कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से साढे २ वर्ष यताकै न्यून

सेयर बजारमा एकै दिन साढे १६ अंकको गिरावट 
कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारको घट्ने क्रम आइतबार पनि रोकिएन । गतसाता सबै कारोबार दिन घटेको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति पछ्याएको हो । अघिल्लो दिनको तुलनामा १६.६९ (१.४१ प्रतिशत) ले घटेर नेप्से परिसूचक आइतबार १ हजार १ सय ६३.९४ विन्दुमा ओर्लियो । यो करिब साढे दुई वर्षयताकै न्यून हो । 

नेप्से साढे २ वर्ष यताकै न्यून

प्रदेश र केन्द्र सरकारको चुनावपछि बनेको हालको सरकार गठन भएदेखि नै नेप्से अपेक्षित रूपमा बढ्न सकेको छैन । त्यसपछिका अधिकांश दिन ऋणात्मक रहेको नेप्से थोरै दिन मात्र बढ्यो । बढेको दिनमा पनि उच्च अंकको वृद्धि देखिएको छैन । यसकारण समग्र नेप्से घट्दो क्रममा देखिएको हो । सेयर बजारका सम्बन्धमा सरकारको धारणा प्रस्ट हुन नसक्नु, बेलाबेलामा कालोधनको अनुसन्धानको चर्चा चल्नु, अत्यधिक सेयर आपूर्ति हुनु, हकप्रद तथा बोनस सेयरमा पुँजीगत लाभकर गणना विषयमा अन्योललगायत कारण सेयर बजार वृद्धिको बाटोमा हिँड्न नसकेको विज्ञहरू बताउँछन् ।


उल्लिखित विषयसँगै बैंकको ब्याजदर वृद्धि पनि सेयर बजार बढ्न नसक्नुको प्रमुख कारण भएको एक ब्रोकरले बताए । ‘अरू केही होइन, पछिल्ला दुई वर्षमा धेरै सेयर बजारमा थपिएको छ, यही समयमा तरलता अभाव भएको भन्दै बैंकहरूले ब्याजदर महँगो बनाएका छन्,’ उनले भने । पछिल्ला एक/दुई महिनायता बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने क्रम बढेकाले बिस्तारै अल्पकालीन प्रकृतिका कर्जाको ब्याजदर घट्न थालेको छ । यही क्रम जारी रहे आउँदा दिनहरूमा सेयर बजारले सुधारको बाटो पछयाउने उनले दाबी गरे ।


‘दीर्घकालीन लगानीकर्ताले अहिले राम्रा कम्पनीको सेयरमा लगानी बढाउन थालेका छन्,’ उनले भने, ‘बजारमा राम्रा कम्पनीहरूको सेयर आपूर्ति घट्न थालेको छ ।’


०७२ पुस २३ गते नेप्से १ हजार १ सय ६४.१४ विन्दुमा थियो । त्यसपछि बढ्न थालेको नेप्से ०७३ साउन १२ गते हालसम्मकै उच्च विन्दु १ हजार ८ सय ८१.४५ मा पुग्यो । त्यसअघिको नेप्सेको उच्च विन्दु १ हजार १ सय ७५ अंक थियो । ०७३ साउन १३ देखि घट्न थालेको नेप्से आइतबारसम्म १ हजार १ सय ६४ मा आर्लेको हो । यो परिसूचक गत चैत १२ गते १ हजार १ सय ६८.६२ विन्दुमा थियो ।


दुई साताअघिसम्म स्थिरजस्तै देखिएको नेप्से गत सातादेखि घटिरहेको छ । अधिकांश कारोबार दिनहरूमा घटेको नेप्से कहिलेकाहीँ बढ्ने गरेको छ । नेप्से बढ्दा वा घट्दा यसअघिको भन्दा धेरै कमको मात्र कारोबार हुँदै आएको छ भने घटबढको अंक पनि न्यून छ । यसको अर्थ बजारमा उत्साहित किसिमले कारोबार हुन सकेको छैन । यसैगरी बजारमा विभिन्न कम्पनीहरूको सेयर (थप निष्कासन–एफपीओ) जारी गरिरहेका छन् । यसले पनि लगानीकर्ताको ध्यान त्यतातिर गएकाले दोस्रो बजार प्रभावित भएको जानकारहरू बताउँछन् ।


आइतबार करिब ४ हजार २ सय कारोबारबाट १ सय ६२ कम्पनका ७ लाख ८१ हजार ५ सय ६० कित्ता सेयर किनबेच भए । ती किनबेचबाट २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेर १३ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको छ । उक्त दिन ट्ेरडिङ र होटलबाहेक सबै समूहका परिसूचक घटे ।

प्रकाशित : श्रावण २७, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?