कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ उचाइमा डलर

‘डलरको तुलनामा सबैजसो राष्ट्रको मुद्रा कमजोर भएको छ’

काठमाडौँ — अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ (नेरु) कमजोर हुने क्रम बुधबार पनि जारी रहयो । पछिल्ला केही दिनयता लगातार रूपमा डलर बलियो बन्दै गइरहेको छ भने नेरु कमजोर । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमयदर १ सय १६ रुपैयाँभन्दा माथि पुगेको छ ।

नयाँ उचाइमा डलर

यसको अर्थ एक अमेरिकी डलर खरिद गर्न १ सय १६ रुपैयाँ २३ पैसा खर्चिनुपर्छ भन्ने हो । यो हालसम्मकै उच्च हो । यसले डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने देखाउँछ । मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा तोकेको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण यसै पनि कमजोर बन्दै गएको भारुलाई टर्कीको संकटले थप कमजोर बनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल र अल्मुनियममा लाग्दै आएको भन्सार महसुल दोब्बर बनाएसँगै टर्कीको अर्थतन्त्रमा समस्या देखिएको हो । यसले टर्कीको मुद्रा लिरा पनि अवमूल्यन भएको सामाचारहरू आइरहेका छन् । यसको असर युरोपेली बैंकहरूमा पनि पर्न सक्ने अनुमान सर्वत्र गरिएको छ ।

केही महिनायता सबै उदीयमान राष्ट्रको अर्थतन्त्रमा समस्या देखिन थालेको छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै ती राष्ट्रको आर्थिक गतिविधि प्रभावित बनेकाले नेरु पनि कमजोर भएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए । ‘डलरको तुलनामा सबैजसो राष्ट्रको मुद्रा कमजोर भएको छ,’ उनले भने, ‘अहिले भारुको कारणले मात्र नेरु कमजोर भएको भन्न मिल्दैन । विश्व बजारमै डलर निरन्तर रूपमा बलियो बन्दै गएको छ ।’ यही असर भारतीय अर्थतन्त्रमा पनि परेकाले डलरको तुलनामा भारु कमजोर बन्दै गएको छ ।

सामान्यतया भारु कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि पर्छ । भारुसँग स्थिर विनिमय दर रहेकाले भारु बलियो बन्दा नेरु पनि बलियो र कमजोर हुँदा नेरु पनि कमजोर हुन्छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएलगत्तै नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका पछिल्ला नीतिहरूले घरेलु अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै लगानीकर्ताहरूको मनोबल पनि बढेकाले अमेरिकी डलर विश्व बजारमै निरन्तर रूपमा बलियो बन्दै गएको हो । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तालाई स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्नु, विदेशबाट आयातित वस्तुको भन्सार बढाएर स्वदेशी वस्तु तथा सेवा प्रयोगमा जोड दिनु, बेरोजगारी दरमा उल्लेख्य सुधार आउनु आदि राष्ट्रपति ट्रम्पले चालेका पछिल्ला नीतिहरू हुन् ।

त्यहाँका प्रमुख सेयर बजारहरू नास्डाक, न्युयोर्क स्टक एक्सचेन्जलगायतमा बजारहरू उच्च अंकले उकालो लागिरहेका छन् । यसले पनि अमेरिकी अर्थतन्त्रमा सुधार भएको पुष्टि हुने जानकारहरू बताउँछन् । पछिल्ला महिनाहरूमा त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले वृद्धि गरेको छ ।

आउदा दिनमा पनि ०.५ प्रतिशत विन्दुले ब्याजदर बढाउने फेडको योजना छ । यसकारण त्यहाँका स्वदेशी लगानीकर्ताको मनोबल बढेको हो ।

स्वदेशमै राम्रो प्रतिफल पाइने भएपछि लगानीकर्ताहरू विदेशमा लगानी विस्तार गर्न निरुत्साहित भएको तथा केही लगानीकर्ताले अन्य राष्ट्रहरूबाट लगानी फिर्ता लिइरहेका छन् । यसकारण पनि डलर दिनहुँजसो बलियो बन्दै गएको जनाइएको छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?