महिला उद्यमीलाई विश्वास जित्ने चुनौती

व्यवसायमा पैसाभन्दा सम्बन्ध र विश्वास महत्त्वपूर्ण हुन्छ
सजना बराल

काठमाडौँ — सफल व्यवसायको सूत्र के होला ? यसमा पनि महिला व्यवसायीले कसरी फड्को मार्न सक्लान् ? यी प्रश्नको जवाफमा बेलायतकी व्यवसायी एवं लेखिका सेलिया गेट्सले भनिन्, ‘सफल हुनका लागि हामीलाई क्यास होइन कनेक्सन र क्रेडिबिलिटी चाहिन्छ ।’

उनले व्यवसायमा पैसाभन्दा सम्बन्ध र विश्वास महत्त्वपूर्ण हुने बताएकी हुन् । यही दुई चीजका लागि महिला व्यवसायीले बढी संघर्ष गर्नुपर्ने उनको बुझाइ छ । ‘हामीलाई विश्वास जित्न गाह्रो पर्छ,’ उनले भनिन्, ‘सम्बन्ध विस्तार गर्नु ठूलो चुनौती हो ।’ उनका अनुसार लगानी अभावमा व्यवसायी बढी सिर्जनशील हुन्छन् । ‘गल्ती गर्न डराउनुभएन,’ उनले थपिन्, ‘फेल हुने नै सफल हुन्छन् ।’

सोमबारबाट सुरु भएको तीनदिने ‘अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०७५’ को पहिलो सेसनमा सेलियाले आफ्ना कुरा राखेकी थिइन् । यसमा इन्ह्यान्स इन्टिग्रेटेड फ्रेमवर्कका कार्यकारी निर्देशक रत्नाकर अधिकारीले पनि व्यवसायका आरोह–अवरोहबारे अनुभव साझा गरेका थिए ।

Yamaha

देश–विदेशका गरी अहिले सम्मेलनमा दुई सय उद्यमी महिला भेला भएका छन् । दक्षिण एसियाली महिला विकास फोरमले आयोजना गरेको सम्मेलनमा २७ देशका विज्ञ उपस्थित रहेको फोरम अध्यक्ष प्रमिला आचार्य रिजालले बताइन् । ‘एक–अर्काबाट सिक्न सकियोस् भनेर यो सम्मेलन गरेका हौं,’ रिजालले भनिन्, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने वातावरण बनाउन खोज्दै छौं ।’

सम्मेलन उद्घाटनका लागि होटल याक एन्ड यती पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले दिगो विकास र आर्थिक सबलीकरणका लागि महिलालाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए । उनले भने, ‘महिलाहरू समृद्ध भए मात्रै देशको विकास हुन्छ ।’ नेपालको संविधानले समावेशितालाई राम्ररी सम्बोधन गरेको भन्दै उनले खुसी व्यक्त गर्न भ्याए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महिलाहरू व्यवसायमा आउँदा लैंगिक समानता स्थापित हुने तर्क गरे । उनका अनुसार यौन हिंसा र बलात्कारजस्ता अपराध कम गर्न पनि महिला सशक्तीकरण आवश्यक छ । ‘अहिले पनि महिलामाथि विभेद छ,’ उनले भने, ‘यसको अन्त्य हुनुपर्छ ।’ महिला उद्यमीको संख्या बढाउन नेपाल सरकारले महिलाका लागि सामाजिक एवं प्रशासनिक सुविधा उपलब्ध गराएको ज्ञवालीले बताए ।

समारोहमा दक्षिण एसियाली महिला विकास फोरमले तयार पारेको ‘रिफ्लेक्सन्स अन पोलिसिज फर विमेन स्मल एन्ड मेडियम आन्टरप्रेनियर्स : स्टाटस, च्यालेन्जेज एन्ड अपर्चुनिटिज इन हिन्दुकुस हिमालयज एन्ड सार्क रिजन’ शीर्षकको पुस्तक लोकार्पण गरिएको थियो ।

सम्मेलनको पहिलो दिन ‘प्रमोटिङ इकोनमिक इन्पावरमेन्ट अफ अफ्रिका, मिडल इन्स्ट र उत्तर अफ्रिकन रिजन’ शीर्षकमा पनि छलफल भएको थियो । संयुक्त राष्ट्र औद्योगिक विकास संगठनका प्रमुख डा. हसिम हुसेनको नेतृत्वमा जोर्डन अफ्रिका बिजनेस एसोसिएसनकी अध्यक्ष रिम बद्रन, इजिप्सियन सेन्टर फर इकोनमिक स्टडिजका निर्देशक अब्ला अब्देल लातिफ र मिडल इस्ट नर्थ अफ्रिका बिजनेस विमेन नेटवर्ककी अफ्नान अल जयानीले आफ्ना अनुभव सुनाएका थिए ।

उद्योग–व्यवसायमा लैंगिक समावेशिता, महिला उद्यमीका लागि प्राविधिक विकासलगायत शीर्षकमा बुधबारसम्म छलफल हुनेछ । सार्क, आसियन र अन्य क्षेत्रीय संगठनका प्रतिनिधि सम्मेलनमा उपस्थित छन् । ‘बायोटेक्नोलजी पार्क र टाटा वाटर बिजनेस प्रोजेक्ट सुरु गर्ने योजना छ,’ सम्मेलन आयोजक रिजालले भनिन्, ‘यही कार्यक्रममा यीबारे टुंगो लगाउँदै छौं ।’

प्रकाशित : भाद्र १९, २०७५ ०८:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संगीतमा छैन सहकार्य

सजना बराल

काठमाडौँ — नारायणगोपालले गाएको ‘एउटा मान्छेको मायाले कति...’ गीतको संगीत तयार पार्न दीपक जंगमलाई त्यो बेला हम्मेहम्मे परेको थियो ।

चाँदनी शाहका शब्दलाई आफूले बीसौं पटक अलगअलग लयमा प्रयोग गर्दै नारायणगोपाललाई सुनाएको दीपक सम्झन्छन् । ‘सकेसम्म गीतकार, संगीतकार, गायक र वाद्यवादक सबैबीच सहकार्य हुन्थ्यो,’ उनी भन्छन्, ‘एकअर्काको सुझबुझ मिसाएर गीत तयार पाथ्र्यौं ।’

उनकै कुराबाट प्रस्ट हुन्छ, संगीत सिर्जनाको परम्परागत शैली सामूहिक पहलमा आधारित थियो । अहिले शैली फेरिएको छ । समूहभन्दा पनि एक्लैले सबैथोक ‘हयान्डल’ गर्ने चलन आएको छ । गीत लेख्ने, संगीत भर्ने, गाउने र एरेन्जमेन्टको कामसमेत एकै जनाले सम्हालेको हामी देख्छौं । सफ्टवेयरमै धुनहरू उपलब्ध भएपछि वाद्यवादकको जरुरी पर्न छोडेको छ । यसरी हेर्दा संगीतमा सहकार्य टुटदै गएको आभास हुन्छ ।

पछिल्लो पटक फिल्मी गीतमा खुब जमिरहेका राजनराज शिवाकोटीलाई नै हेरौं । उनी संलग्न ‘सुर्के थैली खै...’, ‘पूर्व(पश्चिम रेल...’, ‘चरी चट्ट परी...’, ‘कुटुमा कुटु...’ लगायत जति पनि चर्चित गीत छन्, सबैमा राजनकै शब्द, संगीत र गायन छ । उनले गायन र एरेन्जमेन्टमा भने अरूको सहयोग पनि लिएका छन् । ‘मलाई सुट हुने, मेरो प्याटर्न सुहाउँदो गीत भयो भने आफैं गाउँछु,’ राजनराजले भने, ‘मेरो स्वरमा सहज महसुस भएन भने मेरा कम्पोजिसन र रचना अरूलाई दिन्छु ।’

राजनराज आफूले अरूका शब्दमा पनि संगीत भर्दै आएको दाबी गर्छन् । आफ्नो कम्पोजिसनमा नवीन के भट्टराई, अनिल सिंह, सुगम पोखरेल, अञ्जु पन्त, रामकृष्ण ढकाल लगायत गायकगायिकाले आवाज दिएको उनले बताए । ‘संगीत भनेको सिक्ने प्रक्रिया हो,’ उनले भने, ‘यो कहिल्यै पूर्ण हुँदैन । आफूले गाएर, अरूलाई गाउन दिएर, आफैं लेखेर र लेख्न लगाएर सिक्छौं हामी ।’ अरूका शब्द बलिया नलागेको खण्डमा आफैंले लेख्ने गरेको उनको भनाइ छ ।

राजनराज प्रतिनिधि संगीतकर्मी हुन् । पछिल्लो पुस्ताका म्युजिसियन आफूलाई एकै विधामा सीमित राखिरहेका छैनन् । युटयुबबाट परिचित भएकाहरू यस मामिलामा अझ अगाडि छन् । नितेशजंग कुँवर, तृष्णा गुरुङ, सज्जनराज वैद्य, बार्तिका राईलगायत गायकगायिकाहरू आफ्ना लागि प्राय: आफैं शब्द सिर्जना गरेर संगीत भर्दै गाउँछन् । संगीतमा ‘वान म्यान आर्मी’ शैली अपनाइन थालिएको छ ।

‘सबैथोक जान्नु त टयालेन्ट हो नि,’ गायिका तृष्णा गुरुङ भन्छिन्, ‘आफ्नो आइडिया अरूसँग म्याच नहुन सक्छ । मेरा शब्दको फिलिङ्स मैले नै बढी बुझ्न सक्छु । आफैंले लेखेर र संगीत भरेर गाउन सक्नु हाम्रा लागि प्लस प्वाइन्ट हो ।’ यसो गर्दा स्रष्टाले गीतलाई सबै कोणबाट केलाउन सक्नुपर्ने उनले बताइन् । त्यसो त उनलाई सहकार्य अझै ‘बेटर अप्सन’ हो भन्ने पनि लाग्छ । ‘अलगअलग आइडिया जोडिँदा झनै राम्रो परिणाम आउँछ,’ उनी भन्छिन्, ‘मैले अरूका गीत पनि गाएकी छु ।’

नेपालमा मात्र नभएर विदेशतिर पनि गायक/संगीतकारले आफैं शब्द रचेर गाउने गरेको देखिन्छ । एड सिरन, टेलर स्विफ्ट, सिया, एडल, केसालगायत गायकगायिकाले गीत लेखनमा पनि आफूलाई स्थापित गराएका छन् । उनीहरूमध्ये अधिकांशचाहिँ अर्को गीतकारसँग सहकार्य गरिरहेका हुन्छन् । जस्तै, ‘समवन लाइक यु...’ गीतमा एडल र गायक डान विल्सनको संयुक्त शब्द रचना छ । एड आफ्ना लागि जति गीत लेख्छन्, अरूका लागि पनि उत्तिकै लेखिदिन्छन् ।

र्‍याप सुपरस्टार मानिने ड्रेकलाई केहीअघि गीत लेखनमा अदृश्य लेखक प्रयोग गरेको आरोप लागेको थियो । उनी घोस्ट राइटरलाई गीत लेखाउँछन् भन्ने कुरा व्यापक बनेपछि ड्रेकले भनेका थिए, ‘संगीतमा सहकार्य गर्नु के अनौठो भयो ? यो त झनै राम्रो काम हो ।’

आधुनिकमा सहकार्य राम्रो
गीत भनेको शब्द, संगीत र गायनको त्रिवेणी भएकाले तीनवटा नदी एउटैले पार गर्दा गीत कमजोर बन्न सक्ने गीतकार राजेन्द्र थापा बताउँछन् । ‘लोकशैलीमा कम्पोजिसन र शब्द सँगसँगै हुने हुँदा संगीतकार स्वयंले लेख्नु स्वाभाविक हो,’ उनले भने, ‘तर, आधुनिक गीतमा तीन बेग्लाबेग्लै स्रष्टाको एक त्रिवेणी राम्रो हुन्छ । एक बेस्टले सबै गर्नुभन्दा तीन बेस्टले एक गर्नु राम्रो ।’

थापाले अम्बर गुरुङ र गोपाल योञ्जनहरूले पनि गीत लेख्दै गाउने गरेको बताए । उनका अनुसार यो पुरानै चलन हो । तर, पूर्वीय संगीत सभ्यतामा शब्द, संगीत र गायनलाई तीन अलग विधा मानिएकाले तीन अलग स्रष्टाको आआफ्नै विशेषता हाल्नु उचित हुने उनको तर्क छ । ‘तीन जना आआफैं हेडमास्टर हुन्,’ उनले भने, ‘एउटै स्रष्टा सबैतिरको हेडमास्टर हुँदा कुरा खलबलिन्छ ।’

संगीतकारले नै गीत लेख्दा उसको संगीतकार दिमाग बढी हाबी हुने थापाको बुझाइ छ । यसले गर्दा गीत कमजोर बन्न सक्ने बताए । ‘अचेल पारिश्रमिकको कारण पनि संगीतकार र गायक आफैंले गीत लेख्न थालेका हुन्,’ उनले भने, ‘यसो गर्दा गीतकारलाई दिने पारिश्रमिक बच्ने भयो नि ।’

प्रकाशित : भाद्र १७, २०७५ ०९:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT