सामूहिक कृषि उत्पादनमा युवा

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाका युवा सामूहिक कृषि तथा पशु उत्पादनमा जुटेका छन् । चौरजहारी–५, ६ र १० नम्बर वडाका युवा मिलेर तरकारी उत्पादन, बाख्रा र भैंसीपालन थालेका हुन् ।

सामूहिक कृषि उत्पादनमा युवा

वडा नम्बर ५ र ६ का ८ जना युवा मिलेर ६ नम्बर वडाको शान्ति बजारमा तरकारी खेती सुरु गरेका छन् । आफ्नै लगानीमा ५ वटा टनेलमार्फत उनीहरूले व्यावसायिक तकारी खेती थालेका हुन ।

८ रोपनी जग्गा भाडामा लिई टमाटर, अकबरे खुर्सानी, चाइनिज बोडी र भान्टाको खेती सुरु गरेका छन् । पुर्खाहरूको निर्वाहमुखी पेसाले हालको समयमा नपुग्ने भएपछि व्यावसायिक तरकारी खेती सुरु गरेको चुस्कु रोकाले बताए । ‘हामीले आफैं लगानी गरी तकारी उत्पादन सुरु गरेका छौं,’ उनले भने, ‘यसलाई ठूलो परिमाणमा पुर्‍याउने लक्ष्यसहित अघि बढेका छौं । रोजगारीका लागि विदेश गई फर्किएका र गाउँमै बेरोजगार बसेका युवाहरू मिलेर व्यावसायिक तरकारी उत्पादन सुरु गरेको उनले बताए ।

सात युवा मिलेर ५ नम्वर वडामा व्यावसायिक दूध उत्पादनका लागि भैंसीपालन सुरु गरेका छन् । ११ वटा भैंसी खरिद गरी दूध उत्पादन सुरु गरेका उनीहरूले एक वर्षमा भैंसी र दूध उत्पादन बढाउनले लक्ष्य लिएका छन् चौरजहारी नगरपालिकासँगको साझेदारीमा उनीहरूले भैंसीपालन सुरु गरेका हुन् ।

हाल ४ वटा भैंसीको दूध बिक्री वितरण गर्छन् भने ७ वटा भैंसी ब्याउनेछन् । चौरजहारी उपत्यकालाई दूध पुर्‍याउने लक्ष्यसहित भैंसीपालन सुरु गरेको गोरख रावतले बताए । ‘बजारमा दूध नपुगेको अवस्थामा हामीहरू काम नपाएको अवस्थामा व्यवसाय सुरु गरिएको हो,’ उनले भने, ‘व्यवसायबाट दूधको माग पूरा हुने र हामी स्वरोजगार बन्ने अपेक्षा छ ।’

चौरजहारी–१० का युवाहरू मिलेर बाख्रापालन सुरु गरेका छन् । मासु उत्पादनका लागि प्राविधिकको सल्लाहबमोजिम बाख्रापालन सुरु गरिएको उनीहरूले बताएका छन् । ६० वटा बाख्राबाट व्यावसायिक रुपमा बाख्रापालन सुरु गरिएको रोशन रानाले बताए । ‘ यो क्षेत्र बाख्रापालनका लागि उपयुक्त हो भन्ने पुष्टि भएपछि बढ्दो मासुको मागलाई पूर्ति गर्न बाख्रापालन सुरु गरिएको रानाको भनाइ छ । उनीहरूजस्तै नगरका अन्य वडामा पनि व्यावसायिक तरकारी तथा पशु उत्पादनको सुरुआत हुन लागेको नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिकाले किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य वस्तु खरिद गर्ने नीति बनाएपछि किसान तथा युवाहरू हौसिएका छन् । नगर प्रमुख विशाल शर्माले कृषि तथा पशु उत्पादनको सुरुआती चरणदेखि बिक्री वितरण गर्नसम्म नगरपालिकाले सहयोग गर्ने बताए । ‘हाम्रो गाउँठाउँको आयस्रोत भनेकै कृषिउपज हो,’ उनले भने, ‘त्यसैले हाम्रो नगरपालिकाले कृषि उत्पादनमा लाग्न र त्यसैबाट जनता र नगरलाई समृद्ध बनाउने उद्देश्य छ ।’

चौरजहारी नगरपालिकाले कृषि तथा पशु उत्पादन तथा बजारीकरणमा किसानलाई सघाउन भन्दै चालु आर्थिक वर्षका लागि एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । किसानलाई अनुदान, ऋण, तथा समायोजनको साथै उनीहरूको उत्पादन किन्नका लागि पनि बजेटको व्यवस्था गरिएको नगर प्रमुख शर्माले बताए ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?