कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँलेलाई सल्लेझर्कोको भर

रोकाया गाउँमा २० वर्ष अँध्यारेै
विप्लव महर्जन

सल्यान — शिद्धकुमाख गाउँपालिकामा पर्ने रोकायागाउँमा २० वर्षअघि पहिलोपटक बत्ती बलेको थियो । त्यसताका यो गाउँ जिल्लाकै पहिलो ‘उज्यालो गाउँ’ बनेको थियो । त्यो बत्ती पनि धेरै दिन बलेन । एक वर्षमै लघु जलविद्युत् आयोजना तहसनहस भएपछि स्थानीयबासीको घरमा झुन्डयाइएका चिम निभे । त्यसयता रोकायागाउँ अँध्यारै छ ।

गाउँलेलाई सल्लेझर्कोको भर

‘उज्यालो गाउँ’ कार्यक्रमअन्तर्गत ग्रामीण ऊर्जा विकास कार्यक्रमले आठ लाख रुपैयाँमा योजना बनाएको थियो । तर, त्यसताका सुरु सशस्त्र द्व्रन्द्वले त्यसलाई नराम्ररी धक्का दियो । तत्कालीन माओवादी विद्रोहीले त्यहाँ कार्यरत कर्मचारी लखेटेसँगै योजना अलपत्र बन्यो । ‘त्यसपछि त जलविद्युत् योजना तहसनहस नै भयो,’ स्थानीय धनबहादुर चलाउनेले भने, ‘हालसम्म योजना बनाउनेबारे कसैको चासो छैन ।’


ग्रामीण ऊर्जा विकास कार्यक्रमले स्थानीयबासीको हितका लागि नजिकैको खोलाबाट लघु जलविद्युत् उत्पादन गरेको थियो । रोकायागाउँमा २० घरपरिवार बसोबास गर्छन् । विद्युत्को केन्द्रीय प्रसारण लाइनसमेत नपुग्दा गाउँले सल्लेझर्काे, टुकी, मैनबत्ती बाल्न विवश छन् । केही स्थानीयबासीले सोलार जडान गरेका छन् ।


स्थानीय मंगलु चलाउनेले सरकार र दाताको भर पर्दा अँध्यारोमै बस्नुपरेको पीडा पोखे । गाउँलेले समेत चासो नदिँदा योजनाका पोल, तार, मोटरसमेत हराएको उनको भनाइ छ । ‘यी सामानहरू भइदिएका भए मर्मतसम्भार गरी बत्ती बली पो हाल्थ्यो कि ?’ उनले भने, ‘हेर्दाहेर्दै बत्ती बलिसकेको योजना तहसनहस भयो, हामी स्थानीयबासीले पनि ध्यान दिन सकेनौं ।’ आसपासका गाउँमा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । स्थानीयबासीले उक्त लाइन विस्तार गर्न पटक–पटक माग गर्दै आएका छन् । जिल्लाकै पहिलो उज्यालो गाउँका रूपमा चिनिएको रोकायगाउँ अँध्यारोमै छ ।


जिल्लाको बाँफुखोला, निगालचुला, कुपिन्डे, झिम्पे र सिद्ध्रेश्वरीमा ग्रामीण ऊर्जा विकास कार्यक्रम तथा विभिन्न संस्थाले ०५४–५८ सम्म लघु जलविद्युत् उत्पादन गरेका थिए । सञ्चालनको छोटो समयमै बिग्रेका निगालचुला, कुपिन्डेदह र सिद्धेश्वरी जलविद्युत् योजना हालसम्म पनि बन्न सकेका छैनन् । सोही समयमा बनेका बाँफुखोला र झिम्पे लघुजलविद्युत् योजना भने सञ्चालनमा छन् । सिद्धकुमाख गाउँपालिकाले रोकायागाउँसहित आसपासका गाउँमा बत्ती बाल्नका लागि चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले यो वर्ष पोल गाड्ने र अर्को वर्ष बत्ती बाल्ने योजना रहेको बताए ।

प्रकाशित : भाद्र ३०, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?