कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै लाइसेन्सबाट दुई क्यासिनो

माधव ढुंगाना

भैरहवा — नियम अनुसार एउटा लाइसेन्सबाट दुईवटा क्यासिनो सञ्चालन गर्न पाइँदैन । तर, यहाँ ढुक्कले सञ्चालन भइरहेका छन् । क्यासिनोबीचको झगडाले सञ्चालन गरेबापत प्राप्त हुनुपर्ने करोडौं राजस्व पनि गुमेको छ ।

एउटै लाइसेन्सबाट दुई क्यासिनो

यहाँ हयाप्पी आवर प्रालिको लाइसेन्सबाट हयाप्पी आवर र रूपा इन्टरनेसनल नामका दुईवटा कम्पनीले वर्षाैंदेखि अलग–अलग होटलमा क्यासिनो सञ्चालन गर्दै आइरहेका हुन् । हयाप्पीले लाकोल र रूपाले निर्वाणा होटलमा क्यासिनो सञ्चालन गरिरहेका छन् ।

‘एउटा लाइसेन्सबाट दुईवटा क्यासिनो सञ्चालन नियमविपरीत हो,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भने, ‘क्यासिनो सञ्चालनका लागि कुन आधिकारिक कम्पनी हो यकिन छैन ।’ यिनको वैधानिकताका बारेमा तीन तहका अदालतबाट फरक–फरक परमादेश भएकाले ठोस निर्णय लिन नसकिएको उनले बताए । क्यासिनो सञ्चालन गर्ने विषयमा दुई कम्पनीबीच विवाद भएपछि काठमाडौं जिल्ला, पाटन उच्च र सर्वोच्च अदालतबाट फरकफरक परमादेश जारी भएका छन् ।

हयाप्पी आवर प्रालिले ०६७ मा पर्यटन मन्त्रालयबाट मुलुकका १० स्थानमा मिनी क्यासिनो सञ्चालनका लागि अनुमति लिएको थियो । त्यसअनुसार भैरहवामा सञ्चालनका लागि हयाप्पीले रूपा इन्टरनेसनलसित ०६८ मा सम्झौता गरेको थियो ।

सम्झौताअनुसार स्थानीय होटल नान्समा १० वर्षसम्म सञ्चालनका लागि हयाप्पीका सञ्चालक सुरेन्द्रबहादुर सिंह, रूपाका तर्फबाट मनोज सुवेदी र हेमन्त कक्षपतिबीच सम्झौता भएको थियो । हयाप्पीले १० स्थानमा पाएको अनुमति दुई वर्षपछि कटौती भयो । अहिले यो भैरहवाको नान्ससहित चार ठाउँमा मात्र सीमित छ ।

सञ्चालकसँगको विवादपछि नान्सबाट क्यासिनो नजिकको लाकौलमा सारिएको थियो । सञ्चालकमध्ये केहीले रूपा इन्टरनेसनल कम्पनी खारेज गर्न रजिस्टारको कार्यालयमा निवेदन दिएपछि रूपा इन्टरनेसनलका मनोज सुवेदी निष्कासनमा परेका थिए । सुवेदीले आफ्नो कम्पनीसँग गरिएको १० वर्षे करारनामाको म्याद रहेको जिकिर गर्दै काठमाडौं जिल्ला अदालतबाट परमादेश जारी गराए र पुन: नान्समा क्यासिनो सञ्चालन गरे । हयाप्पीले पनि पाटन उच्च अदालत र सर्वोच्च अदालतबाट आफ्नो पक्षमा परमादेश जारी गराएर लाकौलमा क्यासिनो सञ्चालन गरिरहेका छन् ।

पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले एउटा लाइसेन्सबाट दुई क्यासिनो सञ्चालन गर्न नपाइने बताए । यहाँका दुईवटै क्यासिनो नियमविपरीत सञ्चालन भइरहेको उनले बताए । ‘बन्द गराउन खोज्दा प्रत्येक पटक अदालतबाट जारी भएको परमादेश देखाउने गर्छन्,’ घिमिरेले भने, ‘उनीहरूले त्यसकै आधारमा क्यासिनो चलाइरहेका छन् ।’ अहिलेको कानुनबमोजिम आउन र कर बुझाउन बारम्बार पत्राचार गरिए पनि अटेर गरेको उनले बताए ।

हयाप्पीका सञ्चालक सिंहले नान्समा सञ्चालनका लागि सम्झौता गरिएको रूपा इन्टरनेसनल कम्पनी खारेज गरिएको र करारनामा पनि भंग गरेको दाबी गरे । ‘मेरो कम्पनीलाई क्यासिनो सञ्चालन गर्न पाटन उच्च र सर्वोच्च अदालतको डबल बेन्चबाट परमादेश प्राप्त भएको छ,’ उनले भने ।रूपाका सञ्चालक सुवेदीले हयाप्पीले नियमविपरीत क्यासिनो सञ्चालन गरिरहेको आरोप लगाए ।

आफ्नो कम्पनी खारेजीको प्रक्रियामा गए पनि हयाप्पीले १० वर्षसम्म सञ्चालनका लागि गरेको करारनामाको अधिकार सुरक्षित रहेको बताए । उनले काठमाडौं जिल्ला अदालतबाट आफ्नो पक्षमा परमादेश जारी भएको बताए । हयाप्पीले चार स्थानमा सञ्चालन गर्न पाउने आफ्नो अनुमति ०७० अगाडिकै भएको दाबी गरेको छ ।

कुन कम्पनीले सञ्चालन गर्न पाउने/नपाउने विवादले राजस्व कसले बुझाउने भन्ने अन्योल छ । क्यासिनो सञ्चालन नियमावली ०७० मा एउटा कम्पनीले एउटा मात्र सञ्चालन गर्न मिल्ने उल्लेख छ । साथै जुन होटलका लागि अनुमति लिएको हो, त्यहीँ मात्र सञ्चालन गर्नुपर्ने प्रावधान छ ।

बन्द गर्न पत्राचार
पर्यटन विभागले दुवै क्यासिनो गैरकानुनी ढंगले सञ्चालन भइरहेकाले तत्काल बन्द गर्न पत्राचार गरेको छ । विभागले जिल्ला प्रशासनका नाममा गत भदौ ४ गते पठाएको पत्रमा क्यासिनो नियमावली ०७० को नियम ९ को उपनियम ४ बमोजिम जुन होटलमा क्यासिनो सञ्चालन अनुमति लिएको हो, त्यहीँ मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भएको जनाएको छ । ‘अनुमति लिएको होटलबाहेक अन्यमा सञ्चालन गर्न पाइँदैन,’ विभागका महानिर्देशक घिमिरेले भने, ‘जिल्लामा राज्य संयन्त्र भनेको जिल्ला प्रशासन भएकाले कार्यान्वयनका लागि पत्राचार गरिसकेका छौं ।’

प्रकाशित : आश्विन २, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?