कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लसुनले भाउ पाएन

हरि गौतम

रुकुम पश्चिम — मूल्य नपाएपछि यहाँको एउटै वडाको तीन सय क्विन्टल लसुन बिक्री भएको छैन । मुसीकोट नगरपालिका १० का किसानले उत्पादन गरेको लसुन उचित मूल्य नपाएपछि बिक्री नगरेका हुन् ।

लसुनले भाउ पाएन

गत वर्षको तुलनामा यो वर्ष लसुनले मूल्य पाएको छैन । व्यापारीहरूले गत वर्षको भन्दा ४० रुपैयाँ कम मूल्यमा लसुन किन्छौं भनेपछि किसानले लसुन बेचेका छैनन् । गत वर्ष प्रतिकिलो १ सय २० रुपैयाँमा लसुन बिक्री गरेका किसानले यो वर्ष ८० रुपैयाँमा मात्रै लसुन बिक्री गर्न मानेका छैनन् । ‘८० रुपैयाँले हाम्रा लागत नै उठ्दैन कसरी बिक्री गर्नु,’ लसुन उत्पादक किसान झुपलाल खड्काले भने, ‘एकैपटक ठूलो अन्तरमा घटाइएको मूल्यमा हामी कसैले लसुन बिक्री गर्न सकेका छैनौं ।’

विभिन्न टोलमा उत्पादन भएको तीन सय क्विन्टल लसुन किसानको घरमै थन्किएको छ । समयमै लसुन बिक्री नभएर खराब भएर जाने भन्दै किसान चिन्तित बनेका छन् । अर्का किसान खम्बुबहादुर खड्काले घाटा हुने भएपछि कसैले पनि लसुन नबेचेको बताए । ‘हाम्रो यो चुन र गलम्पाटी टोलमा घरघरै लसुन उत्पादन भएको छ,’ उनले भने, ‘व्यापारीले तोकेअनुसार हाम्रो दु:ख उठदैन । त्यसैले हामी कसैले लसुन बेचेका छैनौं ।’ उनले आफू र झुपलाल खड्काले ५०/५० क्विन्टल लसुन उत्पादन गरेको जानकारी दिए ।

१० नम्बर वडाका करिब ४० घरधुरीले लसुन उत्पादन गरेका छन् । एउटा घरमा २ देखि ५० क्विन्टलसम्म लसुन थन्किएको वडा अध्यक्ष गोपेश्वर केसीले बताए । ‘यस विषयमा नगर कार्यपालिकामा पनि छलफल भएको थियो,’ उनले भने, ‘नगर कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मालाई बजार पहिचान गर्ने जिम्मा दिएको छ ।’

हालसम्म पनि लसुनको उचित मूल्य दिने बजार नभेटिएको अध्यक्ष केसीले बताए । यातायात सेवा नहुँदा पनि किसानले थप हैरानी व्यहोर्नुपरेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?