कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपभोक्ताको घरदैलोमै किसान

प्रकाश बराल

बागलुङ — सदरमुकाम नजिकैको पावरहाउसका देवीप्रसाद जैसी दैनिक तरकारी बोकेर बजार पुग्छन् । दुई घण्टामा डोकोभरिको तरकारी बेचेर घरको काम भ्याउन फर्कन्छन् । जैसीकै जस्तो दैनिकी नारायणप्रसाद शर्मा र नरबहादुर थापाको पनि छ ।

उपभोक्ताको घरदैलोमै किसान

शर्माले दैनिक १२ लिटर दूध र माछा बिक्री गर्छन् भने थापाले ताजा तरकारी फलाउँछन् ।

यसरी दैनिक डोकोमा बोकेर सीधै उपभोक्ताको दैलोमा पुर्‍याउँदा उनले बिचौलियाको समस्या भोग्नुपरेको छैन । बजारमा ९० रुपैयाँ लिटर पर्ने दूध शर्माले ७० रुपैयाँमा घरमै पुर्‍याएपछि नगद हात पार्न सफल छन् । किसानले दैनिक आफैंले बजारमा कृषि फसल पठाउँदा उपभोक्ताले तुलनात्मक कम मूल्यमा तरकारी खान पाएका छन् । यहाँका सबै किसान स्थानीय भने होइनन् । कृषि पेसाकै लागि बागलुङ नगरपालिका ३ को गौंडाकोट, पावरहाउस र मूलपानीमा आएर बसेका हुन् । उनीहरूले जग्गा भाडामा लिएर वार्षिक ४ लाखदेखि १० लाख रुपैयाँ कमाउन सफल भएको बताए ।

पैयुँथन्थापदेखि झरेका गंगाबहादुर थापाले १५ वर्षअघिदेखि थालेको कृषि पेसालाई पछयाएर यहाँका यतिधेरै किसानहरू संगठित भएका हुन् । उनीहरूमध्ये धेरैले ताजा तरकारी लगाएका छन् । ३० जनाले व्यावसायिक दूध उत्पादन गर्छन् । ४ जना किसानले बंगुर पालेका छन् । १० जनाले कुखुरा पालेका छन् । ५ जनाले कन्ये च्याउ उत्पादन गर्छन् । केहीले केरा खेती गरेका छन् भने अधिकांश किसानले रायो साग, मुला, घिरौंला, करेला र वर्षे तरकारी गरेर कमाइ गरिरहेको थापाले बताए ।

हरेक दिन यहाँका ८० देखि १ सयजना किसानले डोकोमै बोकेर फसल बजार पुर्‍याउँछन् । नगरभित्रकै कुँडुले, तित्याङ, भकुन्डे र रायडाँडाका किसानले फलाएको उत्पादनले दैनिक कुल मागको ८० प्रतिशत माग धानेका छन् । बाँकी २० प्रतिशत तरकारी तराईबाट आउने गरेको वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए ।

सुक्खा मौसममा भने बागलुङ बजारको मागको झन्डै ४० प्रतिशतभन्दा बढी तरकारी बाहिरबाटै भित्रिन्छ । दूध, कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउन पशु सेवा कार्यालयले केही वर्षदेखि प्रयास गरिरहेको छ । सुक्खा मौसममा दूध पनि १० देखि १५ प्रतिशत पुग्दैन । अण्डा र कुखुराको मासु छिटफुटबाहेक बाहिरबाट नआउने गरी किसानले उत्पादन थालेका छन् ।

उत्पादनलाई सहजै बजार पठाउन सकिने यातायातको व्यवस्थापन भएमा किसानले मागलाई धान्न सक्ने थापा दाबी गर्छन् । ‘हामीले अहिले सम्म बिचौलियाको सास्ती खेपेका छैनौं,’ थापाले भने ।

नगरपालिकाले बिक्री केन्द्र बनाएर न्यूनतम भाडामा सटर राख्ने व्यवस्था गरिदिएमा तरकारी र दूधमा सिन्डिकेट अन्त्य गर्ने उनले दाबी पनि गरे । अहिले बागलुङ बजारमा बिहुँ, भीमापोखरा, पाला, मूलपानी, मालिका र बलेवा क्षेत्रबाट आएको दूधले बजारको माग धानेको छ । चाडपर्व र सुक्खा मौसममा छिटफुट रूपमा पोखरादेखि दूध आउने गरेको छ । दशकअघिदेखि किसानले कृषि उपज संकलन केन्द्रको माग गरेपनि बन्न सकेको छैन ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?