बिनामितिका खाद्यवस्तु बजारमा

रमेशचन्द्र अधिकारी

धनकुटा — सरकारले खाद्य वस्तुमा उत्पादन र उपभोग्य मिति अनिवार्य गरेको छ । बिनामितिको खाद्य बेचेको पाइए कारबाही गर्न सकिने कानुनी व्यवस्था पनि छ । तर, धनकुटामा भने खाद्य उत्पादक र व्यवसायीले बिनामितिकै आफ्ना उत्पादन बजारमा पठाउने गरेका छन् । पसलेहरूले पनि निर्धक्क ती खाद्य वस्तुहरूको बिक्री गरिरहेका छन् ।

उत्पादन र उपभोग्य मिति उल्लेख नभएका वस्तुहरूमा बिस्कुट, खानेपानी र पेयपदार्थ लगायतका छन् । केही खाद्य वस्तुमा मिति उल्लेख गरिए पनि उपभोक्ताले नबुझिने गरी लतपतिएको अवस्था रहेका छन् ।

अधिकांश व्यापारिक केन्द्रमा त्यस्ता वस्तु बिक्री भइरहेका छन् । खासगरी यहाँ उत्पादन हुने अधिकांश बिस्कुटलगायतका वस्तुमा मिति राखिएको छैन । त्यस्तै, बाह्य जिल्लामा उत्पादन गरिएका मिनरल वाटर (पानी) मा उत्पादन र उपभोग्य मिति उपभोक्ताले नबुझिने गरी राखिएका छन् ।

Yamaha

सुनसरीको इटहरी २ स्थित दिव्य आक्वा नामको मिनरल वाटरको बोतलमा उत्पादन र उपभोग्य मिति लतपतिएको छ । केही दिनअघि हिलेस्थित होटल होराइजमा भएको कार्यक्रममा सहभागीले पनि उक्त पानीको बोटलमा मिति लतपतिएको अवस्थामा फेला पारेर प्रशासनलाई जानकारी गराएका थिए ।

बजारमा सबैभन्दा बढी बिक्री हुने उक्त पानीको प्राय: कुनै पनि बोतलमा मिति बुझिने गरी राखिएको छैन । रजिस्ट्रेसन नं. १०००२/७०/७१ उल्लिखित उक्त बोतलमा उत्पादन गरिएको ६ महिनासम्म उपभोग गर्न सकिने जानकारी गराइएको छ । तर, उत्पादन मिति नै स्पष्ट नभएपछि उपभोग्य मितिभन्दा बढी पनि पानी बिक्री वितरण हुने गरेको छ ।

दिव्य आक्वाका सञ्चालक दिनेश भट्टराईले मिति अस्पष्ट भएको स्वीकार गरे । उनले हातले छाप लगाउने क्रममा कमजोरी रहेको बताए । तर, सबै बोतलमा यस्तो अवस्था हुनुमा कामदारको कमजोरी रहेको जनाए । अन्य कतिपय बोटलमा पनि यसप्रकारका समस्या रहेको उपभोक्ताले जनाएका छन् । तर, मिति अस्पष्ट हुनेगरी बजारमा बिक्री गरिंदै आए पनि त्यसको नियन्त्रणका लागि प्रशासनिक तबरबाट खासै चासो दिइएको छैन ।

यसैगरी, अधिकांश बिस्कुट उद्योगले उत्पादन र उपभोग्य मिति राख्ने गरेका छैनन् । धनकुटा नगरपालिका ७ शीतलपाटीबाट उत्पादित कोकिस नामको बिस्कुटको पकेटमा उत्पादन र उपभोग्य मिति छैन । धनकुटा ५ स्थित न्यू बाबा बेकरी उद्योगले बिक्रीका लागि तयारी अवस्थामा राखिएका बिस्कुट, डुनट तथा पाउरोटीमा मिति उल्लेख नभएको सिधुवाका कल्पना
गुरुङले बताइन् ।

जिल्लाका अधिकांश व्यापारिक केन्द्रमा बिस्कुट बिक्री हुने गर्छ । म्याद गुज्रिएका औषधि तथा खाद्य वस्तु, मूल्यसूची नराखिएको, सूर्तीजन्य वस्तु र मदिरा इजाजत नलिई पनि बिक्री गरिएका छन् । बजार क्षेत्रका केही वधशाला अव्यवस्थित छन् । जिल्लास्थित सरोकारावाला निकाय यसप्रति गम्भीर नभएको गुनासो सर्वसाधारणको छ । उपभोक्ता अधिकारका सवालमा काम गर्ने संघसंस्था तथा निकायसमेत सक्रिय छैनन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धनगढीका ३ आयल स्टोरमा सिल

अर्जुन शाह

धनगढी — इन्धन बिक्रिमा ठगि गर्ने गरेको आरोपमा धनगढीका ३ वटा पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । धनगढीका शिवशंकर, मल्ल र हरी आयल स्टोरमा सिल गरिएको हो । 

सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा नाप तौल कार्यालय र आयल निगमको टोलीले गरेको बजार अनुगमनको क्रममा डिजेल पेट्रोलको बिक्रिमा मात्रा घटाएको पाइएकोले सिल गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए। समितिले ६ वटा आयल विक्री केन्द्रको अनुगमन गरेको जनाएको छ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीका प्रमुख रोशन गौतमका अनुसार सिल गरिएका पेट्रोल पम्पलाई पहिलो पटक भएकाले नापतौल ऐन ०२५ अनुसार एक हजार जरिवाना तिरेपछि मात्र सुचारु गर्न पाउनेछन्।

प्रकाशित : श्रावण २९, २०७५ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT