उद्योग खोल्न साढे ४ सय आवेदन

अमृता अनमोल

बुटवल — रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा उद्योग खोल्न ४ सय ५० उद्योगीले आवेदन दिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले इच्छुकलाई एक महिनाभित्र आशयपत्र पेस गर्न आग्रह गरेको थियो । साउन २० गतेभित्र इमेल र सोझै गरी ४ सय ५० आशयपत्र प्राप्त भएको सम्पर्क व्यक्ति तथा बुटवल औद्योगिक क्षेत्रका प्रबन्धक तुलबहादुर रानाले बताए ।

बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ, घरेलु तथा साना उद्योग महासंघ, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोदन गाउँपालिकालगायतले पनि इच्छुक उद्योगीका आशयपत्र संकलन गरेका थिए । धेरै उद्योगीले औषधि, सोलार, मेटल, फर्निचर, आईटी सफ्टवेयर, केवल तथा टान्सफर्मर, प्याकेजिङ, प्लास्टिकलगायत उद्योगका लागि जग्गा माग गरेका छन् । खाद्यान्न, डेरी, आयुर्वेदिक औषधि, पानीलगायतका लागि पनि जग्गा माग भएको छ । उद्योगका लागि आशयपत्र दर्ता गर्नेमा रूपन्देहीका उद्योगी धेरै छन् । आसपासका जिल्लासँगै बाहिरी क्षेत्रका घरानियाँ उद्योगीले पनि उद्योग खोल्न आवेदन दिएका छन् ।


औद्योगिक क्षेत्रमा सरकारले यस वर्षदेखि भौतिक संरचना निर्माण गर्दै छ । लगानीकर्ताले कस्ता उद्योग स्थापना गर्न खोजेका छन् भन्ने पत्ता लगाउन संरचना निर्माण नगर्दै आशयपत्र माग गरिएको हो । ‘आशयपत्रको विस्तृत अध्ययनले यस क्षेत्रमा कस्ता उद्योगको सम्भावना छ ? उद्योगीले कति क्षेत्रफलको जग्गा चाहन्छन् भन्ने थाहा हुनेछ,’ प्रबन्धक रानाले भने, ‘अब त्यसअनुसार संरचना निर्माण गर्न पनि सहयोग पुग्नेछ ।’ तिनाउ किनारको मोतीपुरमा ८ सय १३ बिघा क्षेत्रफलमा ५ नम्बर प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्दै छ ।

Yamaha


औद्योगिक क्षेत्र रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुरमा प्रदेशस्तरीय औद्योगिक क्षेत्रका लागि बस्ती व्यवस्थापन तयारी थालेको छ । औद्योगिक क्षेत्रका लागि छुटयाइएको ८ सय १३ बिघा क्षेत्रफलमध्ये १ सय ५० बिघामा बस्ती छ । अहिले कति बस्ती राख्ने र कतिलाई स्थानान्तरण गर्ने भन्ने लगत संकलन भइरहेको छ । स्थानीय तहले बाक्लो बस्ती छोड्न र पातलो स्थानान्तरण गर्न सुझाव दिएका छन् ।


विद्यालय र केही सार्वजनिक क्षेत्रका लागि समेत जग्गा छोड्नुपर्ने माग छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले साउन महिनाभित्र कार्यालय सञ्चालन गर्ने र भदौदेखि बस्ती व्यवस्थापन थाल्ने बताए ।


औद्योगिक व्यवस्थापन लिमिटेडले यसअघि औद्योगिक क्षेत्रका अपेक्षाबारे स्थानीय नागरिक र स्थानीय तहका प्रतिनिधिसित सुझावसमेत लिएको थियो । स्थानीयले बस्ती व्यवस्थापन गरेर उद्योग खोल्न सुझाव दिएका छन् ।


डीपीआरअनुसार औद्योगिक क्षेत्रमा करिब दुई सय ठूला तथा मझौला उद्योग स्थापना गर्न सकिन्छ । औद्योगिक क्षेत्रले प्रस्तावित स्थानमा माटोको बेस परीक्षण पनि गरेको छ । यसले ठूला उद्योगका पूर्वाधार पनि निर्माण गर्न सकिने देखिएको छ ।

Esewa Pasal

प्रकाशित : श्रावण २५, २०७५ ०९:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आदिवासी सौन्दर्य

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व आदिवासी दिवस साउन २४ (९ अगस्ट) मा मा विगतमा सडकमा अधिकारका निम्ति चर्को नाराबाजी हुन्थ्यो । यस पटक पनि नाराबाजी उस्तै रह्यो, तर नारा लाउनेहरू फरक थिए, मौलिक पहिरनमा । जस्तो, बीएमटी तेस्रो सेमेस्टरकी पूर्णिमा गुरुङ ।

‘सधैं तमु ल्होछारमा मात्र सहभागी हुन्थें,’ तमु समाज, धापासीको हूलमा भेटिएकी उनले भनिन्, ‘यस पटक आमा र बाबासँगै आदिवासी दिवस मनाउन आइपुगें ।’


बिहीबार भृकुटीमण्डपबाट निस्किएको सांस्कृतिक र्‍यालीमा गीत, बाँसुरी, ढोल, झ्याम्टा, डम्फु, ढ्याङ्ग्रो, घण्ट गुन्जिरहे । चमर हल्लिइरहे । पंक्तिमा थिए गोन्पो, लामा, पच्युहरू पनि ।


ह्वीलचेयर प्रयोगकर्ता चेलीहरू रजिता खडका, सोनिता लामा, गंगा छन्त्याल, संगीता सिलवाल र जमुना तामाङले राष्ट्रिय सभागृहमा आयोजित औपचारिक समारोहमा ‘हामी नेपाली, हाम्रो नेपाल’ गीतमा ह्वीलचियरबाटै नृत्य प्रस्तुत गरे ।


उता, किरात सुनुवार सेवा समाज, गोकर्णेश्वर नगर समितिको प्रतिनिधित्व गर्दै कमल सुनुवार मौलिक पहिरनमा थिए । उनले चारवर्षे छोरालाई समेत मौलिक पोसाकमै डुलाइरहेका थिए । ओखलढुंगे यी किरातीले पहिरिएका थिए, खाँडीका दौरा–सुरुवाल, ढाका टोपी र जाली रुमाल । नेपाल मगर महिला सांस्कृतिक संघको प्रतिनिधित्व गरिरहेका उपाध्यक्ष अमला थापामगर र हीरामाया थापामगर रातो चोला, घलेक, पछयौरा, पटुकीमा थिए । थारू महिला सभा, उपत्यका कार्यसमितिबाट सहभागी तारा चौधरी पातलो नीलो साडी, चोला, शिरमा मानटिका, कानमा थारु कल्याणकारी सभाको लोगो अंकित झुम्का, चन्द्रहार, बाजु, जन्तर, हँसुली, सुतियार, खुट्टामा कारा । मुजबाट बनेको सिपीको खपटा प्रयोग गरिएको ढकियाले धेरै आँखा तानेका थिए ।


किरात राई यायोक्खाको झाँकीमा यलम्बरको भेषमा थिए– विजय छाङछा राई । होचो कदमा खाँडीका दौरा सुरुवाल, अल्लोको जुहारी कोटी, ढाका टोपी, सपक्कै पटुकी कसेर खुकुरी भिरेका । मुगुको प्रतिनिधित्व गर्दै थिइन्, सोनाम याम्की मुगाल । स्याको (फरिया), केव्य, तोजी, न्यानु, कारा पहिरिएकी थिइन् । पूर्वी धनकुटाकी इन्दिरा जिमी किराती याक्खा पहिरनमा थिइन् ।


ललितपुरको दक्षिण भेगका रजनी गोले, नम्रता डिमडुङ, कल्पना जिम्बा, श्याम लामाहरू घलेक, आङगी लगायत मौलिक पहिरनमै थिए। ‘आजै त हो आफ्नै भेषभूषा, आफ्नो पहिचान सबैलाई देखाउने,’ मुस्कुराउँदै रजनीले भनिन्, ‘भाग्यमानी पुस्ता हामी नै हौं । कम्तीमा मौलिक भेषभूषा लगाउने, संस्कृति जोगाउने अवसर पाएका छौं ।’

प्रकाशित : श्रावण २५, २०७५ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT