उठाउने उद्देश्यले गरिएको थियो । त्यहाँ १ दशमलव ५ मिलियन अमेरिकी डलर उठेको थियो ।

(एजेन्सी)

Esewa Pasal

प्रकाशित : श्रावण १९, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

आयुमी सुन्दिनन्, सुनाएरै अर्बपति बनिन्

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — श्रवण शक्ति नभएका एकजना चर्चित अमेरिकी मोडेल, नायक र श्रवण शक्ति नहुनेहरूको अधिकारका पक्षमा वकालक गर्ने नाइल डिमार्कोले एकताका भनेका थिए, ‘सुनाइमा कमजोर भएकाहरूले जीवनमा केही गर्न सक्तैनन् भन्ने आम नागरिकको बुझाइ छ ।’ आम नागरिकको यो बुझाइलाई गलत प्रमाणित गरिदिने सेलिब्रेटीहरू विश्वमा धेरै छन् ।

पहिलो प्रयोगात्मक विद्युत् चिम र ग्रामोफोन अविष्कार गर्ने थोमस अल्वा एडिसन बाल्यकालदेखि नै श्रवणशक्ति विहीन थिए । अझ, हेलेन केल्लर नसुन्ने मात्र होइन दृष्टिविहीनसमेत थिइन्, जो कला संकायमा स्नातकसम्मको शिक्षा हासिल गरी सर्वोत्कृष्ट बनिन् । विश्वकै प्रसिद्ध पियानोबादक तथा शास्त्रीय संगीतज्ञ लुडविङ भ्यान बिथोभेनको पनि श्रवण शक्ति थिएन तर उनले सिर्जना गरेको संगीत सुन्न मानिसको घुँइचो लाग्ने गथ्र्यो ।

भनिन्छ, संगीत एउटा त्यस्तो क्षेत्र हो, जहाँ संगीतकारले पहिले आफू सुन्छन्, त्यसपछि स्रोताहरूलाई सुनाउने गर्छन् । तर, श्रवण दोषका कारण आफूले नसुने पनि तिनले गरेका कालजयी संगीत लोकप्रिय भएका उदाहरण प्रशस्तै भेटिन्छन् । यो कुरो सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, केहीले आफ्नो परिश्रमबाटै यो क्षेत्रमा सफलता पाएका छन् । तीमध्ये जापानी पप स्टार आयुमी हामासाकी पनि एक हुन् ।

उनको श्रवण शक्ति छैन । आफ्नै ब्लग ‘टिम आयु’ मार्फत उनले अघिल्लो वर्षको मे २० मा यो कुरो सार्वजनिक गरेकी थिइन् । ‘स्ट्रेट्स टाइम्स’ का अनुसार जापानी सोलोमा सधैं बेस्ट–सेलिङको उपाधि हासिल गर्न सफल आयुमीको बायाँ श्रवण शक्ति गुमेको नौ वर्ष भइसक्यो । दायाँ कानबाट पनि उनले कम सुन्ने गरेकी छन् । तर, त्यसले उनको संगीत, गीत र कला क्षेत्रमा फड्को मार्न रोकेन, छेकेन । ३९ वर्षीया उनी चर्चित संगीतकी एउटी साधिका हुन् । श्रवण शक्तिमा देखिएको दोषबारे आफ्नो ब्लगमा बेलिविस्तार लगाउँदै लेखेकी छन्, ‘मैले धेरै ठाउँमा आफ्नो कानको परीक्षण गराएँ, कुनै फाइदा भएन, धेरै पहिलेदेखि बायाँ कानबाट सुन्दिन थिएँ, अब दायाँ पनि कमजोर हुँदै गएको छ ।’

‘द रिचेस्ट’ अनलाइनका अनुसार जापानी रेकर्डिङ आर्टिस्ट, मोडेल र नायिका आयुमीको कुल सम्पत्ति ७ अर्ब ७९ करोड रुपैयाँ (७० मिलियन अमेरिकी डलर) भन्दा बढी छ । यो सबै उनले आफ्नै पौरखबाट कमाएकी हुन् । सन् २०१५ को अक्टोबरमा यू–टयुबबाट ६ करोड ८६ लाख रुपैयाँ (६ लाख २५ हजार डलर) कमाएकी थिइन् ।

उक्त च्यानलमार्फत उनलाई हेर्नेको संख्या साढे १२ करोडभन्दा बढी छ । उनको यू–टयुब च्यानलको पौने २ लाख सब्सक्राइबर्स छन्, जसबाट करिब २ लाख रुपैयाँ (१७ सय ५० डलर) प्राप्त गरेकी थिइन् । सन् २०११ को मार्चमा टोहोकु भूकम्प र सुनामी पीडितका लागि आफ्नो आम्दानीबाट लाखौं डलर दान गरेकी थिइन् । उनी सन् २०१० मा आफ्नो एलबम, कन्सर्ट भ्रमण र विभिन्न सम्झौताबाट ४ अर्ब ३९ करोड रुपैयाँ (४० करोड डलर) आम्दानी गर्दै अमेरिकी अखबार ‘फोक्र्स’ को सर्वाधिक ‘अलटाइम’ गायिकाको सूचीमा आफ्नो नाम दर्ज गराउन सफल भएकी थिइन् ।

परिवारको सहयोगमा आयुमी हामासाकीले ७ वर्षकै उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । कलिलै उमेरमा चर्चित बनेपछि उनको माग पनि बढ्दै गयो । पछि उनी टोकियो हानिइन्, त्यहाँ एसओएस टयालेन्ट संस्थामा प्रशिक्षण लिन सुरु गरिन् । टोकियो पुग्दा उनको उमेर मात्र १४ वर्ष थियो । किशोरावस्था टेकेकै बेलादेखि उनले मनोरञ्जन क्षेत्रमा आफ्नो परिचय बनाउन सफल भइन् । ‘सन म्युजिक’ का लागि काम गर्न थालेपछि उनको मोडल करियर एकाएक रोकिन पुग्यो ।

सन् १९९५ मा ‘नोथिङ फ्रम नोथिङ’ का लागि पहिलो ‘र्‍याप इपी’ सार्वजनिक गरिन् । तर, यसले म्युजिकहरूको चर्चित काउन्टडाउन सूचीमा स्थान बनाउन सकेन । यो उनको पहिलो असफलता थियो । तर, हरेस खाइनन् । यो क्षेत्रमा आफ्नो प्रयास जारी राख्दै सन् १९९९ मा उनी पहिलो स्टुडियो एल्बम ‘अ सङ फर एक्सएक्स’ सार्वजनिक गरिन् । उक्त एल्बम जापानको चर्चित संगीत कम्पनीको ‘ओरिकोन चार्टस’ मा पहिलो स्थानमा पुग्न सफल भयो ।

एसियामा संगीत र फेसन ट्रेन्ड्सलाई परिवर्तन गर्नमा उनको पनि योगदान रहेको धेरैको भनाइ छ । यसबाट उनी थप चम्किन पुगिन् । उनको डिमान्ड गर्नेहरू बढेसँगै विभिन्न व्यापारिक र विज्ञापन क्षेत्रमा रातारात छाइन् । उनले जापानमा ५० मिलियनभन्दा बढी रेकर्डिङ सामग्रीहरू बेचेर मुलुककै बेस्ट–सेलिङ कलाकार बन्न पुगिन् । उनको एउटा गायन त सन् १९९९ देखि २०१० सम्म लगातार एक वर्ष पहिलो नम्बरमा पर्न सफल भएको थियो ।

उनी पहिलो कलाकार बनिन्, जसका आठवटा स्टुडियो एल्बमहरू ओरिकोन चार्टसमा सूचीको टपमा परेका थिए । यति मात्रै हैन, उनको एउटा एल्बम १३ वर्ष लगातार सूचीमा परेर उनलाई पहिलो कलाकारसमेत बनायो । सन् १९९३ मा आयुमी टेलिभिजन चलचित्र ‘आर्ट अफ फाइटिङ’ का लागि आफ्नो आवाज दिन सुरु गरेकी थिइन् ।

आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न उनी नायिकाको भूमिकामा समेत देखिन थालिन् । त्यसै क्रममा उनले सुरुमा विभिन्न ‘बी–मुभिज’ र टेलिभिजन नाटकहरूमा आफ्नो कलाको परिचय दिन कुनै कसर बाँकी राखिनन् । तीमध्ये केही चर्चित पनि भए । उनले ‘लाइक ग्रेन्स अफ स्यान्ड’, ‘सुमोमो मो मोमो’, ‘ग्याको द्वितीय’ र ‘डिस्टेन्स लभ’ जस्ता चर्चित चलचित्रमा सफल अभिनय गरिन् । सन् १९९५ मा उनले टीभी शृंखला मिसेइनेनमा नायिकाको भूमिकामा समेत देखिन पुगिन् ।

तर, उनी यो क्षेत्रमा धेरै समय टिकिनन्, छाड्ने निर्णयमा पुगिन् । त्यसपछि नृत्य क्षेत्रमा हाम फालिन् । ‘भेलफयार्रे’ मा नृत्य गर्न थालिन् । त्यसै क्रममा एभेक्स ट्रयाक्स प्रोडयुसर म्याक्स म्याटसुरासँग उनको भेट हुन पुग्यो । उनको ‘कराओके’ गायन सुनेपछि अमेरिकाको न्युयोर्कमा गायन सिक्न पठाउने म्याक्सले निर्णय गरेका रहेछन् । सन् १९९८ मा उनले एभेक्सका लागि आफ्नो पहिलो एकल ‘पोकर फेस’ का साथ गायन क्षेत्रमा प्रवेश गरिन् । त्यसपछि कहिले नटुंगिने गरी उनको गायन यात्रा सुरु भयो । लभ (डिस्टिनी), बोइज एन्ड गल्र्स, नेभर इभर, भोयाग र मुनलगायतका थुपै्र चर्चित र सफल एल्बमहरू सार्वजनिक गर्न सफल भइन् । अनि त उनका लागि पुरस्कारको ओइरो नै लाग्यो । ओरिकन चार्ट अवार्डस, एमटीभी जापान भिडियो म्युजिक अवार्डस्, द जापान रेकार्ड अवार्डस र म्युजिकनेट अवार्डसजस्ता एसियाली संस्थाहरूबाट सम्मानित भइन् ।

आयुमी हामासाकीको जन्म जापानको फुकुओकामा २ अक्टोबर १९७८ मा भएको हो । उनी सानैदेखि बहुप्रतिभाकी धनी हुन् । ‘आयु’ नामले समेत चिनिने उनी ‘इम्प्रेस अफ जे–पोप’ ले जापानमा चर्चित छिन् । ‘सेलिब्रेटी नेटवर्थ’ का अनुसार हाल आयुमी हामासाकीको आम्दानीको स्रोत संगीत नै हो । तर, उनी रेकर्ड प्रोडयुसर, मोडल, संगीतकार, प्रवक्ता, गीतकारको भूमिका निर्वाह गर्दै मनग्ये धन कमाउन सफल भएकी छन् ।

‘टपरिचेस्ट्स डट कम’ का अनुसार सन् २०१७ मा जापानको १० सर्वाधिक धनाढय सेलिब्रेटीमा उनी पहिलो स्थानमा दरिएकी थिइन् । उक्त वेबसाइट्सले उनको अनुमानित कुल सम्पत्ति ४५० मिलियन डलर रहेको जनाएको थियो । जापानको संगीत संस्कृतिमा मात्रै होइन सिंगो एसियामै आफूलाई अब्बल कलाकारका रूपमा उभ्याउन सफल भइसकेकी छन् । उनले ५० मिलियनभन्दा बढी रेकर्ड बेचेर जापानकै बेस्ट सेलिङ आर्टिस्ट बन्न भ्याइन् । उनले महान् परोकारीका रूपमा समेत आफ्नो परिचय दिन भ्याएकी छन् । सुनामी र टोहोकु भूकम्पका पीडितका लागि ३० मिलियन येन दान गरेको ‘टपरिचेस्ट’ वेबसाइटमा उल्लेख छ ।

विश्वका सेलिब्रेटीहरूबारे जानकारी सार्वजनिक गर्ने ‘मेडियामास’ का अनुसार आयुमी हामासाकी ‘पिपुल विथ मनी’ को १० सर्वाधिक रकम लिने गायकहरू (हाइयेस्ट (पे सिंगर्स) को टप टेनमा यो वर्ष मात्रै ६ अर्ब ३७ लाख रुपैयाँ (५८ मिलियन डलर) भन्दा बढीका साथ पहिलो नम्बरमा परेकी छन् । ‘पिपुल विथ मनी’ ले उनको फोटोसहितको कभर स्टोरी नै प्रकाशित गरेको छ ।

(एजेन्सीहरू)

प्रकाशित : श्रावण १२, २०७५ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT