१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

१ अर्ब ३९ करोड बजेट फ्रिज

कान्तिपुर संवाददाता

गोरखा — आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा आएको १ अर्ब ३९ करोड २२ लाख रकम फ्रिज भएको छ ।
चालुतर्फ ७० करोड ४ लाख ७ हजार र पुँजीगततर्फ ६९ करोड १८ लाख ३ हजार रूपैयाँ खर्च हुन नसकेर फिर्ता गएको हो ।

१ अर्ब ३९ करोड बजेट फ्रिज

चालुतर्फ गत आर्थिक वर्ष १५ अर्ब ९९ करोड ५६ लाख ४४ हजार विनियोजन भएकोमा १५ अर्ब २९ करोड ५२ लाख ३७ हजार खर्च भएको छ । पुँजीगततर्फ २३ अर्ब २८ करोड ४५ लाख ६७ हजार विनियोजन भइ आएकोमा २२ अर्ब ५ करोड २७ लाख ६४ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

‘चालुतर्फ ९५.६२ प्रतिशत र पुँजीगत तर्फ ९७.०२ प्रतिशत विनियोजनको तुलनामा खर्च भयो,’ प्रमुख कोष नियन्त्रक श्रीधर ज्ञवालीले भने । विकासमा प्रत्यक्ष खर्च हुने पुँजीगतअन्तर्गत पर्छन् । बुढीगण्डकीको मुआब्जा रकम पनि पुँजीगत खर्चअन्तर्गत राखिएको छ । ‘गत वर्ष चालु खर्चभन्दा पुँजीगत खर्च बढी छ । बुढीगण्डकी आयोजनाको कारण यस्तो अवस्था देखिन आएको हो,’ उनले भने ।

तलब, महँगी भत्ता, फिल्ड भत्ता, घर भाडा, इन्धन खर्च, कर्मचारी तालिम गोष्ठीलगायतका खर्च चालु खर्चमा पर्छन् । विकास कार्यक्रमका केही खर्च पनि चालुतर्फ पर्ने ज्ञवालीले बताए ।

गत आवको असारमा मात्र पुँजीगततर्फ ११ अर्ब खर्च भएको कोलेनिकाको तथ्यांकमा छ । कुल खर्चमध्ये असारमा मात्रै पुँजीगततर्फ ४८.७० प्रतिशत खर्च भएको छ ।

‘गत वर्ष कुल खर्चमध्ये ९ अर्ब ४१ करोड रुपैयाँ निजी आवास अनुदानतर्फ भयो,’ उनले भने । स्थानीय तहहरूमा वित्तीय अधिकार हस्तान्तरण भएर गएको रकममध्ये ससर्त अनुदानको रकम फिर्ता गर्न निर्दिष्ट गरिएकोमा चुमनुब्री, सुलिकोट, अजिरकोट र आरुघाट बाहेक अरू सबै गाउँपालिका र नगरपालिकाहरूले फिर्ता गरिसकेको प्रमुख ज्ञवालीले बताए ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?