कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसुवागढीको सुरुङमार्ग छिचोलियो

रसुवा — रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्ग सोमबार छिचोलिएको छ । १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना गोसाइँकुण्ड गाउँपालिका थुमन र टिमुरेको सिमानामा निर्माण भइरहेको छ ।

रसुवागढीको सुरुङमार्ग छिचोलियो

रसुवागढी जलविद्युत् आयोजना रन अफ रिभर प्रकृतिको आयोजना हो । आयोजनाको ४ हजार १ सय ८४ मिटर लम्बाइ रहेको मुख्य सुरुङमार्ग छिचोलिएको रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी प्रमुख माधव कोइरालाले बताए ।


‘आयोजनाको सबैभन्दा महत्त्वपूर्ण मानिएको मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ,’ कोइरालाले भने, ‘कम्पनीलाई ठूलो सफलता मिलेको छ ।’ अब तोकिएकै समयमा विद्युत् उत्पादन हुन्छ । अहिले सिभिलतर्फको काम धमाधम भइरहेको छ । अधिकांश संरचना भूमिगत रहेको यस आयोजनाको सिभिलतर्फको निर्माण चिनियाँ ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ ।


२०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ६७ प्रतिशत काम सकिएको आयोजना प्रमुख छवि गैरेले बताए । ‘बाँधस्थलमा भएको इन्टेकको काम, ३ वटा भूमिगत पानी थिग्राउने पोखरीको निर्माण, भूमिगत विद्युत्गृह निर्माण, टेलरेस सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा एक साथ भइरहेको छ,’ उनले भने ।


सन् २०२० को फेब्रुवरीमा तीनवटै युनिटबाट विद्युत् उत्पादन गर्ने हिसाबले काम अगाडि बढेको छ । समग्रमा आयोजनाको भौतिक प्रगति सन्तोषजनक रहेको आयोजनाले जनाएको छ । भूकम्प र नाकाबन्दीको कारण रसुवागढी जलविद्युत् आयोजना केही समय निर्माण स्थगित भएको थियो । रसुवागढी जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीहरूले निर्माण सुरु गरेका आयोजनाहरूमध्ये निर्माण भइरहेको सबैभन्दा ठूलो आयोजना हो ।


चिलिमे जलविद्युत् कम्पनीले रसुवागढी १ सय ११ मेगावाट, सान्जेन ४२.५ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र मध्य भोटेकासी १०२ मेगावामा लगानी गरेको छ । रसुवागढी जलविद्युत् कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी र नेपाल विद्युत् प्राधिकरण संस्थापक सेयरधनी रहेका छन् । आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।


भूकम्प र नाकाबन्दीको चपेटामा परे पनि आयोजनाको लागत नबढ्ने दाबी गरिएको छ । भोटेकोसी नदीमा रसुवागढीभन्दा करिब ४ सय मिटर तल बाँध बाँधी ४ हजार २ सय मिटर लामो मुख्य सुरुङ तथा ३ सय १३ मिटर लामो पेनस्टक पाइपबाट ३ वटा टर्वाइनमार्फत १ सय ११ मेगावाट विद्युत् उत्पादन हुनेछ । रसुवागढी जलविद्युत् आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ ।


प्रकाशित : भाद्र ६, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?