कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले तोक्यो धानको मूल्य

चैते धानको पनि छिट्टै मूल्य सिफारिस गर्छाैं : कृषि सचिव जीसी
किसानको धान किन्न कार्ययोजना बनाउँदै छौं : आपूर्तिमन्त्री यादव
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको न्यूनतम मूल्य २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यमको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको हो ।

सरकारले तोक्यो धानको मूल्य

कृषि मन्त्रालयका सहसचिव लेखानाथ आचार्यको संयोजकत्वमा गठित कमिटीले सुझाएबमोजिम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो मूल्य सिफारिस गरेको थियो ।


त्यसपश्चात् आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, दुवै मन्त्रालयका सचिवहरूलगायत अधिकारीहरूबीच भएको छलफलमा मूल्य मन्त्रिपरिषद्मा सिफारिस गर्ने सहमति भएको थियो । बुधबारको मन्त्रिपरिषद्ले भने मूल्य नै तोक्ने निर्णय गरेको सहसचिव आचार्यले बताए ।


‘कमिटीले सिफारिस गरेको मूल्य मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ,’ उनले भने, ‘सरकारले धानको बिक्री र मूल्यलाई सुनिश्चितता गर्न मूल्य निर्धारण गरेको हो ।’ समयमै समर्थन मूल्य तोक्दा किसानलाई राहत हुने र धानको उचित मूल्य पाउने जानकारहरू बताउँछन् ।


विगतमा सरकारले मूल्य तोके पनि पूर्ण रूपमा कार्यान्वयनमा नआउँदा किसानले राहत पाएका थिएनन् । कृषि सचिव युवकध्वज जीसीले चालु आर्थिक वर्षमा किसानको धान खरिद नै गर्ने योजना रहेको बताए ।

‘विगतमा धानको मूल्य सिफारिस भए पनि कार्यान्वयन भएको थिएन,’ उनले भने, ‘चालु आर्थिक वर्षमा केही प्रतिशत किन्ने नै योजना बनाएका छौं ।’ कृषि मन्त्रालयले चैते धानका लागि पुन: मूल्य सिफारिस गर्ने जनाएको छ । ‘चैते धानको पनि मूल्यांकन गरिरहेका छौं,’ सचिव जीसीले भने, ‘त्यसको पनि समर्थन मूल्य दिन्छौं ।’

प्रकाशित : श्रावण २५, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?