कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो बैठक निष्कर्षविहीन

पश्चिम सेती वार्ता
विजय तिमल्सिना

काठमाडौँ — पश्चिम सेती जलाशययुक्त आयोजना निर्माणमा देखिएको अन्योलबारे प्रवद्र्धक कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन र नेपाली सरोकारवालाबीच वार्ता सुरु भएको छ । वार्ताको लागि थ्री गर्जेजका सभापति जाओ जिङजियाङसहितको टोली नेपाल आएको छ ।

पहिलो बैठक निष्कर्षविहीन

थ्री गर्जेजसँगको पहिलो दिनको वार्ता कुनै निष्कर्षमा नपुगेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । ‘डलरमा विद्युत् खरिद गर्ने र जडित क्षमता घटाउने विषयमा छलफल भयो,’ अधिकारीले भने, ‘दुवै विषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।’


आज फेरि वार्तामा बस्ने सहमति भएको अधिकारीले बताए । थ्री गर्जेजसँगको वार्तामा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीसहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, प्रधानमन्त्री कार्यालयका सहसचिव हरि पौडेल, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतम, बोर्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सुनिल पौडेलसमेत सहभागी थिए ।


‘आजको बैठकमा कुनै निष्कर्ष ननिस्किएकाले बुधबार पुन: छलफल हुने भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।


आज यो टोलीसँग वार्तापछि थ्री गर्जेजको टोलीले अर्थमन्त्री युवराज खतिवडा र ऊर्जामन्त्री वर्षमान पुनसँग पनि संयुक्त छलफल गर्नेछ ।


आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले विभिन्न सर्त राख्दै निर्माणमा चासो नदेखाएपछि बोर्डले वार्ताका लागि बोलाएको हो । साउन १ गते बसेको लगानी बोर्डको सञ्चालक समितिको बैठकले बोर्ड कार्यालयलाई ७५० मेगावाट क्षमताको पश्चिम सेतीबारे २ महिनाभित्र निष्कर्षमा पुग्ने गरी सरोकारवालासँग छलफल थाल्न निर्देशन दिएको थियो । चिनियाँ प्रवद्र्धकले लामो समयदेखि आयोजना निर्माणमा तदारुकता नदेखाएपछि सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वदेशी लगानीमा आयोजना बनाउने घोषणा गरिसकेको छ ।


आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले मुख्यत: दुई माग अघि सारिरहेको छ । प्राधिकरणले तय गरेको जलाशययुक्त आयोजनाको विद्युत् खरिददरमा विद्युत् बिक्री गर्दा आफूलाई घाटा हुने भएकाले यसको दर बढाउनुपर्ने वा आयोजनाको जडित क्षमता घटाउनुपर्ने उसको सर्त छ । यीबाहेक अन्य केही माग पनि थ्री गर्जेजले राख्दै आएको छ ।


लगानी बोर्ड र चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनबीच २०६८ मा आयोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । थ्री गर्जेजले आफ्नो अध्ययनअनुसार ७५० मेगावाट क्षमतामा पश्चिम सेती आयोजना बनाउँदा लागत महँगो पर्ने भन्दै ६ सय मेगावाट क्षमतामा बनाउने प्रस्ताव गरेको थियो । नेपाली पक्षले यसलाई अस्वीकार गर्दै आएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?