मनास्लुमा बर्सेनि बढ्दै पर्यटक

हरिराम उप्रेती

गोरखा — मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि आउने पर्यटक बर्सेनि बढेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/७५ ७ हजार २ सय ३ पर्यटक मनास्लु घुम्न आएका थिए ।

सार्क राष्ट्रका राष्ट्रका ५६ र अन्य देशका ७ हजार १ सय ७४ पर्यटक संरक्षण क्षेत्र आएका हुन् ।

निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको थियो । सुरुका वर्ष ३ सय ४४ जना पर्यटक मनास्लु क्षेत्र आएका थिए । त्यसयता बर्सेनि संख्या बढेको छ । भूकम्पको वर्ष भने पदमार्ग असुरक्षित हुँदा पर्यटकको आगमन दर कम भएको थियो । भूकम्पको वर्ष २ हजार २ सय ८८ पर्यटक संरक्षण क्षेत्रमा आएको एमक्यापको तथ्यांकमा छ ।

Yamaha

पर्यटक प्रवेश शुल्कबाट मात्र गत वर्ष १ करोड ४४ लाख ३५ हजार संकलन भएको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । प्रवेश शुल्कबापत सार्क राष्ट्रका प्रतिपर्यटक दुई सय र सार्क बाहिरका पर्यटकले दुई हजार तिर्नुपर्छ । काठमाडौंको भृकृटीमण्डपमा रहेको नेपाल टुरिजम बोर्ड कम्पलेक्स र बोर्ड पोखरास्थित पश्चिमाञ्चल काउन्टरबाट उक्त शुल्क संकलन हुँदै आएको छ ।

संरक्षण क्षेत्रमा अन्य देशको तुलनामा फ्रान्सेली पर्यटक बढी आउने गरेको एमक्यापले जनाएको छ । अक्टोबर, नोभेम्बर, सेप्टेम्बर, अप्रिल र मे महिनामा मनास्लु भ्रमणका लागि उपयुक्त मानिन्छ । संरक्षण क्षेत्रअन्तर्गत नुब्री र चुम उपत्यका पर्यटकको रोजाइमा पर्ने गरेको छ । मनास्लु आरोहण र लार्केपासका लागि पनि पर्यटक आउने गर्छन् । पदमार्ग आउने धेरैजसो पर्यटक ५ हजार १ सय ६० मिटर उचाइको लार्के पास गर्न रुचाउने गर्छन् ।

एमक्यापअन्तर्गतको जगतस्थित पर्यटक जाँच चौकीले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ । पर्यटकको सहयोगका लागि आयोजनाले पर्यटकको तथ्यांक लिने, होटल निर्माण गर्न प्रोत्साहन गर्ने, पर्यटकलाई गुणस्तरीय सेवा दिनका लागि तलिम सञ्चालन गर्ने, सूचना बोर्ड राख्ने र पदमार्ग सुधार गर्ने तथा पर्यटन व्यवसायीलाइ व्यवस्थित गर्न उपसमितिहरू निर्माण गर्ने काम गर्दै आएको छ ।

गोरखाको उत्तरी क्षेत्रका ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिबास र सामागाउँका पर्यटकीय क्षेत्रलाई मनास्लु संरक्षण क्षेत्रका रूपमा विकास गरिएको हो । विशेषगरी बर्खाको समयमा पदमार्गमा ढुंगा झर्दा जोखिम बढेको स्थानीयले बताउँदै आएका छन् । ‘बर्खामा कतिखेर पहिरो जान्छ, थाहा नै हुँदैन । हिँडदाहिँडदै पहिरो खसेको देखिन्छ,’ खच्चड ड्राइभर कान्छा गुरुङले भने, ‘पहिरो नआउने हो भने टुरिस्टको संख्या पनि बढ्छ, हामीहरूलाई पनि सजिलो हुन्छ ।’

साहसिक पदयात्रा गर्ने र प्रकृतिप्रेमी पर्यटक उत्तरी क्षेत्रमा बढी आउने गरेको एमक्यापले जनाएको छ ।

उत्तरी क्षेत्रको भौगोलिक अवस्थिति, हिमशृंखला, सांस्कृतिक मठ, मन्दिर र गुम्बा अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

दुई वर्षमा २ सय ४१ आरोही
चुमनुब्री गाउँपालिकाअन्तर्गत सामागाउँमा रहेको मनास्लु हिमाल आरोहणमा विदेशी पर्वतारोहीको चासो बढदो छ । एमक्यापका अनुसार सन् २०१७ को जनवरीदेखि १०१८ को जुलाईसम्म २ सय ४१ विदेशीले उक्त हिमालको सफल आरोहण गरेका छन् ।

सन् १९५६ को जुलाइ ९ मा जापानी नागरिक टोसी इमानोसीले पहिलोपल्ट मनास्लु चुचुरोको आरोहण गरेका थिए । ‘इमानोसीले पहिलोपल्ट हिमाल आरोहण गरेकाले जापानीजहरूले मनास्लुलाई हाम्रै हिमाल पनि भन्छन्,’ एमक्यापका प्रमुख नरेन्द्र लामाले भने ।

विशेषत: अक्टोबर सिजनमा
उक्त हिमाल आरोहण गर्नेको संख्या बढी हुने उनले बताए । मनास्लु हिमाललाई ‘किलर माउन्टेन’ पनि भनिन्छ । ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लुलाई साहसिक आरोहीले प्राथमिकता दिने गरेका छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चिया मजदुरले मागे न्यूनतम पारिश्रमिक

कान्तिपुर संवाददाता

धनकुटा — चिया मजदुरले बगान र कारखानामा श्रम ऐन कार्यान्वयन गर्न र सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरेका छन् । उनीहरूले यसका लागि सोमबार प्रदर्शनसमेत गरेका छन् ।

हिलेको कुवापानीमा भेला भएका मजदुरले प्रदर्शन गर्दै त्यहाँ रहेका तीनवटा चिया कारखानामा माग लेखिएका तुल र कालो झन्डा राखे । नेपाल चिया बगान श्रमिक संघ, कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको अगुवाइमा प्रदर्शन गरिएको हो ।

गुराँसे टिस्टेट, जुन चियाबारी तथा नारायणी चिया कारखानाको मूलगेटमा प्रदर्शन गरिएको थियो । मजदुरहरूले श्रम ऐन २०७४ कार्यान्वयनमा आउन नसकेको भन्दै प्रदर्शनमा उत्रन बाध्य भएको जनाए ।

चिया बगान र अन्य मजदुरबीचको विभेद अन्त्य गरेको श्रम ऐन कार्यान्वयन नगरिएसम्म आन्दोलनका कार्यक्रम अघि सारिने चिया मजदुर संघका अध्यक्ष नारायण तामाङले बताए ।
सरकारले साउन १ देखि लागू हुने गरी चिया मजदुरको साविकको दैनिक पारिश्रमिक २ सय ७८ बाट बढाएर ३ सय ८५ कायम गरे पनि त्यसको कार्यान्वयन नगरिएको उनले जनाए ।‘एकातिर श्रम ऐन कार्यान्वयन नगरी श्रमिकमाथि अन्याय गरिएको छ,’ उनले भने, ‘अर्कोतिर सरकारले निर्धारण गरेको पारिश्रमिकसमेत नदिइनुले चरम उपेक्षा गरिएकाले आन्दोलनमा उत्रन बाध्य छौं ।’

चिया मजदुरले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयनका लागि अघिल्लो साता श्रम कार्यालय तथा धनकुटा, इलाम र झापाका जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराए पनि उचित चासो नदिएको श्रमिक नेताहरूले बताए । आन्दोलनमा नाबालक बच्चा पिठयुँमा राखेरसमेत मजदुर थिए ।

ऐन कानुन व्यावहारिक रूपमा कार्यान्वयन गर्न चिया मालिकहरूले कन्जुस्याइँ गरेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए । जिल्लामा विभिन्न चिया कारखानामा ५ सयभन्दा बढी चिया मजदुर छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT