कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मंसिरदेखि अनलाइन कारोबार

काठमाडौँ — पूर्ण रूपमा स्वचालित विद्युतीय माध्यम (अनलाइन) मार्फत सेयर कारोबार गर्न लगानीकर्ताले थप दुई महिना पर्खिनुपर्ने भएको छ । यसअघि नेप्सेले चालु आर्थिक वर्षको सुरुदेखि नै अनलाइन कारोबार सञ्चालन हुने बताएको थियो ।

मंसिरदेखि अनलाइन कारोबार

कारोबार प्रणाली निर्माणपछि परीक्षणको काम भइरहेकाले थप डेढदेखि २ महिनाभित्रमा पूर्ण स्वचालित अनलाइन कारोबार सुरु हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । निर्माणाधीन सफ्टवेयरको कामबारे जानकारी दिन सोमबार नेप्सेले आयोजना गरेको पत्रकार सम्मेलनमा साउदले यस्तो बताएका हुन् ।

पूर्वनिर्धारित समयमा अनलाइन कारोबार सुरु गर्न नसकिएको स्वीकार गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले भने, ‘निर्माणको सबै काम सकिएको छ । आवश्यकताअनुसार परीक्षण कारोबार पनि भइसकेको छ । अब ‘मक’ कारोबार पनि सुरु गर्छौं । यो कारोबारका लागि ४ देखि ६ हप्ता लाग्छ । त्यसपछि हामी पूर्ण रूपमा अनलाइन कारोबार सञ्चालनमा ल्याउन सक्षम हुन्छौं ।’

‘मक’ कारोबार एक किसिमको नक्कली कारोबारजस्तै हो । सफ्टवेयर निर्माण र परीक्षणपछि थप परीक्षणका लागि ‘मक’ कारोबार गरिन्छ । यसमा पनि वास्तविक कारोबारमा जस्तै गरी सबै प्रक्रिया पुर्‍याएर कारोबार गरिन्छ । तर, ती कारोबारहरूको वैधानिकता हँुदैन ।

नेप्सेले मंगलबारदेखि यस्तो कारोबार सुरु गर्ने जनाएको छ । यस्तो कारोबारका लागि नेप्सेले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कारोबार प्रणाली खुला हुने जनाएको छ । उक्त अवधिमा लगानीकर्ताले कारोबार कारोबार अर्डर गर्नेछन् भने ब्रोकरहरूले खरिद–बिक्री । यो कारोबार ४ देखि ६ हप्तासम्म चल्नेछ । त्यसपछि नेप्सेको वास्तविक कारोबार नै अनलाइन सुरु गरिने नेप्सेको दाबी छ ।

नेप्सेले वाइको लिमेटडमार्फत सफ्टवेयर निर्माण गरिरहेको छ । नेप्से र सफ्टवेयर प्रदान गर्ने कम्पनी वाइको लिमिटेडबीच १४ महिनाभित्र सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको थियो । कम्पनीले ०७४ वैशाख ६ गते काम सुरु गरेकाले त्यसको १४ महिना भित्र (०७५ असारभित्र) कम्पनीले नेप्सेलाई सफ्टवेयर बुझाउनुपर्ने थियो । यसका आधारमा चालु आर्थिक वर्षको सुरुदेखि अनलाइन सुरु हुने बताइएको थियो ।

नेप्से लगभग स्थिर
काठमाडौं – सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब स्थिर बनेको छ । अघिल्लो दिनको तुलनामा ०.१३ अंकले मात्र ऋणात्मक भएकाले बजार स्थिर रहेको रूपमा विश्लेषण गरिएको हो । दिनभरि उतारचढावमा रहेको नेप्से अन्त्यमा ०.०१ प्रतिशतले मात्र ऋणात्मक रहयो ।

कारोबारको दैरानमा अल्पकालीन लगानीकर्ताले मुनाफा सुरक्षण गर्न बिक्री चाप बढाएपछि नेप्से घटेको हो । उक्त दिन कारोबारको अन्तिम घन्टामा नेप्से परिसूचक १ हजार २ सय ६० विन्दुमा पुगेको थियो । तर, यो वृद्धि लामो समय टिक्न सकेन र कारोबार बन्द हुँदा नेप्से १ हजार २ सय ५६.४० विन्दुमा ओर्लेर बन्द भयो ।

करिब ६ हजार ९ सय कारोबारबाट १ सय ६७ कम्पनीका २४ लाख २५ हजार ३ सय ३ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ६८ करोड ७६ लाख रुपैयाँ परिचालन भएको छ । परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेर १४ खर्ब ९६ अर्ब रुपैयाँ कायम भएको छ ।

उक्त दिन कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढयो, ७८ कम्पनीको घटयो र बाँकी १२ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार निर्जीवन बिमा समूहको परिसूचक ३.४८ प्रतिशत र जीवन बिमाको २.१३ प्रतिशतले बढे ।

प्रकाशित : आश्विन २, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?