कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलैंचीलाई परम्परागत भट्टीको भर

विप्लव भट्टराई

काठमाडौँ — घरछेउको भित्तामा रुखका मुढासँग भेटिएका इलाम नगरपालिका ८ सिङफ्रिङका ज्ञानेन्द्र सुवेदी पसिना पुछदै देखिन्थे । छिमेकी उमा भण्डारीको धपेडी पनि आगोसँगै थियो । सन्दकपुर ५ का लोकेन्द्र साँवा हुन् या माइजोगमाई ६ प्याङका भीम थेवे काँचो दाउरा झोसेर धूवाँमा रुमिलिएका भेटिए ।

अलैंचीलाई परम्परागत भट्टीको भर

यतिबेला जिल्लाका गाउँगाउँ पुग्दा घरलौरी धूवाँको मुस्लो छुटेको देख्न पाइन्छ । निरन्तरको झरीबीच पनि धूवाँको निरन्तर मुस्लो छुट्नुको एउटै कारण हो अलैंची सुकाउने परम्परागत शैली । गुणस्तरीय अलैंची उत्पादनका लागि सुकाउने प्रविधिलाई सुधार गर्नुपर्ने आवश्यकता देखिए पनि कृषकले परम्परागत भट्टीको प्रयोग छाडेका छैनन् ।

गुणस्तरीय अलैंची बनाउनका लागि आधुनिक भट्टी आए पनि कृषकले त्यसको प्रयोग गर्न नसक्दा अपेक्षित सुधार हुन नसकेको हो । अन्तर्राष्ट्रिय बजारको मागअनुसार नेपालको अलैंची बन्न नसक्नुमा सुकाउने परम्परागत प्रविधि नै कारण भएको सरोकारवालाको भनाइ छ । बजार मूल्यमा पनि यसको असर परेको अलैंची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकीले बताए ।

परम्परागत भट्टीमा सुकाइएको अलैंचीको दाना समान रूपले नसुक्ने, भट्टीमा सीधै धूवाँमा सुकाउने भएकाले गन्हाउने र दाना कालो रङको हुने भएकोले अन्तर्राष्ट्रिय बजारमा अलैंचीको बजार मूल्य खस्कँदै गएको पाइन्छ । गुणस्तरीय अलैंची उत्पादन गर्दै अलैंचीको बजार मूल्यलाई ध्यानमा राखेर परम्परागत भट्टीलाई आधुनिकीकरण गरे पनि कृषक तहसम्म पुग्न सकेको छैन ।

कतिपय कृषकले आधुनिक भट्टीबाट सुक्ने कुराको अनुभव नहुँदा पनि प्रयोगमा हिचकिचाउने गरेका छन् । वर्षभरि मेहनत गरी उत्पादित अलैंची बिग्रिन्छ कि भन्ने डर पनि कृषकहरूमा उत्तिकै छ । आधुनिक भट्टी जडानमा पनि खर्च धेरै लाग्ने भएकाले कृषकले लगानी गर्न सकेका छैनन् ।

‘कृषक एक्लैले यस्तो भट्टी जडान गर्न कठिन भएकाले सरोकारवाला निकाय र स्थानीय तहले पनि खरिदमा सघाउनुपर्छ,’ प्याङका कृषक सुरज थेवेले भने, ‘यसको प्रयोग र गुणस्तर सुधारबाट हुने फाइदाका विषयमा पनि कृषकहरूलाई सचेत पार्न जरुरी छ ।’

आधुनिक भट्टीमा सुकाएको अलैंचीको दानामा यसको मौलिकता रहिरहने, गुणस्तरीयताको व्यवस्थापन गर्न सजिलो हुने भनिए पनि व्यवस्थापनका विभिन्न समस्याका कारण स्थानीय किसानको पहुँचमा पुर्‍याउन नसकिएको सरोकारवालाको भनाइ छ । गैरसरकारी संस्थाको सहयोगमा जिल्लाका केही किसानलाई आधुनिक भट्टी वितरण गरिएको छ । तर, त्यसले समग्र कृषकको भार थेग्न सक्ने अवस्था छैन । पछिल्लो समय घरबारी नै मासेर अलैंची खेती गरिएकाले हरेक गाउँमा यसको उत्पादन बढदो छ ।

सुनसरीको इटहरीस्थित सिंहवाहिनी इन्जिनियरिङ वक्र्स एन्ड इनर्जी प्रालिले आधुनिक भट्टीको उपयोगिता र प्रयोगको विषयमा पूर्वका विभिन्न जिल्लामा कृषकहरूलाई जागरुक बनाउँदै भट्टी वितरण गर्दै आएको छ । परम्परागत शैलीमा अलैंची सुकाउँदा दाउरा खपत धेरै हुन्छ ।

लामो समयसम्म काँचो दाउराको धूवाँ लगाएर सुकाउँदा वातावरणलाई समेत असर पर्ने गरेकाले आधुनिक भट्टीको प्रयोगमा जोड दिनुपर्ने अलैंची विज्ञहरूको भनाइ छ । ४२ जिल्लामा फैलिएको अलैंची खेतीबाट वार्षिक ५ अर्बको हाराहारीमा विदेशी मुद्रा भित्रन्छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?