कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच दिनमा ६२ अंक बढयो नेप्से

काठमाडौँ — पछिल्ला पाँच दिनयता सेयर कारोबार मापक नेप्से ६२ अंक माथि उक्लिएको छ । उक्त अवधिमा अघिल्ला दिनहरूमा परिसूचक सकारात्मक देखिए पनि कारोबार रकम थोरै थियो ।

पाँच दिनमा ६२ अंक बढयो नेप्से

तर, पछिल्ला दिनहरूमा परिसूचकसँगै कारोबार रकम पनि बढिरहेको छ । यसले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

सेयर बजार धेरै तल झरिसकेको, पहिलो त्रैमासमा पनि सूचीकृत कम्पनीहरूको वित्तीय प्रतिवेदनहरू सुधारिएर आउने संकेत देखिएको र घट्दो ब्याजदरलगायत कारण सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको ब्रोकरहरूले बताएका छन् ।

बुधबारको कारोबारमा नेप्से २३.८९ अंकले बढेर १ हजार २ सय ३४.१३ विन्दुमा पुग्यो । अघिल्लो दिनको तुलनामा यो १.९७ प्रतिशतले बढी हो । परिसूचकसँगै कारोबार रकम पनि करिब ३५ प्रतिशतले बढेको छ ।

बुधबार ७१ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यो करिब तीन महिनाअघिको अवस्था हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोड ४४ लाख रुपैयाँले बढी हो ।

परिसूचक बढेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर १४ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । उक्त दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.३९ प्रतिशतले बढयो ।

उक्त दिन कारोबारमा आएकामध्ये व्यापार र उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक बढे । जसमध्ये जलविद्युत् समूहको परिसूचक २.८८, लघुवित्तको २.८३, निर्जीवन बिमाको २.७६, बैंकिङको २.१६ र विकास बैंकको २.११ प्रतिशतले बढे ।

करिब ७ हजार ८ सय कारोबारबाट १ सय ६७ कम्पनीका २३ लाख ७२ हजार ३ सय ६३ कित्ता सेयर किनबेच भए । जसमध्ये १ सय ४५ कम्पनीको सेयर मूल्य बढयो, १३ कम्पनीको सेयर मूल्य घटयो र ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?