कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा रासायनिक मलको अभाव

धादिङ — नियमित अन्न उत्पादनबाहेक बाह्रै महिना बेमौसमी तरकारी खेती र कृषि उत्पादनमा व्यस्त रहने धादिङका किसानहरू यतिखेर रुमल्लिएका छन् । जिल्लाको गजुरीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाम पनि यतिखेर रित्तै छ ।

धादिङमा रासायनिक मलको अभाव

गत बुधबार आएको ३ सय ४४ टन युरिया र डीपीए मल स्थानीय कृषि सहकारीले बाजले कुखुरा टिपे जस्तै टिपे । रासायनिक मल स्थानीय कृषि सहकारीमार्फत मल उपलब्ध गराउने गर्ने निर्णय पछि दर्ता भएका ३७ वटामध्ये २३ वटा कृषि सहकारीलाई दूरीका आधारमा मल दिइएको छ । ‘नजिकैकाले ५० र टाढाले १ सय टन मल उपलब्ध गराइएको छ ।’ गजुरीस्थित कृषि सामग्री कम्पनीका निमित्त कार्यालय प्रमुख सीताराम तिमिल्सिनाले बताए ।

मल आएको थाहा पाएर मनग्गे मल किन्न सदरमुकामस्थित नीलकण्ठ सहकारीमा घण्टौं कुरेका किसानहरूले २० केजीभन्दा बढी नपाउने उर्दी सुनेपछि दिक्दार भए । वर्षातले स्थानीय ग्रामीण सडकहरू सञ्चालन नभएको अवस्थामा ४ घण्टा पैदल हिँडेर ५ घण्टा लाइनमा बस्दा पनि २० केजीमै चित्त बुझाउनुपर्ने भएपछि किसानहरू निरास भएका हुन् ।

गत असार/साउनमा लगाइएको धान ,कोदो, तथा बेमौसमी तरकारी बालीहरूमा समयमै मल हाल्न नपाएर बालीनाली नै सुक्न थालेपछि किसानहरू समस्यामा छन् । न त भनेको समयमा मल पाइएको छ, न त पाएको बेलामा भनेजति नै किन्न नै पाइएको छ ।

बल्लतल्ल जिल्लामा थोरै आएको मल पनि ६ घण्टा लाइन बसेर किन्नुपर्ने अवस्था आएपछि किसानहरू आक्रोशित बनेका छन् ।नीलकण्ठ नगरपालिका वडा नं १० कि केशव कुमारी श्रेष्ठ सधैं झैं मल वितरण गर्ने नीलकण्ठ सहकारीमा बिहीबार मल आउने रे भन्ने थाहा पाएकी लगत्तै एका बिहानै सदरमुकाम झरेकी हुन् । बिहानै आए पनि उनीभन्दा अगाडि नै अरू ५०/६० जना किसानहरू मल लिनका लागि थैलो, बोरा बोकेर लाइन ओगटिसकेका थिए ।

सदरमुकाम धादिङबेंसीमा रहेको नीलकण्ठ सहकारीमा बिहानै ७ बजेदेखी नै किसानहरूको लाइन थियो । बालीनालीमा रासायनिक मल हाल्न लागि दसौंपटक सदरमुकाम आएर रित्तै फर्किएका किसानहरू बिहीबार मल आउने खबर पाएपछि बिहानैदेखि लाइन लागेका थिए । दसौंपटक आएर पनि रित्तै फर्कनुपर्दा बिहानैदेखि मल किन्न लाइन लागेको कृषक कृष्णप्रसाद दाहालले बताए ।

कृषि प्रधान देश भनिए पनि हरेक वर्ष किसानले मलबीउको समस्या भोग्दै आएका छन् । किसानहरूको समस्या कहीँकतैबाट पनि समाधान हुन सकेको छैन । अहिले रासायनिक मलको हाहाकार हुँदा जेठको अन्तिमतिर खेत रोपाइँ गर्ने किसानहरू बढी समस्यामा परेका छन् ।

पैसा तिरेरै किन्ने मलसमेत सरकारले समयमै उपलब्ध गराउन नसक्दा खेतबारीमा दु:ख गरेर खाने कृषकहरू समस्यामा परेका छन् भने रासायनिक मल हाल्न नपाएर दु:खअनुसारको उब्जनी नहुने हो कि भन्ने चिन्तामा छन् ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?